२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

‘हार्ड हिटर’ अप्सरी

पर्वत पोर्तेल

काँकडभिट्टा — नेपाली महिला क्रिकेट टोलीकी आक्रामक ब्याट्सवुमन हुन् अप्सरी बेगम । सँगै मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्ने एक्ली राष्ट्रिय क्रिकेटर । क्रिकेटमा घरपरिवारको ठूलो साथ पाएकी छन् । ‘अहिलेसम्म परिवारवाट त्यस्तो असहयोग महसुस गरेकी छैन,’ नेपाली क्रिकेटकी हार्ट हिटर अप्सरी सुनाउँछिन्, ‘बरू अभिभावककै उक्साहट र हौसलाले क्रिकेट खेल्न सुरु गरेकी हुँ ।’

‘हार्ड हिटर’ अप्सरी

हुन त अप्सरी सहरमा जन्मिइन् । शिक्षित परिवारमा हुर्किइन् । त्यही कारण यिनले ग्रामीण मुस्लिम महिलाले जस्तो दुःख भोग्नुपरेन । आम महिलाले झै आफ्नो सपना मार्नुपरेन । ‘क्रिकेट खेल्छु भन्दा मलाई त बुबाले ब्याट, बल किनेर हौस्याउनुभएको थियो,’ पुरानो दिन सम्झिँदै अप्सरीले सुनाइन्, ‘बुबा र परिवारकै उर्जाले क्रिकेटर बनेकी हुँ ।’ स्कुल पढ्दा अप्सरीका सहपाठीहरूसँग भविष्यबारे भिन्न भिन्न लक्ष्य थिए । कोही, डाक्टर बन्छु भन्थे, कोही एयरहोस्टेज । तर, अप्सरीको सपना क्रिकेटर बन्नेमात्रै थियो । ‘क्रिकेट खेलेर देशको नाम चम्काउने इच्छा थियो सानैदेखि मेरो त,’ उनी भन्छिन् ।

आज उनी जुन स्थानमा पुगेकी छन्, त्यो त्यही बाल्यकालमा देखेको सपनामा परिणाम हो । पहिलोपल्ट क्रिकेट खेल्न सुरु गर्दा यिनको उमेर मात्र १२ वर्षको हुँदो हो । खाउँखाउँ लाउँलाउँको उमेरमा उनी निरन्तर ब्याट वोकेर धाउँथिन् खेलमैदान । कहिलेकाहिँ त खेल्दाखेल्दै खाना खान पनि भुल्थिन् । चर्को घाम होस् या वर्षा उनले केही पर्वाह गरिनन्, निरन्तर अभ्यासमा व्यस्त रहिन् । फलतः लामो समयको मिहिनेतको फल प्राप्त भयो । नगर, जिल्ला र क्षेत्रीय प्रतियोगिताहरूमा भाग लिँदै उत्कृष्ट प्रदर्शन गर्दागर्दै यिनी राष्ट्रिय टोलीमा परिन् ।

सन् २०१९ मा थाइल्यान्डमा आयोजना भएको आईसीसी वुमन एसिया क्वालिफाइङ खेल्ने टोलीकी सदस्य बनिन् । मूलतः यिनको ब्याटिङ आक्रामक रहेको महिला क्रिकेट कप्तान रुबिना क्षेत्रीले सुनाउँछिन् । ‘अप्सरी हार्ड हिटर ब्याट्सवुमन भएकैले टिममा परेकी हुन्,’ रुबिना भन्छिन् ।

थाइल्यान्डमा हुने प्रतियोगिताको टोलीमा त परिन् तर, नागरिकता नभएका कारण थाइल्यान्ड उड्न यिनले गरेको संघर्षको कथा बडो कारुणिक छ । बुबाको नागरिकता जन्मका आधारमा थियो । त्यही कारण उनलाई नागरिकता दिन जिल्ला प्रशासन कार्यालय झापाले इन्कार गर्‍यो । अन्ततः नेपाल क्रिकेट संघ (क्यान) को पहलमा ट्राभल डकुमेन्ट बनाएर उनले बल्ल थाइल्यान्ड उड्ने मौका पाइन् । उनी सम्झिन्छन्, ‘नागरिकता नहुँदा पहिलो पटक अर्न्तराष्ट्रिय क्रिकेट खेल्ने ठूलो अवसर झन्डै गुम्यो ।’

अप्सरीको अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू प्रतियोगिता थियो । यूएईसँगको पहिलो खेल जमेर खेल्न सकिनन् । किनकि अन्तर्राष्ट्रिय मैदानमा उनको पहिलो अनुभव थियो । तर, दोस्रो खेलमा चाहिँ उनले सरिता मगरसँग २७ रनको साझेदारी गरेकी थिइन् । थाइल्यान्डबाट फर्किएपछि बल्ल उनले नागरिकता पाइन् । विभिन्न मिडियाहरूले अप्सरीको पक्षमा वकालत गरे । जसका कारण प्रशासन कार्यालय नागरिकता दिन बाध्य भयो । ‘मेरो संघर्ष र दुःखको कुरा जब मिडियामा आयो त्यसपछि मात्रै मैले नागरिकता पाएँ,’ उनी भन्छिन्, ‘म कसरी अनागरिक ?’

कोरोना संक्रमणका कारण करिब आधा वर्षभन्दा बढी नेपाली खेलकुद क्षेत्र ठप्पझै बन्यो । तर, उनी चुप लागेर बसिनन् । बेला बेला फिटनेसमा गइन् । साइक्लिङ गरिन् । कहिलेकाही अभ्यासमा सहभागी बनिन् । लामो सुस्ताहटपछि अहिले नेपाली खेलक्षेत्र फेरि बौरिएको छ । अप्सरी अहिले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न दाङ पुगेकी छन् । उनले प्रदेश १ को टिमबाट खेलिरहेकी छन् । वाग्मतीविरुद्ध पहिलो खेलमा अप्सरीले अलराउन्ड प्रदर्शन गर्दै १६ रन बनाउनुका साथै २ विकेट लिएकी थिइन् ।

प्रकाशित : पुस १६, २०७७ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?