झापा स्पोर्ट्स अवार्ड फागुन २८ मा

अर्जुन राजवंशी

बिर्तामोड — झापा स्पोर्ट्स अवार्डको चौथो संस्करण आगामी फागुन २८ मा हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) समन्वय शाखा झापाले आइतबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी अवार्डबारे जानकारी दिएको हो ।

झापा स्पोर्ट्स अवार्ड फागुन २८ मा

झापा स्पोर्ट्स अवार्ड ०७४ देखि नियमित हुँदै आएको छ । बिर्तामोडमा हुने कार्यक्रममा ०७६ सालभर उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका सफल खेलाडी र प्रशिक्षकलाई अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष हिमाल खरेलले जानकारी दिए । अवार्ड फुटबलर स्वर्गीय आशिषविक्रम नेम्वाङको स्मृतिमा हुँदै आएको छ । स्पोर्टस् अवार्ड प्रदेश १ मै झापाले मात्र गर्दै आएको छ । साबिक मेची अञ्चलका झापा, इलाम, पाँचथर र ताप्लेजुङ निवासी खेलाडी र प्रशिक्षकलाई अवार्ड प्रदान गर्ने गरिन्छ ।

मञ्चले यस वर्ष पनि उत्कृष्ट वर्ष खेलाडी पुरुष, उत्कृष्ट वर्ष खेलाडी महिला, उत्कृष्ट वर्ष खेलाडी युवा, उत्कृष्ट वर्ष प्रशिक्षक, पिपुल्स च्वाइस र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी ६ विधामा सम्मान गरिने कोषाध्यक्ष राजु पौडेलले जानकारी दिए । वर्ष उत्कृष्ट खेलाडी पुरुष विजेतालाई मोटरसाइकल र महिला विधाका विजेतालाई स्कुटर प्रदान गरिने उनले बताए । युवा, प्रशिक्षक र पिपुल्स च्वाइस विधाका विजेतालाई जनही २५ हजार नगद र लाइफटाइम एचिभमेन्ट अवार्ड विजेतालाई नगद ३५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले आफ्ना भाइ फुटबलर स्वर्गीय आशिषविक्रम नेम्वाङको स्मृतिमा मञ्चलाई एक लाख रुपैयाँ प्रदान गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । चारपानेस्थित साहरा अटोमोबाइल्स र साहरा नेपालले अवार्डका लागि दुई लाख ५० हजार रुपैयाँ प्रदान गर्दै आएको खरेलले बताए । अवार्ड कार्यक्रमका लागि अध्यक्ष खरेलको नेतृत्वमा ५९ सदस्यीय मूल आयोजक समारोह समिति गठन गरिएको छ ।

त्यस्तै आर्थिक, प्रतिभा छनोट, प्रचारप्रसार, प्राविधिक, स्वयम्सेवक र अतिथि सत्कार तथा सांस्कृतिक उपसमिति समेत गठन गरिएका छन् । गत वर्ष पुरुषतर्फ शारीरिक सुगठनका उमेश राई, महिलातर्फ करातेकी एस्तर राई, युवातर्फ क्रिकेटकी अप्सरी बेगम र प्रशिक्षकतर्फ फुटबलका हरि खड्काले अवार्ड जितेका थिए । पिपुल्स च्वाइसको अवार्ड फुटबलका कर्ण लिम्बूले तथा लाइफटाइम एचिभमेन्ट अवार्ड भलिबलका गणेशविक्रम नेम्वाङलाई प्रदान गरिएको थियो ।

प्रकाशित : पुस २६, २०७७ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?