म्याराडोनाको रसिक जीवन- खेलकुद - कान्तिपुर समाचार

म्याराडोनाको रसिक जीवन

दुई साताअघि निधन भएका फुटबल लिजेन्ड डिएगो म्याराडोनाको परिवार ठूलै छ । दशकभन्दा बढी समयको प्रेम सम्बन्धमा उनी कम्तीमा ६ महिलासँग जोडिए । उनका कम्तीमा ८ सन्तान छन् ।
बीबीसी

ब्युनस आयर्स — बेलारुसमा केही अचल सम्पत्तिसँगै लडाकु ट्यांक । डिएगो म्याराडोनाको धन–सम्पत्ति जोड्दा यो पनि आउने छ । अर्जेन्टिनी फुटबल व्यक्तित्व म्याराडोनाको दुई साताअघि ६० वर्षको उमेरमा निधन भयो । यससँगै उनले अपार धन–सम्पत्ति पनि छाडेर गएका छन् । यसमा अब कसको हक लाग्नेछ । त्यो भने जटिल विषय बनेको छ । यसको कारण हो, उनको बिन्दास समस्याग्रस्त व्यक्तिगत जीवन ।

खासमा म्याराडोनाको मृत्युसँगै उनको सम्पत्तिलाई लिएर धेरै प्रश्न उठ्न थालेका छन् । मूल प्रश्न त्यही हो, अब यसको मुख्य हकदार को–को हो त ? म्याराडोनाको परिवार ठूलै छ । दशकभन्दा बढी समयको प्रेम सम्बन्धमा उनी कम्तीमा ६ महिलासँग जोडिए । उनका कम्तीमा ८ सन्तान छन् ।

धेरैको अनुमान छ, उनका सम्पत्ति यिनै सन्तानमा बराबरी बाँडिनेछ ।

तर, म्याराडोनाले आफ्नो सम्पत्ति बाँडफाँट गरेका छैनन् । त्यसैले अर्जेन्टिनी कानुनी विशेषज्ञ र पत्रकारहरू भन्छन्, कसले कति सम्पत्ति पाउने हो, त्यसको लेखाजोखा सजिलो छैन । अनुमान सुरु भएको छ, यसका लागि अदालती लडाइँ सुरु हुनेछ । डीएनए परीक्षण चाहिने छ । केहीले आफू म्याराडोनाको सन्तान हो भनेर दाबी अगाडि बढाउने छन् । त्योभन्दा पनि सबैभन्दा ठूलो प्रश्न म्याराडोनाको सम्पत्तिचाहिँ साँच्चै कति छ ?

ब्युनस आयर्समा कानुन व्यवसायी रहेका एलिस केएर जोफ भन्छन्, ‘मलाई लाग्छ, सम्पत्ति बाँडफाँटमा खुबै झमेला आउने छ र यसको अन्तिम निर्णय आउन पनि धेरै समय लाग्नेछ ।’

म्याराडोनाको जीवन वास्तवमै रंगीन रह्यो । उनका अनेकसँग नजिकको सम्बन्ध रहे, त्यसैले उनका कति सन्तान रहे, त्यो नै मुख्य प्रश्न हुनसक्छ । एकपल्ट उनकी छोरीले ख्यालख्यालमा भन्थिन्, ‘बुबाका सन्तानले त एउटा फुटबल टिम नै बन्छ ।’ म्याराडोनाले लामै समय आफ्ना दुई छोरीबाहेक अन्य सन्तानबारे अस्विकार गर्दै आए । उनका दुई छोरी हुन्, ३३ वर्षीया डाल्मा र ३१ वर्षीया जिनिना । यी दुवै उनका पूर्व श्रीमती क्लाउडियो भिलाफानेबाट जन्मेका हुन् । म्याराडोनाले २० वर्षको वैवाहिक सम्बन्धपछि भिलाफानेसँग पारपाचुके गरे । तर भनिन्छ, विश्वकपका यी विजेता खेलाडीका ज्ञात अन्य ६ सन्तान पनि छन् । सन् २०१० को मध्यमा आएर म्याराडोनाले ३४ वर्षीय डिएगो जुनियर र २४ वर्षीया जाना पनि आफ्नो सन्तान हो भनेर माने । त्यो पनि ती सन्तानका आमाले अदालतमा मुद्दा हालेपछि । सबैलाई थाहा थियो, ती दुई महिलासँग म्याराडोनाको कुनै समय प्रेम थियो । सन् २०१३ मा जन्मेका उनका दोस्रो छोरा डिएगो फर्नान्डोबारे भने खासै विवाद गरेनन्, आफ्नै हो भनेर स्विकारे ।

अहिले ती छोरा सात वर्षका भए । सन् २०१९ मा अझ अनौठो घटना बाहिर आयो । म्याराडोनाका वकिलले भनेका थिए, म्याराडोनाले क्युबामा रहेका तीन बच्चा आफ्नै हो भनेर मानेका छन् । सन् २००० मा कोकिनको कुलत छुटाउन उनी लामै समय क्युबामा रहे । त्यहाँ पनि प्रेमसम्बन्ध राख्न पछाडि परेनन् । अब थप दुई सन्तानबारे भने विवाद कायम छ, २३ वर्षीय म्यागाली लिग र १९ वर्षीय सान्टियागो लाराबारे ।

दुवैले आफू म्याराडोनाकै सन्तान हो भनेर प्रमाणित गर्न कानुनी प्रक्रिया सुरु गर्ने बताइसकेका छन् । यसको सिधा अर्थ उनको सम्पत्तिमा हकदाबी गर्न हो । फेरि सम्पत्तिकै कुरा, यसबारे कोही यस्तै हो भनेर ठ्याक्कै भन्न सक्दैनन् । यसबारे खासमा दुई प्रकारको दाबी छन् । अथवा यसलाई सूत्र पनि भनौं । पहिलो अनुमान, अर्जेन्टिनी मिडियाका अनुसार म्याराडोनाको सम्पत्ति सात करोड ५० लाखदेखि १० करोड डलर हुनुपर्छ । यसबारे अर्जेन्टिनी पत्रकार जुलियो चिपोटाले लामै लेख लेखेका छन् ।

उनको म्याराडोनासँग नजिकको सम्बन्ध थियो । अर्को अनुमान वा सूत्र हो, उनको सम्पत्तिमा तिर्नुपर्ने रकम घटाउने । म्याराडोनाका अनेक उधारोहरू छन् । त्यसैले भनिन्छ, उनका सम्पत्ति त्यसअनुसार ५ लाख डलरमात्र हुन आउँछ । यसको आधार भने अर्जेन्टिनाको एक आर्थिक सर्वेक्षण गर्ने संस्थाको हो, जसले बजार अनुसन्धान, त्यसको वित्तीय विश्लेषण र भित्री स्रोतलाई सोधेर यो तथ्यांक तयार पारेको हो ।

म्याराडोनाले जति कमाए, त्यसमध्ये सबैभन्दा बढी भाग नेपोलीबाट खेल्दाको हो । सन् १९९० मा न्युयोर्क टाइम्सले लेखेअनुसार उनी त्यो समयमै ३० लाख डलर पारिश्रमिक बुझ्थे । उनका अरू पनि प्रायोजन अनुबन्ध थियो । पछि के पनि समाचार आयो भने म्याराडोनाले अझै ४ करोड ८६ लाख डलर इटाली सरकारलाई कर तिर्न बाँकी छ । अहिलेसम्म यसको अधिकांश भाग अझै तिर्न बाँकी छ । म्याराडोना आफैंले पनि यो रकम तिर्न अस्वीकार गर्दै आएका छन् । अब यो त उनको उत्तरदायित्व नै भयो । त्यसैले हो उनको खास सम्पत्ति ५ लाख डलरको हाराहारीमा मात्र भनिएको । म्याराडोनाका नजिकका एक पत्रकार लुइस भेन्टुराका अनुसार उनी साह्रै खर्चालु स्वभावका थिए, त्यसैले धेरै बचत गर्न सकेनन् । एक टीभी कार्यक्रममा ती पत्रकारलाई हालै सोधिएको छ, के म्याराडोना मर्दा गरिब थिए त ?

अर्जेन्टिनी कानुनअनुसार कसैले पनि आफ्नो सम्पत्तिको एकतिहाइ मात्र अन्य कसैलाई दिन सक्छ । बाँकी सबै उनका सन्तानमा जानेछ, उनको मृत्युपछि । म्याराडोनाले आफ्नो मृत्युपछिको इच्छापत्र पनि छाडेका छैनन् । मृत्यु हुँदा उनका कोही कानुनी पत्नी थिएनन्, त्यसैले सिद्धान्ततः उनको सबै सम्पत्ति उनकै सन्तानमा जानेछ । यो सबै अन्योलबीच भन्न थालिएको छ, कोही कसैले आफ्नो परिवारबारे यस्तै हो भनेर भन्न सकिन्न । यो त ‘भगवान्को हात’ ले निर्धारण गर्ने हो ।

प्रकाशित : पुस ५, २०७७ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्

एसिड र तातो तेलका नपुरिने घाउ

चार महिनामा मात्रै घरेलु महिला हिंसाका ४ हजारभन्दा बढी घटना प्रहरीमा दर्ता
पूजा र आरती दुवैको कथामा श्रीमान्‌बाट घरभित्रै हुने हिंसाको बीभत्स दृश्य छ, जसमा ‘लोग्ने– स्वास्नीको झगडा परालको आगो’ ठानेर हल्का रुपमा लिने समाज पनि उत्तिकै जिम्मेवार छ ।
जनकराज सापकोटा

काठमाडौँ — धादिङ नीलकण्ठ– ११ ज्यामरुङकी २३ वर्षीया पूजा परियार र धनुषा जनकपुर–७ पेठियाकी २१ वर्षीया आरती साहबीच चिनजान छैन । कीर्तिपुर अस्पतालको बेड नम्बर ३१५ मा पल्टिएकी पूजा र आडैको बेड नम्बर ३१६ मा सुतेकी आरती बेलाबखत पुलुक्क एक अर्कालाई हेर्थे । अनुहारमा छाएको उदासी पढेरै एकअर्कालाई बुझेजस्तो गर्थे ।

आरती मैथीली मात्रै बोल्छिन् । पूजा नेपाली भाषाबाहेक बुझ्दिनन् । एकअर्काको भाषा नबुझे पनि उनीहरूको पीडाको सुस्केरा एउटै छ । जलन उस्तै छ ।

भूगोलको फरक कुनामा हुर्किए पनि र भाषा फरक भए पनि पूजा र आरतीको जीवनमा अरू समानता पनि छन् । ५ कक्षा मात्रै पढेर १७ वर्षमा बिहे गरेकी आरती र ८ कक्षाको सिँढी पनि नउक्ली मायाप्रेममा परेर १६ वर्षमा बिहे गरेकी पूजाको कथा बिहेपछि उस्तै गरी अघि बढ्यो । जहाँ दाम्पत्य प्रेम भन्दा अविश्वास, झगडा र शारिरक यातनाका मनग्गे शृंखला गासिएका छन् । यही शृखलाको पछिल्लो घटना आङ सिरिङ पार्ने त थियो नै, उनीहरू दुवैलाई पीडाको गहिरो खाडलमा जाक्ने खालको पनि थियो । कीर्तिपुरस्थित बर्न अस्पतालमा कात्तिक १९ मा आएकी पूजा र कात्तिक २९ मा भर्ना भएकी आरतीको उपचार निरन्तर चलिरहेको छ । पूजाकी आमा मिश्री छोरीलाई निको पार्न अस्पताल रुँघिरहेकी छन् । आरतीका मैथिली मात्रै बुझ्ने र बोल्ने बाआमा तथा नेपालीमा पनि दोहोरो कुराकानी गर्न सक्ने बहिनी अस्पतालमा दौडधुप गरिरहेका छन् । उनीहरूसँग अस्पताल बसाइको संघर्षको पनि लम्मेतान कथा छ । जसमा आशा, निराशा, छटपटी र दौडधुप मात्रै मिसिएका छन् । पूजाकी आमा मिश्रीले लामो सास तानेर यत्ति मात्रै भनिन्, ‘भो नकुरा गर्नुस् बाबु । दौडधुप त कति हो कति ।’

पूजा र आरती दुवैका कथामा श्रीमान्बाट घरभित्रै हुने हिंसाको बीभत्स दृश्य लुकेको छ नै, त्योभन्दा बेसी निरन्तर पुरुष हिंसा सहने, सामाजिक लोकलाजकै कारण त्यसलाई बाहिर ल्याउन नसक्ने र ल्याइहाले पनि महिला हिंसालाई ‘लोग्ने स्वास्नीको झगडा, परालको आगो’ ठानेर हल्का रूपमा लिने समाज पनि जिम्मेवार देखिन्छ । श्रीमान्‌ले धुरीखाँबोमा बाँधेर उम्लेको तातो तेल खन्याइएकी पूजा र श्रीमान्सँग अलग्गिएर बस्दा पनि डेरामै आएर एसिड छ्यापिएकी आरतीको कथाले महिला कुन हदसम्म पीडा भोग्न बाध्य छन् र हिंसाको प्रवृत्ति कति बीभत्स छ भनेर बुझाउँछ । नेपाल प्रहरीका अनुसार साउनदेखि कात्तिकसम्मका चार महिनामा मात्रै घरेलु महिला हिंसाका ४ हजार २ सय ४९ वटा घटना प्रहरीमा दर्ता भएका छन् । यही अवधिमा एसिड प्रहारका २ घटनामा तीन महिला पीडित भएको देखिन्छ । यही पीडितको संख्यामा पूजा र आरती पनि जोडिन्छन् । महिला हिंसाका बढी घटना यी चार महिनामा मात्रै भएका होइनन् । प्रहरीका अनुसार अघिल्लो आर्थिक वर्ष ०७६/७७ मा ११ हजार ७ सय ३८ घरेलु हिंसाका घटना दर्ता भएका थिए । यो संख्याले औसतमा मासिक १ हजार हाराहारी महिला हिंसा हुने गरेको देखाउँछ ।

000

कात्तिक २९ गते लक्ष्मीपूजाको बिहान थियो । अघिल्लो दिनदेखि नै सहरमा दीपावलीको झिलीमिली सुरु भइसकेको थियो । जनकपुरधाम ७ पेठियामा ३ वर्षीया छोरीसँग डेरा गरी बसेकी आरतीको जीवनमा भने त्यही बिहान एकै निमेषमा अँध्यारो घोप्टियो । बिहेको दुई वर्षपछि नै श्रीमान् सञ्जीवसँग बस्नै नसक्ने भएपछि आरती छोरीसहित डेरामा बस्न थालेकी थिइन् । सानो सटरमा तरकारीको व्यापार गरेर उनले जीविका चलाएकी थिइन् । सुनचाँदी व्यवसायमा काम गर्ने श्रीमान् बेलाबखत मदिराले लत्तु भएर आउँथे र आरतीलाई कुटपिट गरेर जान्थे । गत चैतको एक दिन पनि उनले आरतीलाई बेस्सरी कुटे अनि जगल्ट्याए । यो घटना नजिकैको प्रहरी चौकीमा पुग्यो । प्रहरीले सञ्जीवलाई समात्यो । तर कोरोना संक्रमण सुरु भएको र सामान्य घटनामा थुनामा नराख्ने भन्दै अब आइन्दा यस्तो नगर्ने वाचा गराएर सञ्जीवलाई छाडिदियो । त्यसअघि पनि आरतीले श्रीमान्बाट कतिपटक कुटपिट सहिन्, वचनको वाण कति सहिन्, हिसाब उनको सम्झनामै छैन ।

लक्ष्मीपूजाको बिहान सञ्जीव सरासर डेरामा आए र आरतीको अनुहार ताकेर एसिड छ्यापेर भागे । छेउमै रहेकी छोरी रियाको पनि हातमा एसिडका छिटा परे । एसिडको जलनपछि के भयो, त्यो सब आरतीलाई प्रस्ट सम्झना छैन । आरतीको दाहिने आँखा, गर्धन, छाती र हातमा एसिडले पोलेको छ । लगत्तै जनकपुरकै जानकी हेल्थ केयर पुर्‍याइएकी आरतीलाई त्यही दिन थप उपचारका निम्ति कीर्तिपुरको बर्न अस्पताल ल्याइयो । आरतीका बाआमा र बहिनी एउटै एम्बुलेन्स चढेर आइपुगे ।

अभियन्ता उज्ज्वलविक्रम थापाले एसिड पीडितका कैयौं घटनालाई नजिकबाट निकायले छन् । उनले जेनी खड्का, सुस्मिता दास, मुस्कान खातुनलगायत कैयौं एसिड पीडितको अप्रेसन, त्यसबिचमा पीडितको छटपटी र मनोदशा देखेका छन् । ‘यत्तिका धेरै घटना सम्हालेँ तर आरतीले जति धेरै एसिडको जलन र पीडा भोगेको घटना देखेको थिइनँ,’ उनले भने । उनका अनुसार आरतीको दाहिने आँखाको भित्रैसम्म एसिडले जलाएको छ । बिहीबार मात्रै तिलगंगा आँखा अस्पतालका चिकित्सकहरूले अस्पतालमै पुगेर उनको आँखा अध्ययन गरेका थिए । थापाले भने, ‘आँखा भित्रैसम्म जलेकाले तत्कालै अप्रेसन गर्न सकिँदैन भनेका छन् तर आँखा बचाउन सकिन्छ कि भन्ने झिनो आशा देखाएका छन् ।’

मन्त्रिपरिषदले गत साउन २६ गते एसिड आक्रमणमा परेकाहरूको निःशुल्क उपचार गराउने निर्णय गरेको थियो । त्यही निर्णयका कारण बर्न वार्डमा आरतीको निःशुल्क उपचार भइरहेको छ तर जलन र दुःखका अनेक कथा थपिएका छन् । आरतीकी बहिनीले दिदीको उपचारकै निम्ति कीर्तिपुरमै २५ सय रुपैयाँ मासिक भाडा पर्ने कोठा लिएको बताइन् । ‘अस्पतालमा खाना र उपचारको पैसा तिर्नुपर्दैन तर दिदीको जनकपुरका दुइटा कोठाको भाडा कसरी तिर्ने ? काठमाडौंकै कोठा भाडा कसरी जुटाउने ? केही थाहा छैन,’ उनले भनिन् ।

आरतीकी बहिनीले भिनाजुको हर यातना चुपचाप सहने दिदीको बानीका कारण यस्तो घटना भएको बताइन् । उनले सुनाइन्, ‘कहिले करेन्ट लगाउँथ्यो, कहिले कुट्थ्यो, कहिले कपाल लुछथ्यो, श्रीमान्को कुरा अरूलाई भन्नु हुँदैन भनेर दिदी चुपचाप बसी । आखिरमा यस्तो भयो ।’

०००

काठमाडौंमा कहिले ब्युटिपार्लर त कहिले मनोरञ्जन क्षेत्रमा काम गर्दागर्दै पूजाको अश्विन परियारसँग प्रेम बस्यो । २०७२ सालमा १६ वर्षकै उमेरमा उनले बिहे गरिन् । बिहेपछिका एकाध वर्ष ठिकै चल्यो । अश्विन होटलमा किचन हेल्परको काम गर्थे । पछि श्रीमान्सँग बेलाबखत झगडा पर्न थाल्यो । त्यस्तो झगडा विस्तारै हिंसामा परिणत हुन थाल्यो । पूजाका अनुसार गोलढुंगा होस् कि नयाँबजार जहाँ उनीहरू डेरा सर्थे, त्यसको कारण हुन्थ्यो घरझगडा । उनले भनिन्, ‘स–साना झगडामा उनी बेस्सरी पिट्थे । म रुँदै चिच्याउँथे । छिमेकीले खबर गरेपछि पुलिस आउँथ्यो । श्रीमान्लाई पक्रिन्छ भनेर बिरामी भएकाले रोएकी भनेर ढाँट्थेँ ।’ लकडाउन सुरु भएपछि काखेशिशु च्यापेर माइत गइन् । केही महिना त अश्विनले उनलाई फोनसम्म गरेनन् । पछि पूजाले आफैं फोन गरिन् । कुराकानी हुन थाल्यो । दसैंको केही दिनअघि पूजा धादिङस्थित घर फर्किइन् । ‘दसैंको पूर्णिमाको दिनसम्म सबै ठिकै थियो । घरमा आएका पाहुना फर्केपछि समस्या सुरु भयो,’ उनले सुनाइन् ।

कात्तिक १८ गते बिहान उनी सासुले भनेर छिमेकमा मोही माग्न गएकी थिइन् । फर्केपछि उनलाई अश्विनले बिनाकारण गाली गर्न थाले । सासु १५ महिने नाति च्यापेर घरबाहिर पिँढीमा बसिन् । पूजालाई भने अश्विनले लतार्दै घरभीत्र लगे । सबै ढोका बन्द गरे अनि पूजालाई धुरीखाँबोमा बाँधे । उनले भनिन्, ‘यो के गरेको भन्दै म रुन र चिच्याउन थालेँ । उसले कराइस् भने मार्छु भन्दै हातमा रहेको चक्कु देखायो ।’ घरभित्र छोराले बुहारीलाई यातना दिइरहेको सुनेकी सासु पिँढीबाट दायाँबायाँ गरिनन् ।

पूजाले हेर्दा हेर्दै अश्विनले चुल्होमा तेल तताउन थाले । उनको होसहवास उड्यो । पूजा चिच्चाएपछि अश्विनले थप्पड हाने र उनको टिसर्ट च्यातिदिए । ‘भकभक तेल उम्लेको गन्धबाटै थाह पाइरहेकी थिएँ । तेल नै छ्यापेछ भने बरु बाँच्छु होला तर कराए चक्कुले हानेर मारिदेला भनेर चुप लागेँ,’ उनले भनिन् । एकैछिनमा अश्विनले तताएको तेल ल्याएर छ्यापे । उनले कसोकसो गरेर दुवै हातले छेक्न त खोजिन् तर तेल उनको निधार, अनुहार र हातभरि पर्‍यो । त्यसपछि कस्तो भयो, उनी शब्दमा बताउन सक्दिनन् ।

पूजाका अनुसार चरम पीडाले चिच्याउँदा उनी धुरीखाँबोबाट त उम्किइन् तर श्रीमान्बाट उम्किन सकिनन् । उनले डरले श्रीमान्लाई भनिन्, ‘म यो कुरा कसैलाई भन्दिनँ । पुरी पकाउँदा तेल उछिट्टिएको हो भन्छु । मलाई अस्पताल लैदिनुस् ।’ पूजालाई तातोले भित्रभित्रै जलाउन थालिसकेको थियो । अथाह छटपटीका बेला उनी कतिबेला घरबाहिर भाग्न भ्याइन्, उनी आफैलाई थाहा छैन । सडकमा आएर कराएपछि गाउँले जम्मा भए । उनले फेरि श्रीमान् आएर केही गरी पो हाल्ने हो कि भनेर डराउँदै भनिन्, ‘पुरी पकाउँदा तेल पोखियो ।’ स्थानीयले एम्बुलेन्स खोजेर उनलाई धादिङ जिल्ला अस्पताल पठाइदिए । जिल्ला अस्पतालले उनलाई कीर्तिपुर अस्पताल रिफर गरिदियो । उनले भनिन्, ‘त्यही राति गाडी चढेर बिहान ३ बजे अस्पताल आएकी थिएँ । दुखाई असाध्यै थियो । अस्पताल आएपछि त आँखा पनि हेर्न सकिनँ ।’

गम्भीर प्रकृतिका जलनका घटनालाई अस्पताल नै आएर सोधपुछ गर्ने प्रहरीलाई बल्ल उनले श्रीमान्ले तेल तताएर छ्यापेको सुनाइन् । प्रहरीले त्यही बयानका आधारमा धादिङ सदरमुकामबाट अश्विनलाई र घरबाटै सासुलाई पक्राउ गर्‍यो । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पूजाका श्रीमान् अश्विन र सासु सीता परियारलाई कर्तव्य ज्यान मुद्दामा पक्राउ गरिएको थियो । अश्विनलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ भने सासु सीतालाई अदालतले १ लाख धरौटीमा छाड्ने फैसला गरे पनि धरौटी बुझाउन नसकेपछि उनलाई पनि जेल चलान गरिएको छ ।

सुरुवाती एक महिना अस्पताल बसेकै बेला पूजाले आरतीलाई बेड छेवैमा देखेकी थिइन् । पूजाले सुनाइन्, ‘मैथिली मात्रै बोल्ने भएकाले मैले कुराकानी गर्न सकिनँ, तर छुट्टिएर बसेको श्रीमान्ले एसिड छ्यापेको सुन्दा नमज्जा लाग्यो ।’ समय घर्किदै जाँदा र निरन्तरको उपचारले पूजाको जलन कम हुँदै गएको थियो । आरतीलाई भने समय बित्दै जाँदा दुखाइ र जलन बढ्दै जाने एसिडको असरअनुसार छटपटी बढ्दै गइरहेको थियो । पूजाले सुनाइन्, ‘म बेडमै सुतेर उनीतिर हेर्थें । जलनले होला, सधै आँखा बन्द हुन्थ्यो, सधैं रोइरहेजस्तो देखिन्थ्यो ।’ मंसिर १६ गते पूजालाई अस्पतालले डिस्चार्ज गरिदियो । आमा मिश्रीको साथ लागेर उनी माइत गइन् । तर सर्जरी गरेको ठाउँमा भोलिपल्टै घाउ पाकेजस्तो भएपछि उनी अस्पताल फर्केर पुनः भर्ना भइन् । आमा मिश्रीले सुनाइन्, ‘बल्लतल्ल एक महिनापछि घर फर्केका थियौं । भोलिपल्टै समस्या बल्झिएपछि दस हजार रुपैयाँ ट्याक्सी भाडा तिरेर काठमाडौं आयौं ।’

कमजोर आर्थिक अवस्थाकी पूजाको उपचारको खर्च यत्तिका दिनदेखि अभियन्ता थापाले नै उठाएर धानिएको छ । ‘एसिडबाट जलेकाको उपचार राज्यले गरिरहेको छ तर उस्तै प्रकृतिको तातो तेलको जलन खेपिरहेकी पूजाको उपचार खर्च भने अनेकतिरबाट जुटाउनुपरिरहेछ । यो देख्दा भने नमज्जा लाग्यो,’ उनले भने । थापाले पूजाको उपचारमा अहिलेसम्म २ लाख रुपैयाँ खर्चिसकेका छन् । ‘घरमै त्यस्तो घटना घट्यो, माइतीले खर्च धान्न सक्दैनन् । उहाँ (थापा) नभेटिएको भए मेरो के हालत हुन्थ्यो होला ?’ पूजाले भनिन् । उनी प्लास्टिक सर्जरी वार्डमा उपचार गराइरहेकी छन् । ४ वर्षकै छँदा बाबु गुमाएकी पूजाले दृढताका साथ भनिन्, ‘अब त म श्रीमान्सँग ज्यान जाला बस्दिनँ । जे पर्छ आफैंले दुःख गरेर अघि बढ्छु ।’

प्रकाशित : पुस ५, २०७७ ०९:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×