३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

५० ओभर क्रिकेटको ५० वर्ष

द डेलिमेल

लन्डन — रेय इलिङवर्थ ८८ वर्षका भए । अझै पनि त्यो दिनको ठ्याक्कै सम्झना छ । ५० वर्षअगाडि जनवरी ५ का दिन मेलबर्नमा पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय भएको थियो । उनलाई रन र विकेटबारे धेरै सम्झना छैन, बरू ड्रेसिङ रूममा भएको विद्रोह हिजो जस्तै लाग्छ ।

५० ओभर क्रिकेटको ५० वर्ष

एकदिवसीय क्रिकेट अब त यो खेलका एक अभिन्न र महत्त्वपूर्ण भाग भइसक्यो । भर्खर क्यानबेरामा अस्ट्रेलिया र भारतबीच भएको खेल ४ हजार २ सय ६७औं एकदिवसीय थियो ।

अचेल ट्वान्टी–२० क्रिकेटको लोकप्रियता बढेको छ । तर, अझै पनि ५० ओभर क्रिकेटको विश्वकप सबैभन्दा ठूलो प्रतियोगिता रहेको छ । सन् १९७०–१९७१ को एसेज सिरिजमा इंग्लिस टिमका व्यवस्थापक थिए डेव क्लार्क । तेस्रो टेस्टको चार दिन वर्षाले हुन नसकेपछि पाँचौं दिन ४० ओभरको एक खेल हुने भयो । क्लार्कले यसबारे आफ्ना खेलाडीलाई जानकारी दिए । त्यतिबेला खेलाडीले पक्कै हेक्का राखेका थिएनन् कि उनीहरू इतिहास बनाउने क्रममा थिए ।

खेलाडीलाई भने आफ्नो पारिश्रमिककै चिन्ता थियो । इलिङवर्थ मान्छन्, ५० वर्षअघि खेलाडीलाई गरिने व्यवहार ठीक थिएन । एकाएक ४० ओभरको खेल खेल्ने भएपछि खेलाडीले खुलेरै विरोध गरे । खेलाडीसँग यसबारे सल्लाहसमेत गरिएको थिएन । हुन पनि सात टेस्टको त्यस सिरिजमा कहींकतै एक अतिरिक्त खेल खेल्नेबारे लेखिएको थिएन । त्यसैले कोही पनि खेलाडी खुसी थिएनन् । यस विषयमा डोनाल्ड ब्रेडम्यानलाई अगाडि राखेर कुरा भएको थियो ।

अस्ट्रेलिया चाहन्थ्यो, ख्यालख्यालमै सही, रमाइलोकै लागि भए पनि खेल्नुपर्छ । केरी पेकरले विश्व क्रिकेटका सर्वाधिक उत्कृष्टलाई व्यावसायिक अनुबन्ध गरेर अलग्गै विश्व क्रिकेट स्थापना गर्न खोज्नुअगाडिसम्म खेलाडीले हकको पारिश्रमिक पनि पाउँदैन थिए । त्यसैले त्यो ४० ओभरमा खेलका लागि कोही गम्भीर थिएनन् । फेरि यो खेलका लागि जहाँ घरेलु खेलाडीलाई पूरा पारिश्रमिक दिइएको थियो, त्यहीं इंग्लिस खेलाडीले केही पनि पाएनन् ।

ती खेलाडीलाई चोटको अर्को चिन्ता थियो । इलिङवर्थलाई के पनि सम्झना छ भने सातौं टेस्ट खेलपछि पारिश्रमिकका रूपमा २५ पाउन्ड दिइएको थियो । धन्न, इंग्ल्यान्डले यो सिरिज जित्यो । यो ३८ सिजन अगाडिको बडिलाइन सिरिजपछि यस्तो सफलता हात परेको थियो । पहिलो एकदिवसीय हेर्न भने ४६ हजार दर्शक उपस्थित थिए । त्यही बेला इंग्ल्यान्डको काउन्टी क्रिकेटमा एकदिवसीय क्रिकेटको परम्परा भने सुरु भइसकेको थियो ।

खेलपछि प्रेस बक्समा ब्रेडम्यानले भनेका थिए, ‘आज नयाँ इतिहास बनेको छ ।’ सन् ६० को अन्त्यसम्म आइपुग्दा टेस्ट क्रिकेट साह्रै रमाइलो हुन छाडेको थियो, धेरैभन्दा धेरै खेल निरस बराबरीमा टुंगिन थालेका थिए । दर्शकले पनि टेस्ट क्रिकेट हेर्न छाडेका थिए । यस्तै पृष्ठभूमिबीच अस्ट्रेलियामा अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटको जग बसेको थियो र पछि यही एकदिवसीय विश्व क्रिकेटलाई जोगाउने कारण बन्यो । फेरि दर्शक क्रिकेटको मैदान थाले ।

सन् १९७२ को अगस्टमा दोस्रो एकदिवसीय भएको थियो । त्यसमा डेनिस एमिसले शतक बनाए, इंग्ल्यान्ड एजबास्टनमा विजयी रह्यो । त्यसको एक वर्षपछि नै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको साधारणसभामा इंग्ल्यान्डले एकदिवसीय विश्वकपका लागि प्रस्ताव राख्यो । सन् १९७५ सम्म आइपुग्दा इंग्ल्यान्डले नै पहिलो एकदिवसीय विश्वकपको आयोजना गरेको थियो । फाइनलमा भिभ रिचर्डसको वेस्ट इन्डिजले अस्ट्रेलियालाई लर्ड्समा हराएको थियो ।

सुरु–सुरुमा एकदिवसीय क्रिकेटको विरोध गर्ने उत्तिकै थिए । यी विरोध गर्नेहरू भन्थे, यो कुनै क्रिकेट नै होइन । पछि यसमा सेतो बल थपियो, रंगिन जर्सी थपियो र अन्य धेरै पनि । यही एकदिवसीय क्रिकेट त हो, जसले अहिलेको पूर्ण व्यावसायिक क्रिकेटलाई सम्भव पार्न मदत गरेको । अहिले तिनै इलिङवर्थ भन्छन्, ‘एकदिवसीय क्रिकेटले अहिले जस्तो रूप लिन्छ भनेर ५० वर्षगाडि कसैले पनि सोचेका थिएनन् । तर मलाई अझै पनि लाग्छ, टेस्ट क्रिकेट नै ठूलो हो ।’

प्रकाशित : पुस २४, २०७७ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?