कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

भलिबलले गाउँमा उत्साह

वीरेन्द्र केसी

अर्घाखाँची — कोरोनापछि ठप्प खेलकुद गतिविधि गाउँगाउँमा पुनः सञ्चालन हुन थालेका छन् । गुल्मीको छापचौर र अर्घाखाँचीको शीतगंगामा भलिबल प्रतियोगिता सञ्चालन भए । शीतगंगा नगरपालिका–२ सीतापुरमा निपाने सेवा समाजको आयोजनामा प्रथम हरि–सीता वली स्मृति कप खुला भलिबल प्रतियोगिता सञ्चालन भएको थियो ।

१४ टिम सहभागी थिए । स्थानीय हरि र सीता वलीको सम्झनामा उनका परिवारले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ३०, २० र १० हजार रुपैयाँ पुरस्कार राखिएको थियो ।

लामो समयपछि खेल सुरु भएपछि खेलाडी उत्साही छन् । गाउँगाउँमा भलिबलका लागि कोर्ट बनाएको छ । स्थानीयतहले पनि खेल मैदान निर्माण गर्न बजेट खर्च गरेका छन् । स्कुलका फिल्ड, खेल, समथर बारी, खोला किनार र खेलमैदानमा स्कुल/कलेज पढ्ने विद्यार्थीदेखि पाका उमेरसम्मका महिला/पुरुषले भलिबल खेल्न थालेको सीतापुरका युवा झनक केसीले बताए । सुरु भएको खेलकुद प्रतियोगिताले खेलाडीलाई उत्साही बनाएको उनले सुनाए ।

‘चैतदेखि बल छुन पाइएको थिएन,’ खेलाडी वसन्त बेल्वासेले भने, ‘१० महिनापछि प्रतियोगितामा भाग लिन पाउँदा खुसी लागेको छ ।’ कोरोनाअघि गाउँमा विभिन्न क्लब, समूह, वडा कार्यालयलगायतले हिउँदमा महिनैपिच्छे खेल प्रतियोगिता आयोजना गर्थे । गाउँबाट छनोट भएर जिल्लामा भलिबल प्रतियोगितामा भाग लिन जान्छन् ।

सन्धिखर्कको टुँडिखेलमा बर्सेनि १ लाख राशि पुरस्कारसहितको भलिबल प्रतियोगिता अर्घाखाँची युवा परिषद्ले ६ वर्षदेखि गर्दै आएको थियो । गत वर्ष खेल सञ्चालनका लागि तयारी गर्नै लाग्दा कोभिड–१९ का कारण स्थगित भएको थियो । गुल्मीको कालिगण्डकी गाउँपालिका–७ छापचौरमा बालुवामा भलिबल खेल प्रतियोगिता सञ्चालन गरिएको छ । प्रतियोगितामा प्रथम हुनेलाई १६ हजार, द्वितीयलाई १० र तृतीयलाई ६ हजार राशिको पुरस्कार राखेर स्थानीय सदाबहार युवा क्लबले बालुवामा दुई/दुई जनाको टिम बनाई खेल सञ्चालन गरेको अध्यक्ष आश्रित थापाले बताए ।

खेल मैदानमा बालुवा राखेर प्रतियोगिता आयोजना गरिएको छ । यसरी गाउँमा पहिलोपटक प्रतियोगिता सञ्चालन भएकाले खेलाडी र दर्शकको चासो रह्यो । प्रतियोगितामा १८ टिमले भाग लिएका थिए । प्रतियोगिता सञ्चालन गरेपछि खेलाडीमा उत्साह र गाउँलेलाई मनोरञ्जन भएको स्थानीय युवा बादल हमालले बताए । स्वास्थ्य मापदण्ड पालना गरेरै खेल सञ्चालन भइरहेका छन् ।

प्रकाशित : पुस २२, २०७७ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?