धुलिखेल अब ‘मोटरस्पोर्ट्स हब’

खेल र पर्यटनलाई एकैसाथ माथि उठाउन र मोटरस्पोर्ट्समा अन्तर्राष्ट्रिय सफलताका लागि धुलिखेलमा निर्मित हिमालयन मोटरल्यान्ड सर्किट सफल हुने विश्वास ।
कुशल तिमल्सिना

काठमाडौँ — साहसिक खेलको एउटा विधा मोटर/अटो स्पोर्ट्स नेपालमा व्यावसायिक सञ्चालन र मूलधारको खेलका रूपमा स्थापित हुन प्रयासरत छ । महँगो खेल भएका कारण सरकारी र निजी क्षेत्रले यो खेलमा लगानीको जोखिम उठाउन सकेका थिएनन् ।

धुलिखेल अब ‘मोटरस्पोर्ट्स हब’

टेलिभिजन फर्मुला वान, टूलगायतका प्रतियोगिता हेरेर यस खेलमा आकर्षित भएका केही खेलाडीलाई समेट्ने गरी नेपाल अटोमोबाइल्स संघ (नासा) ले पहिलोपल्ट मोटरस्पोर्ट्सको सर्किट निर्माण गरेको छ । यस खेल विधाको सोख भएकाका लागि कम्तिमा मैदान तयार भएको छ ।

काभ्रेको धुलिखेल बजारदेखि करिव १ किलोमिटर पश्चिममा बिपी राजमार्गको छेवैमा ३५ रोपनीभन्दा बढी क्षेत्रमा सर्किट निर्माण गरिएको छ । अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरी निर्माण गरिएको नेपालकै पहिलो रेस सर्किट हो । फेडेरेसन इन्टरनेसनल डेल अटोमोबाइल्स (एफआईए) को ग्रासरुट मोटरस्पोर्ट्स र क्लब डेभलपमेन्ट कार्यक्रमको आर्थिक सहयोगमा निर्माण भएको यो रेसकोर्सले नेपाली अटो र मोटर स्पोर्ट्सको व्यावसायिकीकरण गर्न कोसेढुंगाको भूमिका खेल्ने विश्वास नेपाल अटोमोबाइल्स संघले लिएको छ ।

साहसिक तथा पर्वतीय खेलहरूको संगठन नेपाल पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोविन्द भट्टराईले खेल र पर्यटनलाई एकैसाथ माथि उठाउन र मोटरस्पोर्ट्समा अन्तर्राष्ट्रिय सफलताका लागि यो सर्किट सफल हुने विश्वास व्यक्त गरे । ‘साहसिक र पर्यटकीय खेलकुदलाई मुख्य खेल विधाका रूपमा स्थापित गर्न र अन्तर्राष्ट्रिय सफलतासहितको विकास गर्ने दिन अब धेरै टाढा छैन,’ नासाका पूर्व महासचिव तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य समेत रहेका भट्टराईले भने, ‘नेपाली खेलमा अबको पहिचान साहसिक खेलकुद हो । त्यसमध्ये मोटरस्पोर्ट्स मुख्य विधाका रूपमा स्थापित हुने प्रक्रियामा छ ।’

यो सर्किट ३ करोडभन्दा बढीको लगानीमा ४ वर्ष लगाएर निर्माण गरिएको हो । त्यसमध्ये एफआईएले ६० प्रतिशतभन्दा बढी सहयोग गरेको छ । त्यसबाहेक नासाका पदाधिकारी र अन्य शुभचिन्तकबाट संकलन गरिएको रकमबाट निर्माण सम्पन्न भएको हो । एसियाली स्तरमै अटोमोबाइल्स संघले निर्माण गरी सञ्चालनमा ल्याएको यो पहिलो रेस सर्किट हो ।

सर्किटमा ३ सय मिटर पिच गरिएको छ । त्यहाँ अटो जिमखाना, ड्रिफ्टिङ, मोटो जिमखाना, कार्टिङ र स्लालोम कार्टिङलगायतका इभेन्ट सञ्चालन गर्न सकिनेछ । १ हजार मिटरको अफरोड सर्किटमा मोटरक्रस, अटोक्रस, र्‍यालीक्रस र अफरोड रेसिङका इभेन्ट गर्न मिल्नेछ ।

सर्किटको सम्पूर्ण व्यवस्थापनको जिम्मा अल्टिमेट हिमालयन मोटरल्यान्डले लिएको छ । नासाका सचिव अनिलकुमार बराल अल्टिमेट हिमालयनका अध्यक्ष हुन् । उनका अनुसार आफू खेलाडी हुँदा भोग्नुपरेको समस्या निराकरण गर्न व्यावसायिक सर्किट निर्माण गरिएको हो । ‘हाम्रो मुख्य उद्देश्य भनेकै नेपाली खेलाडीको उत्पादन र व्यावसायिकीकरण नै हो । यो खेल महँगो छ र सबैको पहुँचमा पनि छैन,’ अध्यक्ष बरालले भने, ‘हाम्रोमा व्यावसायिक रेसकोर्स नभएको अवस्थामा यसले आधारभूत पूर्वाधारको आवश्यकतालाई निराकरण गर्नेछ ।’

हिमालयन मोटरल्यान्डले वर्षमा ६ वटा राष्ट्रियस्तरको प्रतियोगिता गर्ने घोषणा गरेको छ । स्थानीय र प्रदेशस्तरको छनोट प्रतियोगिता गरी राष्ट्रियस्तरको प्रतियोगिता गरिने अध्यक्ष बरालले जानकारी दिए । रेसमान्डु, क्रसमान्डु, युथ कार्ट च्याम्पियनसिप, राष्ट्रिय कार्ट च्याम्पियनसिप, राष्ट्रिय अटो जिमखाना च्याम्पियनसिप लगायतका प्रतियोगिताहरू यो वर्ष आयोजना गरिने बताइएको छ ।

‘हामीले यो खेल खेलेर अन्तर्राष्ट्रिय रूपमा स्थापित हुनसक्छौं भन्ने आत्मविश्वास युवामा जगाउने कामको सुरुआत गरेका हौं । अब यो खेलको व्यावसायिक स्वरुप देखिने छ । मोटरस्पोर्ट्सबाट कोही पनि वञ्चित नहोउन् र सबैको सहभागिता निश्चित होस् भनेर एकेडेमी नै सञ्चालन गरी यसको विकासको योजना बनेको छ,’ अध्यक्ष बरालले थपे । रेसकोर्सको उद्घाटन गरेका धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्यान्जुले प्रदेशतहमा पनि मोटरस्पोर्ट्सको पूर्वाधार विस्तार गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘धुलिखेल पर्यटकीय क्षेत्र त हुँदै हो, त्यसमाथि साहसिक खेलकुदको मुख्य पूर्वाधार बनाउन तपाईंहरूले यो ठाउँ रोजिदिनुभएकामा धन्यबाद दिन्छु,’ नेपाल नगरपालिका संघका अध्यक्षसमेत रहेका ब्यान्जुले भने, ‘यो खेलको पूर्वाधार अरू छ वटै प्रदेशमा विस्तार गर्न योजना बनाउनुस् म सहयोग गर्छु । नगरपालिकाहरूसँग सहकार्य गरेर मोटरस्पोर्ट्सलाई देशभर पुर्‍याउन म मेरो तर्फबाट प्रतिबद्धता जनाउँछु ।’

‘आफ्नै गाडी दाउमा लगाएर अगाडि बढेको हुँ’

जिस्वाँ तुलाधर श्रेष्ठ, मोटरस्पोर्ट्स खेलाडी

जिस्वाँ तुलाधर श्रेष्ठ अटोस्पोटर्सकी एकमात्र महिला खेलाडी हुन् । साहसिक खेलको एउटा विधाका रुपमा रहेको मोटरस्पोर्ट्समा लागेको ४ वर्षमात्र भयो तर उनले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेकी छन् भने एउटामा तेस्रो भएकी छन् । दुई छोरीकी आमा ४२ वर्षीया तुलाधरसँग यो खेलको अन्तर्राष्ट्रिय अनुभव र चुनौतीबार गरिएको कुराकानी :

अटोमोबाइल्स स्पोर्ट्सलाई नेपालको मूलधारको खेलकुद मानिँदैन । घरेलुस्तरमा यो खेलका प्रतियोगिताहरू पनि धेरै आयोजना हुँदैनन् । तपाईंलाई चाहिँ यो खेलले कसरी आकर्षित गर्‍यो ?

व्यक्तिगत रूपमा भन्ने हो भने म यो खेलमा लागेको ४ वर्षमात्र भयो । सन् २०१७ मा नेपाल अटोस्पोर्ट्स क्लबले आयोजना गरेको राष्ट्रिय अटो जिमखानामा सहभागी भएको थिएँ । प्रतिस्पर्धीको रूपमा भन्दा पनि अनुभवका लागि मैले खेलेको थिएँ । त्यस प्रतियोगिताबाट मैले धेरै सिक्न पाएँ ।

त्यसपछि मैले यो खेलबारे रुचि राख्न थालें र धेरै ज्ञान लिएँ । यो खेलमा महिलाको सहभागिता निकै थोरै रहेको पाएँ । यसै पनि यो खेलबारे हाम्रो देशमा धेरैलाई जानकारी छैन । राम्रो खेलेकै कारण मैले सन् २०१८ को डिसेम्बरमा अटो एसिया जिमखानामा सहभागी हुन पाएँ । एसियालीस्तरको प्रतियोगितामा महिला इभेन्टलाई समावेश गरिएको त्यो पहिलोपल्ट थियो । पहिलो प्रतियोगिता र सहभागितामै म तेस्रो भएँ । त्यसको एक वर्षपछि सन् २०१९ को डिसेम्बरमा इन्डोनेसियामा भएको प्रतियोगितामा पनि सहभागी भएँ । अहिलेसम्म अटोस्पोर्ट्सको महिला खेलाडीको रूपमा अहिलेसम्म निरन्तरता दिइरहेकी छु ।

मोटरस्पोर्ट्स जिमखाना भन्नाले हामी सबैमा एउटा भ्रम के छ भने धेरै स्पिडमा गाडी गुडाउने भनेर सोचिन्छ । तर त्यस्तो होइन । सामान्यतः एउटा निश्चित क्षेत्रभित्र निर्मित ट्र्याकमा नियमभित्र रहेर छोटो समयमा जसले त्यो दूरी पूरा गर्छ, त्यसले नै जित्ने हो । यसले ड्राइभरहरूलाई आकस्मिक रूपमा कसरी गाडी नियन्त्रणमा लिने भन्ने पाठ सिकाउँछ । सामान्य ड्राइभिङ गर्ने मान्छेका लागि पनि यो आवश्यक हुन्छ ।

तपाईंले यो खेलमा लागेको ४ वर्षमात्र भयो भन्नुभयो । यसबीचमा अन्तर्राष्ट्रिय अनुभव कस्तो रह्यो र त्यो अनुभव नेपालमा लागू गर्न के गरिरहनुभएको छ ?

महिलाको रूपमा साहसिक खेलमार्फत अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा पहिलोपल्ट सहभागी हुन पाउनुलाई मैले गर्वको रूपमा लिएकी छु । म नेपालको एकमात्र महिला अन्तर्राष्ट्रिय खेलाडी हँॅ । हाम्रो नेपालमा जिमखाना भनेर राष्ट्रले चिनेको छैन र सरकारले अपनत्व लिएको पनि छैन । सबैभन्दा दुःखलाग्ने कुरा के भने नेपालमा आफ्नै उत्पादनको गाडी छैन । जवसम्म आफ्नै देशको उत्पादन हुँदैन, यो खेल सञ्चालन गर्न अझै महँगो पर्छ ।

सामान्यतः विदेशतिर हुने प्रतियोगितामा त्यही देशले आफ्नो उत्पादनको प्रवर्द्धनका लागि ठूलो लगानी गरेको हुन्छ । नेपालको हकमा सबैकुरा खेलाडी वा आयोजक आफैंले जुटाउनुपर्छ । यसको ‘सेफ्टी गियर’ (खेल पोसाक) को मात्रै १५ सय डलरजति पर्न आउँछ । त्योभन्दा ठूलो कुरा गाडी नै आफ्नो हुनुपर्छ, गाडीको टायर खतरामा राखेर खेल्नुपर्ने हुन्छ । नेपालमा चाहिँ तत्काल यसको सम्भावना निकै कम देखेको छु । तर यसको अर्थ यहाँ सम्भव नै छैन भन्ने होइन । आजैदेखि मात्रै अल्टिमेट हिमालयन मोटरल्यान्ड खुलेको छ । यो निजी क्षेत्रबाट खुलेको संस्था हो, ठूलो रकम खर्च भएको छ र उहाँहरूले यहाँबाट आम्दानी पनि गर्नुहुन्छ र नयाँ खेलाडी उत्पादनदेखि अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याउन सहयोग गर्नुहुन्छ भन्ने अपेक्षा छ । अहिलेसम्म आर्थिक रूपमा बलियो हुनेहरूले मात्र यो खेल खेल्न सक्छन् र विस्तारै यसले सबै क्षेत्रमा पहुँच बनाउने छ भन्ने विश्वास छ ।

यो खेलमा सरकारको लगानी निकै कम छ । नेपालका अधिकांश परिवारले आफ्ना छोराछोरीलाई यो खेलमा आकर्षित गराउने हैसियत राख्न सक्दैनन् । यस्तो अवस्थामा सबैलाई आकर्षित गराउन के गर्नुपर्छ जस्तो लाग्छ तपाईंको विचारमा ?

म आफैं पर्यटन क्षेत्रको प्रतिनिधित्व गर्छु । म कामको सिलसिलामा धेरै ठाउँहरू पुगिरहेको हुन्छु । अस्तिमात्रै तीनधारे गएको थिएँ । हामीलाई लैजाने ड्राइभरले पहाडको साँघुरो र अप्ठ्यारो बाटोमा यति राम्रोसँग हामीलाई पुर्‍याए कि म उनको फ्यान नै भएँ । हो त्यस्तै हाम्रा गाउँहरूमा त्यस्ता प्रतिभावान ड्राइभर धेरै छन् । उनीहरूलाई आर्थिक रूपमा सहयोग भयो भने अन्तर्राष्ट्रियस्तरमा पदक जित्ने क्षमता राख्छन् । यसमा सहयोग निजी क्षेत्रबाट पनि धेरै नै चाहिन्छ । जस्तै यहाँ यो रेस कोर्स खुलेको छ । र, सरकारले पनि यसलाई सहयोग गर्‍यो भने खेलकुद पर्यटनमा धेरै ठूलो फड्को मार्न सकिन्छ । थाइल्यान्डमा म सहभागी भएको एसियन अटो जिमखाना प्रतियोगिता नेपालमा ल्याउन सकियो भने पर्यटन र यो खेलको विकासमा कोसेढुंगा नै हुनेछ ।

तपाईं एकजना आमा खेलाडी हुनुहुन्छ । घरगृहस्थीसँगै खेलकुदलाई अगाडि बढाउन कस्तो चुनौती थियो ?

यो हकमा म भाग्यमानी ठान्छु कि मेरो आर्थिक अवस्था पनि राम्रो भयो किनभने म आत्मनिर्भर थिएँ । यो खेल महँगो छ । जीवनमा मरेर जानु केही छैन भनेर आफ्नै गाडी दाउमा लगाएर अगाडि बढेको हो । परिवारबाट पनि निकै सहयोग भएकाले कठिन भएन । तर मैले धेरै बहिनीहरूलाई देखेको छु कि उनीहरू आर्थिक रूपमा सबल भए पनि परिवारको सहयोग नभएका कारण यो खेलबाट टाढा भएका छन् । जीवन नै खतरामा राखेर कोही पनि खेलकुदमा आउन त चाहँदैन नि ?

प्रकाशित : पुस १८, २०७७ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?