२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

कोरोनाले छोपेको खेलकुद वर्ष

सन् २०२० ले खेलकुद क्षेत्रका दुई हस्ती डियगो म्याराडोना र कोबी ब्रायन्टलाई पनि गुमाउन पुग्यो ।
हिमेश

काठमाडौँ — जसरी कोरोना भाइरसको महामारीले पूरा विश्व सन् २०२० मा प्रभावित रह्यो, खेलकुद पनि अछुटो रहेन । विश्व खेलकुदलाई यो महामारीले पूरा छोप्यो भन्दा फरक पर्दैन । त्यसैले ठूला-ठूला खेल महोत्सव हुन सकेनन् । केही रद्द नै भए, केही पछाडि सारिए ।

कोरोनाले छोपेको खेलकुद वर्ष

वर्षको सुरुमा सन् २०२० लाई ओलम्पिक वर्षका रूपमा लिइएको थियो । किनभने यही वर्ष त विश्व खेलकुदको सबैभन्दा ठूलो महोत्सव ओलम्पिक जापानको टोकियोमा हुन लागेको थियो ।

भर्खर भर्खर महामारी सुरु हुँदासम्म जापान टोकियो ओलम्पिक हुन्छ भन्नेमा ढुक्क जस्तै देखिएको थियो । आखिरमा यही एक अवसरका लागि जापानले दसौं वर्षदेखि तयारी गरेको थियो, अनि करोडौं डलर खर्च पनि गरिसकेको थियो । टोकियो ओलम्पिक आयोजक कमिटीका अध्यक्ष योसिरो मोरीले अन्तिम समयसम्म पनि भनिरहेका थिए, प्रतियोगिता निर्धारित समयमै हुन्छ । सायद उनले महामारी र यसको प्रभावबारे ठीक अनुमान गर्न सकेनन् ।

आखिरमा टोकियो ओलम्पिक एक वर्षका लागि पछाडि सर्‍यो नै । अब यो सन् २०२१ मा हुनेछ, तर अहिलेसम्म पनि सबै निश्चित भने हुन सकेका छैनन् । जे होस्, आधुनिक ओलम्पिकको १ सय २४ वर्षको इतिहासमा ओलम्पिक पछाडि सरेको यो नै पहिलो अवसर हो । यसअघि दुई विश्वयुद्धका बेला भने ओलम्पिक हुन नै सकेका थिएनन् । टोकियो ओलम्पिक वर्ष २०२० मा हुन नसकेपछि यसले धेरै खेलाडीको सपना पनि तुहिएका छन् ।

त्यसैले वर्ष २०२० लाई अबदेखि ओलम्पिक हुन नसकेको वर्षका रूपमा सम्झिइनेछ । तर यो वर्ष विश्व खेलकुद चलायमान नै नभएको पनि होइन । वर्ष २०२० मा विश्व खेलकुदले पाएको सबैभन्दा ठूलो उपलब्धि रह्यो, ‘ब्ल्याक लाइभ्स म्याटर’ आन्दोलनमा यो क्षेत्रको सबैभन्दा सक्रिय सहभागिता । खेलकुदको माध्यमबाट पूरा विश्वले यो आन्दोलनबाट बढीभन्दा बढी थाहा पाए । विश्व खेलकुदले सबै प्रकारका असमानताको सधैं विरोध गर्छ, यसबीच वर्ष २०२० विशेष रह्यो ।

यो वर्ष खासमा युरो २०२० को पनि अवसर थियो, यो प्रतियोगिता पनि एक वर्ष पछाडि सारिएको छ । महामारीकै कारण विश्वकप छनोट पनि नराम्रोसँग प्रभावित रह्यो । यस्तै दोस्रो विश्वयुद्धपछि पहिलो पल्ट विश्व टेनिसको सबैभन्दा ठूलो प्रतियोगिता विम्बल्डन हुन सकेन । गल्फका केही ठूला प्रतियोगिता पनि रद्द भए । यस्तै अस्ट्रेलियामा हुने भनिएको ट्वान्टी ट्वान्टी विश्वकप पनि हुन सकेन । यस्ता प्रतियोगिता हुन नसकेपछि सम्बन्धित खेलले ठूलै आर्थिक समस्या पनि सामना गर्नु परेको छ ।

यसको अर्थ विश्व खेलकुद २०२० मा शून्य जस्तै रहेको पनि होइन्, केही सम्झनलायक उपलब्धि पनि आत्मसात् भए । जस्तो, राफेल नाडालले नोभाक जोकोभिचलाई हराएर कीर्तिमान १३ औं पल्ट फ्रेन्च ओपन जिते । यससँगै नाडालले रोजर फेडेररको नाममा रहेको सर्वाधिक २० ग्रान्ड स्लाम जितेको कीर्तिमान पनि बराबरी गरे । महामारीकै कारण युरोपमा प्रमुख लिगका खेल बन्द रंगशालामा भए, दर्शकबिना नै फुटबलका खेल चलिरह्यो ।

यसबीच लिभरपुलले ३० वर्षयता पहिलो पल्ट इंग्ल्यान्डको माथिल्लो डिभिजनको लिग उपाधि जित्यो । अनि युरोपेली च्याम्पियन्स लिगको उपाधि बायर्न म्युनिकको नाममा रह्यो । फाइनलमा उसले पेरिस सेन्ट जर्मेनलाई हराएको थियो । बायर्नले जर्मन लिग र कप दुवै पनि जित्यो ।

अनि वर्ष २०२० ले विश्व खेलकुदका दुई ठूला नामलाई पनि सधैंका लागि गुमायो, फुटबलमा डिएगो म्याराडोना र बास्केटबलका कोबी ब्रायन्ट । ब्रायन्टको भने स्वभाविक मृत्यु रहेन्, उनी हेलिकप्टर दुर्घटनामा परेका थिए ।

फरक र रोमाञ्‍चक आईपीएल

कोरोना महामारीका बीच विश्व खेलकुदकै ठूलो प्रतियोगिता मानिने इन्डियन प्रिमियर लिग (आईपीएल) सम्पन्न भयो । कोरोना भाइरसको संक्रमण डरका कारण यसपालि इन्डियन आईपीएल दुबईमा बन्द रंगशालामा सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म सम्पन्न भयो । दुई महिनाको लगातार ट्वान्टी–२० क्रिकेटपछि आईपीएल-२०२० ले अन्ततः मुम्बई इन्डियन्सलाई विजेता पाएको थियो ।

पूरा आईपीएल नै विदेशमा । यो त नयाँ अनुभव नै हो । भलै, यसअघिका प्रतियोगिताका केही भाग यूएई र दक्षिण अफ्रिकामा नभएको पनि होइन । तर यसपल्ट पूराका पूरा प्रतियोगिता भारतबाहिर भयो । यसको कारण असाधारण नै छ, कोभिड–१९ संक्रमणको महामारी । यसै कारण यसपल्टको प्रतियोगिताको सबैभन्दा ठूलो विशेषता रह्यो, ठ्याक्कै दर्शक नहुनु । यद्यपि प्रतियोगिताको रोमाञ्चकता भने पटक्कै कम भएन । कुल ६० खेल भए ।

यसमा केही वास्तवमै उत्कृष्ट अवसर देखिए । जस्तो, राहुल टेवाटियाले राजस्थान रोयल्सका लागि एकै ओभरमा पाँच छक्का प्रहार गर्नु, शिखर धवनले दिल्ली क्यापिटल्सका लागि लगातार दुई शतक बनाउनु, एबी डी भिलियर्सले रोयल च्यालेन्जर्सलाई जोगाउनु, एकै खेलमा दोहोरो सुपर ओभर अनि एकै दिन तीन सुपर ओभर ।

प्रकाशित : पुस १६, २०७७ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?