कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

रहेनन् प्रशिक्षक रिमाल

कुशल तिमल्सिना

काठमाडौँ — नेपालको राष्ट्रिय खेल भलिबलका पूर्वअन्तर्राष्ट्रिय खेलाडी तथा मुख्य प्रशिक्षक सुदेश रिमालको शुक्रबार निधन भएको छ ।

रहेनन् प्रशिक्षक रिमाल

भक्तपुरस्थित निवासमा सोमबार ब्रेन ह्यामरेज भएपछि बाँसबारी न्यूरो अस्पतालमा उपचाररत ५६ वर्षे रिमालको शुक्रबार निधन भएको पुष्टि गरिएको छ ।

पर्साको वीरगन्जमा जन्मिएका रिमाल दोस्रो पुस्ताका भलिबल खेलाडी थिए । २०४० सालपछि करिब एक दशक राष्ट्रिय टोलीका सदस्य रहेका रिमालले सन् १९८६ मा दक्षिण कोरियाको सोलमा भएको एसियाली खेलकुदमा नेपाली टिमको प्रतिनिधित्व गरेका थिए ।

रिमालले २०४२ सालमा वीरगन्जमा आयोजित तेस्रो राष्ट्रिय खेलकुदमा नारायणी अञ्चलको टोलीबाट राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेका हुन् । उनी ओपन स्पाइकरको पोजिसनबाट खेल्थे ।

‘मैले उनलाई तेस्रो राष्ट्रिय खेलकुदका क्रममा नारायणीको टोलीमा पहिलोपल्ट देखेको हो,’ भलिबलका प्रमुख प्रशिक्षक प्रज्वलबहादुर सिंहले कान्तिपुरसँग भने, ‘खेलाडीका रूपमा निकै नै मिहिनेती र प्रतिभावान हुनुहुन्थ्यो । उहाँ निकै इमान्दार व्यक्तित्व पनि हो ।’ खेलाडी जीवनपछि २०५० सालबाट राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा प्रशिक्षकको जिम्मेबारी सम्हालेका रिमाल सन् २०१६ देखि २०१८ सम्म परिषद् प्रमुख भलिबल प्रशिक्षकसमेत रहे ।

सन् २०१८ मा इन्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुदमा पुरुष भलिबलमा नेपालले १५औं स्थान हासिल गर्दा उनी प्रमुख प्रशिक्षकको जिम्मेवारीमा थिए । त्यसअघि सन् २०१६ मा भारतमा भएको १२ औं

दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली महिला टोलीले कांस्य पदक जित्दा उनी प्रमुख प्रशिक्षक नै थिए ।

हाल रिमाल पछिल्लो दुई वर्षदेखि राखेपको नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) को निर्देशकका रूपमा कार्यरत थिए । उनी गत वर्ष मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुदमा बिच भलिबल टोलीको मुख्य प्रशिक्षक थिए । बिच भलिबलमा नेपालले कांस्य पदक जितेको थियो ।

नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले रिमालको निधनले नेपाली भलिबलमा अपूरणीय क्षति पुगेको बताए । ‘उहाँले अन्तर्राष्ट्रिय खेलाडीका रूपमा र खेलाडी जीवनपछि प्रशिक्षक भएर नेपाली भलिबलको श्रीवृद्धिमा अहम् भूमिका खेल्नुभयो,’ महासचिव चन्दले भने, ‘भलिबलका लागि उहाँको निधन एउटा दुर्घटना भएको छ । महत्त्वपूर्ण व्यक्तित्व गुमाउनुपर्दा हामी निकै दुःखी छौं । उहाँको योगदान सदा स्मरणीय रहनेछ ।’

भलिबलका प्रमुख प्रशिक्षक सिंहले रिमालको निधनले नेपाली भलिबलको अभिभावक गुमेको टिप्पणी गर्छन् । ‘अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक, प्रमुख प्रशिक्षक हुँदै सानको निर्देशकसम्मको जिम्मेवारी बहन गर्ने उहाँलाई म अहिलेको स्थितिमा नेपाली भलिबलको मस्तिष्क नै मान्छु,’ उनले भने, ‘सायद भगवान्ले पनि राम्रो मान्छेलाई नै छिटो लैजाने रहेछ ।

उहाँको अनुस्थिति नेपाली भलिबलका लागि निकै कठिन हुनेछ । अन्तिम श्रद्धान्जलीका लागि रिमालको पार्थिव शरीर शनिबार बिहान साढे ९ बजे परिषद् हातामा राखिने राखेपले जनाएको छ ।

प्रकाशित : पुस ११, २०७७ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?