कीर्तिपुर नगरपालिकालाई कभर्डहल हस्तान्तरण

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १३ औं दक्षिण एसियाली खेलकुद (साग) लक्षित गरी कीर्तिपुर नयाँबजारमा निर्माण गरेको कभर्डहल कीर्तिपुर नगरपालिकालाई भोगचलनका लागि बुधबार हस्तान्तरण गरेको छ ।

कीर्तिपुर नगरपालिकालाई कभर्डहल हस्तान्तरण

राखेप सदस्य–सचिव रमेशकुमार सिलवाल र कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गर्दै हस्तान्तरण गरिएको हो । राखेपले राज्यको लगानीमा निर्माण गरेको कभर्डहल नगरपालिकालाई सञ्चालन तथा व्यवस्थापन गर्न दिने, राखेपले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता, प्रशिक्षण, सेमिनार गोष्ठी गर्नुपर्ने भएमा नगरपालिकालाई पूर्वजानकारी गराउनुपर्ने र नगरपालिकाले स्वीकृति दिनुपर्ने सम्झौता भएको छ ।

कभर्डहलमा प्रयोग हुने टेलिफोन, खानेपानी, सुरक्षा व्यवस्था तथा त्यसको महसुल खर्चलगायत अन्य आवश्यक मर्मत–सम्भारको खर्च नगरपालिकाले बेहोर्नुपर्नेछ । नगरपालिकाले मागअनुसार खेलकुद प्रतियोगिता, प्रशिक्षण र खेल गतिविधि सञ्चालन गर्नसक्ने, कभर्डहल सञ्चालन तथा व्यवस्थापन गर्ने क्रममा कुनै विवाद भए आपसी सहमतिमा मिलाउने तथा विवाद मिलाउन असफल भएमा प्रचलित कानुनबमोजिम हुने सम्झौतामा उल्लेख छ ।

२०७५ साल भदौ १ देखि निर्माण सुरु भएको कभर्डहल ३ करोड २ लाख ३० हजार १ सय २२ रुपैयाँ लागतमा बनेको हो । २०७६ साल कात्तिक ३० गते निर्माण सम्पन्न भएको कभर्डहल ५ सय दर्शक क्षमताको छ । कभर्डहलमा बास्केटबल, भलिबल, टेबलटेनिस, मार्सल आर्ट्स, जुडोलगायत इन्डोर खेल खेल्न सकिने छ । १३ औं सागमा यस कभर्डहलमा फेन्सिङ र खोखो भएको थियो । सदस्य–सचिव सिलवालले कभर्डहलले स्थानीय खेलाडीलाई आफ्नो प्रतिभालाई तिखार्न महत्त्वपूर्ण अवसर दिने विश्वास व्यक्त गरे । मेयर महर्जनले कीर्तिपुरलाई खेलकुदको केन्द्र बनाउन सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित : पुस २, २०७७ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?