नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अर्को मिति छिट्टै घोषणा : मन्त्री विश्‍वकर्मा

काठमाडौँ — युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अर्को मिति छिट्टै घोषणा गरिने बताएका छन् ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अर्को मिति छिट्टै घोषणा : मन्त्री विश्‍वकर्मा

राष्ट्रिय खेलकुद परिषद्ले बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले फागुनमा गर्ने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुन नसक्ने बताएका हुन् ।

कोरोनाको जोखिम कम हुँदै गएपछिको अवस्थामा अर्को मिति परिषद्को आगामी बैठकबाट तय गरिने उनले बताए । साथै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता लागि तयार गरिने पूर्वाधार विकासको कार्य कोभिडका कारण प्रभावित भएकाले त्यसको व्यवस्थापनको लागि पनि महत्वपूर्ण कामहरु गर्न बाँकी रहेको मन्त्री विश्वकर्माले बताए ।

छलफल कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले कोरोनाको जोखिमसँगै खेलकुद गतिविधि सञ्चालन गर्नुपर्ने भएकाले स्वास्थ्यको मापदण्डलाई धेरै ख्याल गर्नुपर्ने बताए ।

एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले खेल संघहरुलाई सरकारले नियमित बजेट उपलब्ध गराउन आवश्यक रहेको बताए । यस्तै छलफलमा गैरआवासीय नेपाली संघ खेलकुद प्रतिष्ठानका प्राविधिक निर्देशक स्वयम्भूराज डंगोलले नेपाली दूतावास भएका देशका राजदूतले गैरआवासीय रुपमा विदेशमा बसेका नेपाली खेलाडीलाई प्रतियोगिताहरुमा सहभागी गराउन पहल गर्नुपर्ने बताए ।

छलफलमा सहभागी भएका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं प्रतिनिधि सभाका सांसद जीवनराम श्रेष्ठले नवौं राष्ट्रिय प्रतियोगिताको मिति तोक्नुअघि बृहत् छलफल गर्नु आवश्यक रहेको बताए ।

यसअघि गण्डकी प्रदेशको राजधानी पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने निर्णय भएको थियो । अहिले स्वास्थ्यको मापदण्डमा रहेर ओलम्पिकमा समावेश हुने खेलको प्रशिक्षण भइरहेको छ । साथै चितवनमा गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता हुँदैछ । त्यस्तै राष्ट्रिय फुटबल टोलीले बंगलादेशको ढाका पुगेर मैत्रीपूर्ण खेल खेलेर फर्किइसकेको छ ।

प्रकाशित : मंसिर २५, २०७७ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?