मैदानमा मन, सन्तानमा तन

‘खेलमा भन्दा पनि बढी मिहिनेत गर्नुपर्दो रहेछ सन्तान हुर्काउन ।’
मधु शाही

बाँके — प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको दिन ममता थापाको मन दाङको लमही मैदान पुगेको थियो । उनको तन भने ११ दिनकी छोरीको साथमा थियो । छोरी समाउँदै न्वारनको कर्मकाण्डमा व्यस्त रहिन् । बिहे भएको ५ दिनमै उनी सिंगापुरको हनिमुन योजना छोडेर क्रिकेट खेल्न धनगढी पुगेको सम्झिन्छन् ।

मैदानमा मन, सन्तानमा तन

‘आमा बनेपछि बच्चाको माया ममताले बाँधिनेरहेछ,’ उनी भन्छिन्, ‘छोरीकै हेरचाहमा खुसी छु ।’ पण्डितले छोरीको नाम ‘धारणा’ राखिदिए । पुत्रीलाभपछि उनको हिजोको भन्दा आजको धारणा केही परिवर्तन छ । पहिलो महिला राष्ट्रिय क्रिकेट टोलीको सदस्य हुँदै उपकप्तान बनेकी ममताले आमा बनेपछि खेलकुद र मातृत्वप्रतिको बेग्लै धारणा सँगालेकी छन् । सुत्केरी दैनिकीमा रमाइरहेकी ममता भन्छिन्, ‘छोरी खेलाउँदै छु, ध्यान भने क्रिकेटतिर जान्छ ।’

आमा र खेल दुवैको भूमिका उनलाई सँगै लैजान मन छ । यी दुवै चुनौतीपूर्ण छ । उनले नेपालबाट पछिल्लो पटक सन् २०१४ को इन्चोन एसियाली खेलकुदमा दक्षिण कोरियामा खेलेकी थिइन्, जतिखेर उनी नेपाली टोलीकी उपकप्तान थिइन् । त्यसयता नियमितजसो नेपाली टोलीको बन्द प्रशिक्षणमा पर्दै आए पनि अन्तिम सूचीमा नपर्ने गरेकाले उनलाई पुनरागमन गर्न ठूलो चुनौती रहेको छ ।

कोरोना भाइरसले गर्दा ९ महिना लकडाउनको बीचमा ममताले आमा बन्ने उपयुक्त समय पाइन् । प्रतियोगिता हुने कि नहुने भन्ने कुनै निश्चित थिएन । फुर्सदमा धेरै खेलाडी घरमै व्यस्त भए । ममताले भने मातृत्व दायित्व स्विकारिन् । उनी आमा नबनेको भए यतिबेला क्रिकेट प्रतियोगितामा सहभागी हुन्थिन् । आमा भएको पहिलो अनुभव बटुल्नमै उनी अहिले खुसी छिन् । ‘खेलमा भन्दा पनि बढी मिहिनेत गर्नुपर्दोरहेछ सन्तान हुर्काउन,’ उनी भन्छिन्, ‘बिहानै ३ बजे उठ्छु, छोरीको स्याहार गर्छु ।’

महिला खेलाडीको जीवनमा मातृत्व सबैभन्दा ठूलो चुनौती र अवसर पनि हो । उनले यसलाई अवसरको रूपमा बुझेको बताइन् । खास गरी कामकाजी महिलाले करिअर फोकस भएर परिवार सँगै लैजान सजिलो छैन ।

ममता भारतमै जन्मिइन्, हुर्किइन् । सानैदेखि डान्स र खेलकुदमा उनको रुचि थियो । बुबा आर्मी भएकाले उनले खेलमा विशेष अवसर पाएकी थिइन् । दस वर्षको उमेरमा उनी भारतबाट नेपाल (बाँके) आइन् । यहाँ बस्दा उनले खेलकुदप्रति रुचि देखाउन थालिन् । स्कुल (ग्रीनपिस) मा हुने भलिबलमा उनको रुचि थियो । उचाइ कम हुँदा उनी सधैं वैकल्पिक खेलाडीको रूपमा बस्नुपर्थ्यो । ‘उचाइ नभएर खेल्न नपाउँदा म सधैं रुन्थें,’ उनी बाल्यकाल सम्झन्छन् । उनको खेल्ने चाहना क्रिकेटले पूरा गरिदियो । जसमा उचाइको कुनै वास्ता हुँदैन, इच्छाशक्ति भए पुग्छ ।

डेढ दशकअघिको प्रसङ्ग हो । बाँकेमा पूर्व राष्ट्रिय कप्तान एलबी क्षेत्रीलगायतले महिला क्रिकेटरका लागि स्कुलस्तरीय क्रिकेट अभियान नै चलाएका थिए । यो अवसर ममताजस्ता थुप्रै खेल्न इच्छुक महिला खेलाडीका लागि बरदान साबित भयो । ग्रिनपिस स्कुलबाट ममता छनोट भइन् । स्कुलको तर्फबाट उनी उपकप्तान भएर जिल्लामा पुगिन् । उनलाई त्यो समय खेलकुदको स्वर्णिम युग लाग्छ । ममता भन्छिन्, ‘त्यो बेला खेलकुदका गतिविधि धेरै हुन्थे, जुन अहिले त्यति देखिँदैन ।’


बाँके जिल्ला, क्षेत्र छनोट हुँदै ममता महिला राष्ट्रिय टोलीमा छनोट भइन् । नेपालगन्ज क्षेत्रको प्रभाव छुट्टै थियो, १४ मध्ये ममतासहित बाँके जिल्लाबाट मात्रै नेरी थापा, सीता रानामगर, बिनु बुढामगर, कृष्णा सिंह, केशरी चौधरी, मनीषा रावल गरी ७ खेलाडी थिए । नेपालको यो टोलीले सन् २००७ मा एसीसी वुमन्स च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेको थियो । जुन नेपालको पहिलो महिला राष्ट्रिय टोली थियो । ममता यसको सबैभन्दा कान्छी सदस्य थिइन् । त्यसैले उनका लागि थोरै मौका पनि ठूलो अनुभव बन्यो ।

अझ पहिलो प्रयासमै उपविजेता भएपछि नेपाली महिला टोलीले इतिहास रचेको थियो । ममता समावेश नेपाली यू–१९ टोलीले थाइल्यान्ड, सिंगापुर र कुवेतमा एसीसी यू–१९ मा ह्याट्रिक जित पाएको थियो । त्यही पनि ममता महिला क्रिकेट खेलाडीको भविष्य भगवान् भरोसामा देख्छिन् ।

उनी सँगैका खेलाडीमध्ये, नेरी, सीता र बिनुले खेलमा निरन्तरता दिइरहेका छन् । उनीहरू अहिले लमहीमा जारी प्रधानमन्त्री कपमा प्रतिस्पर्धा गरिरहेका छन् । अरू धेरैले निस्क्रिय भइसकेका छन् । महिला क्रिकेटर निरन्तर खेलमा नहुनुको कारण उनी सामाजिक, पारिवारिक र शारीरिक संरचना नै मुख्य रहेको बताउँछिन् । ‘महिला क्रिकेटर रहरले आउँछन्, बाध्यताले विलिन हुन्छन्,’ उनी भन्छिन्, ‘यो क्षेत्रमा कसरी टिकिरहने हो यही नै मुख्य चुनौती छ ।’ ममताले पछिल्लो समय आफूलाई स्थापित गर्न खेलमात्रै नभई व्यापारमा हात हालेकी छन् ।

बुटिक सञ्चालनमा ल्याउनुका साथै उनी मिडियामा समेत सक्रिय छिन् । सँगै परिवारिक जिम्मेवारी पनि उनको काँधमा छ । यसरी एउटा महिला खेलमै केन्द्रित भएर खेल्नसक्ने स्थिति समाजमा नहुँदा खेल रहर मात्रै बन्न पुगेको उनले सुनाइन् । छोरी हुर्काएपछि खेलमै समाहित हुने ममताको चाहना भने यथावत् नै छ ।

प्रकाशित : पुस १६, २०७७ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?