कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

निर्माणाधीन रंगशालामा राष्ट्रिय खेलाडीको जमघट

‘रंगशालाको काम जारी नै छ । खेलकुद गतिविधि पनि सुरू भएको छ भन्ने दुवै खाले सन्देश दिन यो प्रतियोगिता आयोजना गरेका हौं ।’
रमेशकुमार पौडेल

चितवन — कोरोना कहरले ठप्प खेलकुद गतिविधिलाई गति दिन चितवनमा क्रिकेटका राष्ट्रिय खेलाडीहरू जम्मा भएका छन् । तीन टिममा बाँडिएर खेलाडीहरूले रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको मुख्य क्षेत्रअघि बनेको नमुना मैदानमा ‘गौतम बुद्ध कप’ क्रिकेट प्रतियोगिता खेलिरहेका छन् ।

निर्माणाधीन रंगशालामा राष्ट्रिय खेलाडीको जमघट

यसले खेलकुदको चहलपहल बढाउनुका साथै निर्माणाधीन रंगशालाको प्रवर्द्धन गर्ने आयोजकको विश्वास छ ।

शनिबारदेखि सुरु प्रतियोगिता मंगलबार सकिने छ । राष्ट्रिय खेलाडीहरू ज्ञानेन्द्र मल्लको कप्तानीमा वाग्मती, विनोद भण्डारीको कप्तानीमा राप्ति र सुवास खकुरेलको कप्तानीमा नारायणी टिमबाट खेलिरहेका छन् । आइतबारको खेलमा राष्ट्रिय कप्तान ज्ञानेन्द्रको वाग्मतीमाथि राप्ती ११ रनले विजयी भएको छ । खेलपछि राष्ट्रिय टिमका खेलाडी र प्रशिक्षकले निर्माणाधीन रंगशालाको निरीक्षण पनि गरेका छन् । कृषि तथा वनविज्ञान विश्वविद्यालयले रामपुरको जग्गा क्रिकेट रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिकालाई उपलब्ध गराएको थियो । सो जग्गामा रंगशाला निर्माणको काम अगाडि बढाउन धुर्मुस–सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच समझदारी भएको थियो ।

फाउन्डेसनले जनस्तरमा सहयोग जुटाएर रंगशाला निर्माणको काम अगाडि बढाउँदै छ । २० बिघा जग्गामा ३० हजार दर्शक अट्ने क्रिकेट रंगशालासहित अन्य खेलहरू पनि गर्न मिल्ने बहुउद्देश्यीय रंगशाला बन्दै छ । जसको निर्माण लागत ३ अर्ब रुपैयाँ रहेको छ । कोरोनाका कारण खेलकुद मात्रै सुस्ताएन रंगशाला निर्माणको कामलाई अगाडि बढाउन आउने सहयोग राशिको अभाव हुन थाल्यो । ‘रंगशालाको काम जारी नै छ । खेलकुद गतिविधि पनि सुरु भएको छ भन्ने दुवै खाले सन्देश दिन यो प्रतियोगिता आयोजना गरेका हौं,’ आयोजक वाग्मती प्रदेश क्रिकेट संघका सचिव तथा प्रवक्ता दुर्गाराज पाठकले भने । उनी क्यानका केन्द्रीय सदस्य पनि हुन् । संघको गत असोजमा चितवनमै सम्पन्न बैठकले प्रतियोगिताको माहौल बढाउन यस्ता खाले कार्यक्रम गर्ने निर्णय गरेको उनले बताए ।

उक्त बैठकको निर्णयबमोजिम भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाललाई प्रस्ताव राख्दा सकारात्मक जवाफ आएपछि अगाडि बढेको उनले बताए । खेल एकदिवसीय गर्ने भनिए पनि मौसमका कारण २० ओभरमात्र गराइएको संयोजक पाठकले बताए । ‘हाम्रा खेलाडीहरू बन्द प्रशिक्षणमा पनि छन् । खेलाडीका लागि खेल आवश्यक भएको छ । रंगशालाका लागि माहौल बनाउनु पनि छ । त्यसैले प्रतियोगिता गरेका हौं,’ उनले भने । आइतबार खेल जितेपछि राप्तिमा कप्तान विनोद भण्डारीले यो चहलपहलले खेलकुद क्षेत्र र सहयोगीहरूमा सकारात्मक सन्देश जाने बताए । निर्माणाधीन रंगशालाको निरीक्षणपछि राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले यो गतिविधिले रंगशाला निर्माणमा योगदान पुग्ने बताए । ‘सबै जुटेर रंगशाला बन्दै छ । यो खुसीको पक्ष हो । यसमा सबैको साथ छ भन्ने सन्देश यस्ता प्रतियोगितामार्फत जानेछ,’ उनले भने ।

रामपुरमा क्रिकेट रंगशाला बनाउन भरतपुर महानगरपालिका र धुर्मुस–सुन्तली फाउन्डेसनबीच २०७५ सालको माघ १६ गते सहमति भएको थियो । आवश्यक प्रक्रिया पुगेपछि निर्माण सुरु गर्ने र दुई वर्षभित्र रंगशाला तयार गर्ने फाउन्डेसनका अध्यक्ष तथा कलाकार सीताराम कट्टेलले बताएका थिए । रंगशाला बन्दा पार्किङ एरिया हुने ठाउँमा उनीहरूले नमुना क्रिकेट मैदान बनाएका छन् ।

अघिल्लो वर्षको मंसिरमा बनाउन लागेको नमुना मैदान तयार भएपछि स्थानीय क्लबहरूले क्रिकेट प्रतियोगिता गर्न थालेका थिए । ‘राष्ट्रिय खेलाडीहरू नै आएर यसरी म्याच नै खेलेको यो पहिलो अवसर हो । देश–विदेशमा रहेका नेपालीबाट थोरै धेरै पैसा उठाएर हामीले रंगशाला बनाउँदै छौं । नमुना मैदान तयार भयो । खेलकुद नै हुन थाल्यो । मुख्य क्षेत्रमा धमाधम काम भइरहेको छ । यसले सहयोगीहरूलाई आशावादी बनाउने छ,’ कट्टेलले भने ।


उनका अनुसार अन्तर्राष्ट्रिय रंगशालाको मैदान बनाउने काम ८० प्रतिशतभन्दा धेरै पूरा भएको छ । ३० हजार दर्शक बस्न बनाइने प्यारापिटको २८६ वटा पिलर हुन्छन् । सबै पिलर ढलान भइसकेका छन् । कोरोना कालमा केही समय काम बन्द भए पनि महिना दिनपछि बिस्तारै सुरु गरेर अहिले लगभग तीन सयजना कामदार निर्माण क्षेत्रमा खट्न थालेको उनले बताए ।

तीन अर्ब रुपैयाँमा बन्ने रंगशालाका लागि अहिलेसम्म ३६ करोड ५० लाख ८६ हजार रुपैयाँ खर्च भएको छ । आम्दानी २८ करोड ३० लाख १८ हजारमात्रै भएको फाउन्डेसनको आर्थिक विभागले जनाएको छ । ‘दिन्छु’ भनेर घोषणा भएको करोडौं सहयोग रकम उठ्न सकेको छैन ।

अविनाश भए प्लेयर अफ द म्याच

राप्ती र वाग्मतीबीचको खेलमा आइतबार अविनाश बोहरा प्लेयर अफ द म्याच भएका छन् । बलर अविनाशले वाग्मतीविरुद्ध ४ ओभर बलिङ गरेका थिए । उनले दुई विकेट लिएर १२ रनमात्र दिए । वाग्मतीविरुद्धको ब्याटिङमा उनले नटआउट रहँदै ५ बलमा एक छक्कासहित ७ रन बनाएका थिए । राप्तिले पूरा २० ओभर खेलेर १ सय २९ रन बनाएको थियो । १ सय ३० रनको लक्ष्य पाएको वाग्मतीले १९.४ ओभरमा सबै विकेट गुमाएर ११८ रनमात्रै बनायो । सोमबार नारायणी र राप्तीबीच खेल हुनेछ ।

प्रकाशित : मंसिर २९, २०७७ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?