१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

रहेनन् क्यान संस्थापक रेग्मी

विनोद पाण्डे

काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) का संस्थापक सदस्य डा. द्वारकानाथ रेग्मीको निधन भएको छ । उनी क्यान स्थापना गर्दाका हालसम्मका एकमात्र जीवित सदस्य थिए । चिकित्सक पेसामा आबद्ध रेग्मीको आइतबार ९१ वर्षको उमेरमा निधन भएको उनको परिवारिक स्रोतले जनाएको छ ।

रहेनन् क्यान संस्थापक रेग्मी

सिंहप्रताप शाहको अध्यक्षतामा विसं २००३ सालमा खुलेको क्यानमा कल्याणमणि दीक्षित सचिव थिए । रेग्मीसहित अन्य संस्थापक सदस्य थिए । कल्याणमणि र उनका दाजु कुमारमणि दीक्षितले आफ्नो घरमा खेल्दै गरेको क्रिकेट सामान र क्रिकेटसम्बन्धी पत्रपत्रिका तत्कालीन अवस्थामा क्लबको रूपमा खुलेको क्यानलाई उपलब्ध गराएका थिए । त्यसलाई संस्थागत सक्रिय बनाउँदा यो नेपाली क्रिकेटको सर्वोच्च निकायको रूपमा स्थापित भएको रेग्मीले आत्मसंस्मरण ‘फर्केर हेर्दा’ मा उल्लेख गरेका छन् ।

रेग्मीको यो पुस्तक २०७३ सालमा प्रकाशित भएको थियो । त्यसअघि उनले २०५० मा भक्तिका फूलहरू, २०६५ मा बिलौना (राम र कृष्ण गीतिकथा), २०६६ मा आध्यात्म–विधाको क–ख र २०६७ मा कथा संग्रह ‘एउटा तस्बिर’ प्रकाशन गरेका छन् । नक्साल, नारायणचौर निवासी रेग्मी क्यानका अन्तिम संस्थापक जीवित सदस्य थिए । नर शम्शेर राणा र मदन शम्शेर राणाले म्याट, नेट, बल, ग्लोभ्स र ब्याट दिएपछि त्यसलाई व्यवस्थित गरेर राख्न क्यान स्थापना गरिएको ‘फर्केर हेर्दा’मा उनले उल्लेख गरेका छन् । यो सबै जुटाउने श्रेय कल्याणमणिलाई दिनुपर्ने उक्त पुस्तकमा उल्लेख गरिएको छ ।

‘यी सबै सामान राख्न महेन्द्र शम्शेर जबराको मुमासँग दरबारको महेन्द्र भवनको ढोकाका दुवैपट्टि खाली एउटा कोठा मालसामान राख्न पाउन अुनरोध गर्‍यौं, हाम्रो अनुरोधस्वरुप उहाँबाट एउटा कोठामा मालसामान राख्न पायौं र बकाइदासँग हाम्रो एसोसिएसन चल्न थाल्यो,’ रेग्मीले क्यान स्थापना गर्दाको क्षण पुस्तकमा यसरी स्मरण गरेका छन् ।

क्यानको संस्थापकमा रेग्मीसहित १२ जना थिए । संस्थापकमध्ये एक कृष्णराज अर्याल उनकै मामा थिए । पछि त्यसमा नरेन्द्र राणा र बसीराम भण्डारी थपिए । क्यान स्थापना गर्दाका यी सबै खेलाडी थिए । उनीहरूले ब्रिटिस लिगेसन र गौचर (अहिलेको सानो गौचरमा) भारतीय दूतावास, ब्रिटिस दूतावासलगायतका टोलीसँग म्याच खेल्ने गरेका थिए ।

रेग्मी स्वास्थ्य सेवामा अझ भिजिएका व्यक्तित्व हुन् । चिकित्साशास्त्र अध्ययन संस्थानका पहिलो क्याम्पस प्रमुख र सहायक डिन, स्वास्थ्य सेवा विभागका महानिर्देशक, स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव र लोकसेवा आयोगका सदस्य पनि थिए ।

प्रकाशित : पुस १५, २०७७ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?