१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पहिलो खेलमा होबार्टका लागि सन्दीपले लिए दुई विकेट

बिग बास लिग
नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियाको घरेलु लिग बिगबासको पहिलो खेलमा लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् । ४ ओभर बलिङ गर्दै २ विकेट लिएका उनको प्रदर्शनको मदतमा घरेलु टिम होबार्ट हुरिकेन्सले मेलबर्न स्टार्समाथि जित पाएको छ । 

पहिलो खेलमा होबार्टका लागि सन्दीपले लिए दुई विकेट

कोभिड–१९ का कारण ६ खेल गुमाएका उनले आफ्नो पहिलो खेल पूर्व टिम मेलबर्न स्टार्सविरुद्ध खेलेका हुन् । हुरिकेन्सको २१ रनको जितमा उनको योगदान महत्त्वपूर्ण रह्यो । कोभिड संक्रमणका कारण उनी निर्धारित समयभन्दा ढिलोगरी मात्र अस्ट्रेलिया आइपुगेका थिए । दक्षिण अस्ट्रेलियास्थित एडिलेडमा उनी थप १४ दिन क्वारेन्टाइन बसेका थिए ।

आफ्नो घरेलु टिमको खेल खेल्न शुक्रबार तास्मानिया पुगेका उनले होर्बाटस्थित ब्लन्डस्टोन स्टेडियममा भएको खेलमा अपेक्षाकृत प्रदर्शन गरेका थिए । उनको प्रदर्शनको खेल समीक्षकले समेत प्रशंसा गरेका थिए ।

चौथो बलरका रूपमा मैदानमा उत्रिएका सन्दीपले पहिलो ओभरको तेस्रो बलमा हिल्टन कार्टराइटको विकेट लिए भने अन्तिम ओभरको तेस्रो बलमा अर्का ब्याट्सम्यान बेन डन्कलाई पेभेलियन पठाए । पूरा ४ ओभर बलिङ गरेका उनले ३८ रन दिएका थिए ।

पहिलो ब्याटिङ गरेको हुरिकेन्सले २० ओभर खेल्दै १ सय ६४ रन बनाएको थियो । त्यसमा डेविड मालानले ७५ रन बनाए भने बेन म्याकडार्मेटले ३१ रन बनाए । १ सय ६५ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको स्टार्सले २० ओभरमा ९ विकेट गुमाई १ सय ४३ रनमात्र जोड्न सकेको थियो । ग्लेन म्याक्सवेलले सर्वाधिक ७० रन बनाए भने अन्य खेलाडी सस्तैमा समेटिएका थिए ।

सन्दीपको पहिलो खेल हेर्न तथा उनलाई समर्थन गर्नर् धेरै नेपाली दिउँसै स्टेडियम पुगेका थिए । नेपाली झन्डा बोकेर र हुरिकेन्सको जर्सी लगाएर मैदान पुगेका उनीहरूले सन्दीपलाई खेल अवधिभर हौसला दिएका थिए । उनीहरूले सन्दीपले पहिलो खेलमा देखाएको प्रदर्शनले हुरिकेन्सलाई जित दिलाउन मात्र नभएर तास्मानियामा रहेका नेपालीलाई गौरवान्वित बनाएको बताए ।

नेपालकी सुहेना विष्टले सन्दीपको खेल हेर्न लामो प्रतीक्षा गरेको बताइन् । ‘सन्दीपले तास्मानियाको मुख्य बीबीएल टिमसँग आबद्ध भएर खेल्नु नै हामी सबै नेपालीको गर्वको विषय हो,’ उनले भनिन् । सन्दीपको प्रदर्शनले नेपालमा पनि उत्कृष्ट खेलाडी छन् र अवसर पाएमा राम्रो गर्न सक्छन् भन्ने प्रमाणित गरिदिएको दाबी उनको दाबी थियो ।

सन्दीपको पहिलो खेल हेर्न कामबाट बिदा लिएर नेपालीहरू स्टेडियम पुगेका थिए । उनको खेल हेर्न केही दिनअघि नै टिकट लिएका विश्वेश्वर खतिवडाले अस्ट्रेलियाको दुर्गम मानिने होबार्टमा बसेर उनको खेल प्रत्यक्ष हेर्न पाउनु ठूलो अवसर भएको सुनाए । उनले सन्दीप नेपालीमात्र नभएर क्रिकेटलाई माया गर्ने र क्रिकेट खेल्न संघर्ष गरिरहेका हजारौं नेपालीको प्रेरणा भएकाले प्रोत्साहन गर्न मैदान पुगेको सुनाए । हुरिकेन्सले अर्को खेल सोमबार मेलबर्न स्टार्ससँगै होबार्टकै ब्लन्डस्टोन स्टेडियममा खेल्दै छ ।

प्रकाशित : पुस १८, २०७७ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?