स्पोर्ट्स अवार्ड मनोनयनमा साग स्वर्णधारीको वर्चस्व

‘१३औं सागमा नेपालले ५१ स्वर्ण पदक जितेको थियो । खेलाडी छनोटको सुरूआती प्रक्रिया ती स्वर्णधारीको प्रदर्शनलाई मूल्यांकन गरी थालिएको हो । त्यसपछि पटक–पटकको छलफलपछि चारै विधाको शीर्ष ५ प्रतिस्पर्धीको मनोनयन सूची तयार गरेको हो ।’

काठमाडौँ — १७ औं संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डका चार विधाको मनोनयन सार्वजनिक हुँदा सागका पदकधारी खेलाडीले एकाधिकार जमाएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार राजधानीमा वर्ष खेलाडी पुरुष, महिला र युवा तथा प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको हो ।

स्पोर्ट्स अवार्ड मनोनयनमा साग स्वर्णधारीको वर्चस्व

यही पुस २८ गते हुने अवार्डको वर्ष खेलाडी पुरुषतर्फ मनोनयनमा फुटबलका विकेश कुथु, एथ्लेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ, करातेका मन्देकाजी श्रेष्ठ र गल्फका सुवास तामाङ परेका छन् । विकेशबाहेक यस विधाको मनोनयनमा पर्ने सबै नयाँ हुन् । विकेश २०७२ मा प्रतिस्पर्धी थिए । मनोनयनमा पर्ने सबै खेलाडी २०७६ सालको मंसिरमा आयोजित १३औं दक्षिण एसियाली खेलकुदका स्वर्णधारी हुन् । त्यसमा मन्देकाजी र सुवासले दोहोरो स्वर्ण जितेका थिए ।

महिलातर्फ करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, पौडीकी गौरिका सिंह, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङ छन् । उनीहरू पनि सागका स्वर्णधारी हुन् । सागमा गौरिकाले ४ र आयशाले २ स्वर्ण जितेका थिए । यी दुवै यस विधामा दोस्रोपटक मनोनयनमा परेका हुन् । आयशा २०६३ मा महिलातर्फ मनोनयनमा पर्दा सोही वर्ष युवा विधाको उपाधि जितेकी थिइन् । गौरिका २०७२ की प्रतिस्पर्धी हुन् । जतिबेला उनले १२ औं सागमा रजतसहित चार पदक जितेकी थिइन् ।

युवातर्फ भारोत्तोलनकी सञ्जु चौधरी, तेक्वान्दोकी सीना मादेन लिम्बु, गल्फका सुवास तामाङ, जुडोकी पुनम श्रेष्ठ र तेक्वान्दोका भूपेन श्रेष्ठ छन् । सागका स्वर्ण विजेता उनीहरू पनि अवार्डका नयाँ प्रतिस्पर्धी अनुहार हुन् । वर्षका उत्कृष्ट प्रशिक्षकको मनोनयनमा उसुका अमरकुमार थिङ, करातेका मदन उप्रेती, तेक्वान्दोका नवीन श्रेष्ठ, बक्सिङका प्रकाश थापामगर र पौडीका शंकर कार्की परेका छन् ।

अवार्डका लागि मञ्चका सचिव गोविन्द रेग्मीको संयोजकत्वमा रहेको ११ सदस्यीय छनोट समितिले यसपालि खेलाडी छनोटको मुख्य आधार १३औं साग र आठौं राष्ट्रिय खेलकुदको सफलतालाई मानेको छ । त्यसबाहेक अन्य आधिकारिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको प्रदर्शन पनि हेरिएको मञ्चले जनाएको छ ।

‘१३ औं सागमा नेपालले ५१ स्वर्ण पदक जितेको थियो । खेलाडी छनोटको सुरुआती प्रक्रिया ती स्वर्णधारीको प्रदर्शनलाई मूल्यांकन गरी थालिएको हो । त्यसपछि पटक–पटकको छलफलपछि समितिले चारै विधाको शीर्ष ५ प्रतिस्पर्धीको मनोनयन सूची तयार गरेको हो,’ खेलाडी छनोट समितिका संयोजक गोविन्द रेग्मीले भने ।

प्रशिक्षकको हकमा यस वर्ष सागमा स्वर्ण जित्ने खेलका राष्ट्रिय खेलकुद परिषदबाट नियुक्त मुख्य प्रशिक्षकहरू समावेश गरिएको हो । ‘सागमा एउटै खेलबाट धेरै पदकहरू हासिल भएका छन् र एउटै खेलका लागि एकभन्दा बढी प्रशिक्षकले जिम्मा पाउनुभएको थियो । समग्र खेलको उपलब्धि आधार मानेर सम्बन्धित खेलको मुख्य प्रशिक्षकलाई मनोनयनमा राखेका हौं,’ संयोजक रेग्मीले थपे ।

चारै विधाका विजेता घोषणा पुस २८ गते हुने अवार्ड कार्यक्रमकै दिन घोषणा गरिनेछ । पहिलो पटक अवार्ड कार्यक्रम भर्चुअलका आधारमा हुनेछ । पल्सर स्पोर्टस अवार्डमा १० विधामा प्रदान गरिने मञ्चले जनाएको छ । पिपल्स च्वाइससँगै पारा एथलिट, स्पेसल, लाइफटाइम एचिभमेन्ट, टिम अफ द इयर अवार्ड र अन्तर्राष्ट्रिय खेलपत्रकारको सम्मान गरिनेछ । यस वर्षदेखि पारा एथलिट अवार्डलाई ‘पारा एथलिट सम्मान’को नामबाट दिन लागिएको मञ्चले जनाएको छ ।

पिपल्स च्वाइसको मनोनयनमा परेका करातेका मन्देकाजी श्रेष्ठ, बास्केटबलकी सदिना श्रेष्ठ, पौडीकी गौरिका सिंह, भलिबलकी अरुणा शाही र फुटबलकी सावित्रा भण्डारीको ई–सेवाबाट भोटिङ भइरहेको छ । वर्ष खेलाडी पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित केल्मी, डिसहोमबाट आकर्षक गिफ्ट ह्याम्पर पाउनेछन् ।

प्रकाशित : पुस २१, २०७७ १४:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?