कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश १ लाई उपाधि

दुर्गालाल केसी

दाङ — लमहीस्थित राष्ट्रिय क्रिकेट मैदानमा भएको प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश १ ले जितेको छ । आइतबार सम्पन्न फाइनलमा साबिकको विजेतासमेत रहेको विभागीय टोली एपीएफ क्लबलाई ६ रनले पराजित गर्दै प्रदेश १ ले उपाधि चुमेको हो ।

प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश १ लाई उपाधि

यही मैदानमा भएको आठौं राष्ट्रिय खेलकुदमा एपीएफले प्रदेश १ लाई हराउँदै उपाधि हात पारेको थियो ।

खेलमा प्रदेश १ ले दिएको १ सय ६ रनको लक्ष्य पछ्याउँदै एपीएफ निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९९ रनमात्र बनाउन सक्यो । एपीएफका ममता चौधरीले सर्वाधिक ३४ रनको योगदान गरिन् भने करुणा भण्डारी २६ रनमा अविजित रहिन् ।

प्रदेश १ का लागि कप्तान रुबिना क्षत्री र अलिशा खडियाले २–२ विकेट लिए भने संगीता राईले १ विकेट लिइन् ।

टस जितेको प्रदेश १ ले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ५ रन बनाएको थियो । ओपनरद्वय अप्सरी बेगम र कप्तान रुबिनाले सानदार सुरुआत गरे । यी दुईबीच ५८ रनको साझेदारी भएको थियो । १२.४ ओभरमा पहिलो विकेटका रूपमा आउट भएकी रुबिनाले ३२ बल खेल्दै १८ रन बटुलिन् । रुबिना आउट भएपछि अप्सरी पनि सोही ओभरको अन्तिम बलमा आउट भइन् । अप्सरीले ४५ बल खेल्दै ५ चौकासहित ३४ रन जोडिन् । काजल श्रेष्ठले अविजित २९ रन बनाइन् । उनले २६ बलमा ३ चौका प्रहार गरिन् । रोमा थापाले ३ रन र निशा शाहले ५ रन बनाउँदा संगीता राई २ रनमा अविजित रहिन् ।

एपीएफबाट कप्तान सीता रानामगरले ३ विकेट हात पारिन् । ४ ओभर पूरै बलिङ गरेकी उनले तीन विकेट लिनेक्रममा १७ रन खर्चिइन् । करुणा भण्डारीले १ विकेट लिइन् । खेलमा प्रदेश १ की कप्तान रुबिना क्षत्री प्लेयर अफ द म्याच भइन् ।

उपाधिसँगै प्रदेश १ ले ५ लाख र उपविजेता एपीएफले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । सेमिफाइनलबाट पराजित लुम्बिनी र सुदूरपश्चिम प्रदेशले २५–२५ हजार पाएका छन् ।

प्रदेश १ की संगीता राईले प्लेयर अफ द टुर्नामेन्ट भइन् । उनले २१ हजार हात पारिन् । बेस्ट ब्याट्सवुमन एपीएफकी ज्योति पाण्डे र बेस्ट बलर एपीएफकी करुणा भण्डारीले १०–१० हजार पुरस्कार पाए ।

दर्शकको उत्साह

आठौं राष्ट्रिय खेलकुदपछि लमहीको क्रिकेट मैदान लामो समय खाली रह्यो । आठौं खेलकुदमा देखेका महिला क्रिकेटरलाई फेरि अहिले उही मैदानमा देख्दा दर्शक उत्साहका साथ फाइनल हेर्न आए ।

कोरोना महामारीका कारण लामो समय बन्द रहेका खेल गतिविधि फेरि सञ्चालन हुन थालेपछि जोखिमबीच खेल हेर्न आएको लमहीका सुरज पौडेलले बताए । ‘लामो समय खेल हेर्न पाइएको थिएन । अहिले राष्ट्रिय खेलाडीको प्रतिस्पर्धा हेर्न पाउँदा धेरै नै रमाइलो लाग्यो,’ उनले भने, ‘नजिक भइरहेको महत्त्वपूर्ण अवसर छुटाउन मन लागेन । दिनभर खेल हेरेर रमाइयो ।’

अन्य दिन दर्शक फाट्टफुट्ट आए पनि आइतबार फाइनल हेर्न भरिभराउ थिए । कोरोनाको जोखिमकै बीच पनि ठूलो भीडभाड र हुटिङ चलिरहेको थियो । त्यही भीडमा रहेकी लमहीकी सीता कुमालले पनि खेलबाट धेरै नै मज्जा लिएको बताइन् । ‘यसअघि आठौं खेलकुदमा यस्तो रमाइलो भएको थियो । त्यसपछि लामो समय सबै बन्द भयो । अहिले कोरोना नहटे पनि खेल हेर्न मन लागिहाल्यो,’ उनले भनिन्, ‘महिला खेलाडीलाई हौसला दिँदै रमाइयो । महिला खेलाडीको प्रदर्शन राम्रो रहेछ ।’

बिहानीपख केहीबेर हुस्सु लागे पनि दिउँसो पारिलो घाम लागेपछि दर्शकलाई खेल हेर्न झनै सजिलो भयो । दर्शक मैदानमा खेलाडीलाई उत्साह भर्न हौस्याइरहेका थिए । विस्तारै खेलप्रति दर्शकको चासो बढ्दै गएको क्रिकेट संघका जिल्ला अध्यक्ष प्रदीप मजगैयाले बताए । ‘खेल गतिविधि बढेसँगै दर्शकको चासो पनि बढ्दै गएको छ । प्यारापिट पनि भएकाले दर्शकलाई बस्न सजिलो भयो,’ उनले भने, ‘हामीले सोचेभन्दा बढी नै दर्शक आए । अचम्मै लाग्नेगरी दर्शक ओइरिए । हामीलाई मानिसहरू त्यसरी खेलमा रमाउँछन् भन्ने लागेकै थिएन ।’

दर्शकको आकर्षणले खेलाडीलाई समेत धेरै हौसला दिएको उनले बताए । ‘खेलाडीले दर्शक खोजिरहेका हुन्छन् । अत्यधिक दर्शकको बीचमा खेल्न पाउँदा खेलाडी पनि निकै उत्साही देखिए,’ उनले भने, ‘यसले आगामी दिनमा खेल गतिविधि बढाउन पनि सहज भएको छ । सबैको चासो बढेको छ ।’

योजनाबद्ध रूपमा खेलमैदान निर्माण गर्न र खेल गतिविधि बढाउन ०७२ सालपछि नगर विकास समिति र क्रिकेट संघले समन्वय गरेर धेरै मिहिनेत गरेको मजगैयाले बताए । ‘हामीले खेल्दा संरचना नै थिएनन् । खेल्ने ठाउँ थिएन । संरचना बनाउँदैमा समय बित्यो,’ उनले भने, ‘अहिले धेरै सजिलो भएको छ । राष्ट्रियस्तरका प्रतियोगिताहरू हुन पाइरहेका छन् ।’ दर्शक भएको ठाउँमा खेलहरू गराउनुपर्छ भन्ने सन्देश पनि यस खेलबाट गएको मजगैयाको बुझाइ छ ।

प्रकाशित : पुस १९, २०७७ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?