जुनियरलाई निखार्न टेनिस क्याम्प

सन्जु पौडेल

तिलोत्तमा — बुटवलका रोहित रानाभाट उमेरले १३ वर्षका भए । कक्षा ८ मा अध्ययनरत उनले लनटेनिस खेल्न थालेको तीन वर्ष भयो। राष्ट्रिय स्तरसहित स्थानीय प्रतिस्पर्धामा भाग लिएका उनले बुटवलमै पाँचदिने अन्तर्राष्ट्रिय स्तरको तालिम लिए । उनले टेनिसमा थप प्रखर हुँदै अघि बढ्ने प्रेरणा प्राप्त भएको सुनाए । ‘अन्य प्रशिक्षणभन्दा अझ राम्ररी खेलबार बुझ्न पाएँ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय प्रशिक्षकबाट तालिम पाउनु भाग्यको कुरा हो।’ तालिम लिएपछि आफूमा थप उर्जा मिलेको भन्दै उनले अबका प्रतियोगितामा अझ सशक्त खेल्नसक्ने दृढता देखाए ।

जुनियरलाई निखार्न टेनिस क्याम्प

रूपन्देहीको बुटवलमा आयोजित साताव्यापी १८औं मन जयकर मेमोरियल टेनिस डेभलमेन्ट क्याम्प सकिएको छ । जुनियर टेनिस इनिसिएटिभ (जेटीआई नेपाल) र रूपन्देही जिल्ला लनटेनिस संघको संयुक्त सहकार्यमा बुटवलस्थित रूपन्देही लनटेनिस कोर्टमा भएको क्याम्पमा ५ देखि १४ वर्षसम्म २४ किशोर सहभागी भएका थिए । क्याम्पका प्रशिक्षार्थीलाई जेटीआई नेपालका संयोजक कृष्णराज घले र सहसंयोजक जितेन्द्र परियारले प्रशिक्षण दिएका थिए ।

छोरा जयकर राणाको स्मृतिमा हरक वर्ष जयकर मेमोरियल टेनिस गर्ने गरकामा यसपालि कोरोनाकाकारण बुटवलमा आएर प्रशिक्षण चलाएको नेपाल टेनिस संघका अध्यक्ष ज्योति राणाले बताइन् । ‘काठमाडौं केन्द्रित टेनिस खेल देशव्यापी बनाउने अभियान पनि हो,’ नेपाल ओलम्पिक कमिटीका उपाध्यक्षसमेत रहेकी उनले भनिन्, ‘बुटवलका बालबालिकामा टेनिसप्रतिको लगाव रहेको पाएँ ।’

बालबालिकाको प्रतिभा प्रस्फुटन गर्न र थप आवश्यक शिक्षा दिन क्याम्प सञ्चालन गरिएको उनले बताइन्। उनका अनुसार बुटवलमा रहेको अन्तर्राष्ट्रिय स्तरको कोर्टमा तालिम लिन पाउनु बालबालिकाका लागि राम्रो अवसर हो ।

समय–समयमा आयोजना हुने यस्ता प्रशिक्षणले खेलाडीलाई निखार्ने र मोफसलको टेनिस विकासमा आफूहरूले सक्दो सहयोग गर्ने उनको प्रतिबद्धता थियो। अन्तर्राष्ट्रिय प्रशिक्षकलाई ल्याएर यहाँका बालबालिकालाई निःशुल्क प्रशिक्षण दिन पाउनु गर्वको पक्ष भएको रूपन्देही लनटेनिस संघका सचिव गोपाल ज्ञवालीले बताए । जिल्लामा अहिले दुई सयभन्दा बढी बालबालिकाले टेनिसको प्रशिक्षण लिइरहेको भन्दै उनले आगामी दिनमा गरिने यस्ता प्रशिक्षण र प्रतियोगिताले युवा खेलाडीलाई अघि बढ्न सघाउने बताए ।

प्रशिक्षणमा सहभागी भएका खेलाडीलाई प्रशंसापत्र प्रदान गरिएको थियो। क्याम्पमा लनटेनिसका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी दिदीबहिनी मायांका र माहिका राणाले प्रदर्शनी म्याच खेलेका थिए ।

प्रकाशित : पुस १८, २०७७ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?