कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सुदूरपश्चिमलाई हराउँदै एपीएफ फाइनलमा

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट
दुर्गालाल केसी

दाङ — सुदूरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली एपीएफ लमहीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सुदूरपश्चिमलाई हराउँदै एपीएफ फाइनलमा

शनिबार भएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै एपीएफ प्रतियोगिताको फाइनल पुगेको हो । सुदूरपश्चिमले दिएको ६१ रनको विजयी लक्ष्यलाई एपीएफले १५ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्‍यो ।

ओपनर ब्याटवुमन ज्योती पाण्डेले अविजित रहँदै २६ रनको योगदान गर्दा सरिता मगरले पनि अविजित रहँदै १९ रन बनाएकी थिइन् । ४.४ ओभरमा टिमको स्कोर १४ रन हुँदा कविता कुवँरको बलमा क्याच आउट हुन पुगेकी कप्तान सीता राना मगरले ७ रन बनाएकी थिइन् ।

खराब मौसमका कारण १६ ओभरमा घटाइएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित पूरै ओभर खेल्दै ७ विकेट गुमाएर ६० रन बनाएको थियो । सुदूरपश्चिमका लागि मध्यक्रममा ब्याटिङ गर्न आएकी कविता जोशीले सर्वाधिक ठूलो पारी खेलिन् । अविजित रहेकी उनले २१ बलको सामना गर्दै २ चौकासहित २२ रनको योगदान गरेकी थिइन् । ओपनर ब्याटर रेवती धामीले १२ रन तथा कविता कुवँरले ९ रन बनाएका थिए ।

बलिङतर्फ एपीएफका लागि करुणा भण्डारीले सर्वाधिक ३ विकेट हात पारिन् । ४ ओभर बलिङ गरेकी उनले उक्त विकेट लिने क्रममा मात्र ११ रन खर्चिएकी थिइन् । यस्तै कप्तान सिता राना मगरले पनि १ विकेट लिन सफल भएकी थिइन् । एपीएफकी करुणा भण्डारी प्लेयर अफ द म्याच भएकी थिइन् ।

एपीएफले प्रदेश १ र लुम्बिनीबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग आइतबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । अहिले प्रदेश १ र लुम्बिनी प्रदेशबीच दोस्रो सेमिफाइनल खेल भइरहेको छ । प्रतियोगिताको विजेता टोलीले नगद ५ लाख र उपविजेताले ३ लाख प्राप्त गर्नेछन् । सेमिफाइनलबाट बाहिरिएका दुई टोलीले समान २५ हजार प्राप्त गर्नेछन् । विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले २१ हजार, उत्कृष्ट ब्याटरले १० हजार र उत्कृष्ट बलरले ५ हजार प्राप्त गर्नेछन् ।

प्रकाशित : पुस १८, २०७७ १५:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?