सांग्रिला–माछापुच्छ्रे भिड्ने

दीपक परियार

पोखरा — सांग्रिला क्रिकेट क्लब र माछापुच्छ्रे क्रिकेट क्लब पोखरामा जारी क्लबस्तरीय छनोट प्रतियोगिताको फाइनल पुगेका छन् । दुवै टिम २–२ खेलमा जित हात पार्दै अंकका आधारमा फाइनल पुगेका हुन् । पोखरा रंगशाला क्रिकेट मैदानमा सोमबार फाइनल हुनेछ ।

प्रदेशस्तरीय एकदिवसीय क्रिकेटका लागि जिल्लाको टिम बनाउन कास्की क्रिकेट संघले छनोट प्रतियोगिता गरेको हो । प्रतियोगितामा सांग्रिला र माछापुच्छ्रेसहित कास्की क्रिकेट क्लब, पोखरा क्रिकेट क्लब, राइजिङ पोखरा क्रिकेट क्लब र अरण्यज्योति क्रिकेट क्लब गरी ६ टिम प्रतिस्पर्धी थिए । प्रतियोगिताबाट खेलाडी छनोट गरी बनेको कास्की टिमले प्रदेशस्तरमा प्रतिस्पर्धा गर्ने छ । पुस २ बाट पोखरामै प्रदेशस्तरीय छनोट प्रतियोगिता हुनेछ । उक्त प्रतियोगिताबाट छनोट भएको टिमले काठमाडौंमा हुने प्रधानमन्त्री कपमा प्रदेशबाट प्रतिनिधित्व गर्नेछ ।

आइतबार भने क्लबस्तरीय छनोट प्रतियोगिताको लिग चरणअन्तर्गत अन्तिम खेल कास्की क्रिकेट क्लब र राइजिङ पोखरा क्रिकेट क्लबबीच भएको हो । नितेश गिरी र विश्वास कार्कीको उत्कृष्ट बलिङ तथा रमेश बस्नेतको अविजित ५४ रनको योगदानमा कास्की क्रिकेट क्लबले राइजिङलाई ७ विकेटले पराजित गर्‍यो । राइजिङले दिएको ७५ रनको लक्ष्य कास्की क्रिकेट क्लबले १४.१ ओभरमा ७७ रन बनाउँदै तीन विकेटको क्षतिमा पूरा गर्‍यो । कास्की क्रिकेट क्लबको इनिङ्समा बस्नेतको प्रदर्शन उत्कृष्ट रह्यो । उनले ४३ बल खेल्दै ८ चौका र दुई छक्का प्रहार गर्दै ५४ रनमा अविजित रहे । उनले सिधा अगाडि छक्का हान्दै जित दिलाए ।

ओपनर बस्नेतले यू–१६ का राष्ट्रिय खेलाडी अर्जुन कुमालसँगको गतिलो साझेदारी गरे । अर्जुनले १४ रन बनाए । धैर्यपूर्ण ब्याटिङ गरेका उनलाई एमरिन पौडेलले क्याचआउट गरे । ४०–४ को स्थितिको खराब लयमा रहेको राइजिङले एक रन जोड्दा अर्को विकेट गुमायो । दुई रन जोड्ने क्रममा तीन विकेट गुमायो । राइजिङ ४२/७ को दयनीय अवस्था रह्यो । कप्तान निर्मल पौडेलले २१ बलमा १४ रन जोडे । विशाल विकले पनि १३ रन जोड्न सफल भए । क्लबले ३२.१ ओभर खेल्दै सबै विकेट गुमाएको थियो । अन्य ब्याट्सम्यान दोहोरो अंकको रन छुनबाट वञ्चित हुँदै पेभेलियन फर्किए ।

कास्की क्रिकेट क्लबका बलर नितेश गिरीले १० ओभर बलिङ गर्दै २ मेडन राखे । २७ रन खर्चिए । ४ विकेट आफ्नो नाममा लेखाए । विश्वास कार्कीले ७.१ ओभरमा तीन मेडन राखे । केवल १० रन खर्चिएर ३ विकेट लिए ।

प्रकाशित : मंसिर २९, २०७७ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?