१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

प्रधानमन्त्री कप महिला क्रिकेट : एपीएफ र प्रदेश १ भिड्ने

दुर्गालाल केसी

दाङ — लमहीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ क्लब र प्रदेश १ फाइनलमा पुगेका छन् । शनिबार सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई हराउँदै एपीएफ र लुम्बिनीलाई हराउँदै प्रदेश १ उपाधि भिडन्त तय गरेका हुन् ।

प्रधानमन्त्री कप महिला क्रिकेट : एपीएफ र प्रदेश १ भिड्ने

पहिलो सेमिफाइनलमा एपीएफले सुदूरपश्चिमलाई ९ विकेटले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको ६१ रनको लक्ष्यलाई एपीएफले १५ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो । ओपनर ज्योति पाण्डेले अविजित २६ रनको योगदान गर्दा सरिता मगरले अविजित १९ रन बनाइन् । ४.४ ओभरमा टिमको स्कोर १४ रन हुँदा कविता कुँवरको बलमा क्याचआउट भएकी कप्तान सीता रानामगरले ७ रन जोड्न भ्याइन् ।

खराब मौसमका कारण १६ ओभरमा छोट्याइएको खेलमा टस जितेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ६० रन बनाएको थियो । मध्यक्रममा ब्याटिङ गरेकी कविता जोशीले अविजित २२ रनको योगदान गरिन् । ओपनर रेवती धामीले १२ र कविता कुँवरले ९ रन बनाए । एपीएफबाट करुणा भण्डारीले सर्वाधिक ३ विकेट हात पारिन् । ४ ओभर बलिङ गरेकी उनले ११ रन खर्चिएकी थिइन् । कप्तान सीता रानामगरले १ विकेट लिइन् । एपीएफकी करुणा भण्डारी प्लेयर अफ द म्याच भइन् ।

नटआउट रहेका एपीएफका ज्योति पाण्डे र सरिता मगर क्रिजबाट बाहिरिँदै ।

दोस्रो सेमिफाइनलमा घरेलु टोली लुम्बिनी प्रदेशलाई १० विकेटले पराजित गर्दै प्रदेश १ फाइनल पुगेको हो । लुम्बिनीले दिएको ५३ रनको विजय लक्ष्यलाई प्रदेश १ ले ८.५ ओभरमा बिना विकेट पूरा गर्‍यो । प्रदेश १ बाट काजल श्रेष्ठले २२ र कप्तान रुबिना क्षत्रीले २६ रनको योगदान गरे ।

टस जितेर ब्याटिङ गरेको लुम्बिनी १४.१ ओभरमा ५२ रनमा अलआउट भएको थियो । लुम्बिनीका नितु भण्डारीले सर्वाधिक २१ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । ३० बल खेलेकी नितुले १ चौकासमेत प्रहार गरिन् । प्रदेश १ का संगीता राई र निग्मा तामाङले २–२ विकेट हात पार्दा कप्तान रुबिनाले १ विकेट लिइन् । प्रदेश १ की संगीता राई प्लेयर अफ द म्याच भइन् । अब उपाधिका लागि आइतबार प्रतिस्पर्धा हुनेछ । विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रकाशित : पुस १९, २०७७ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?