बैजनाथपुरमा दुई करोडमा पेभेलियन बन्दै

विनोद भण्डारी

विराटनगर — मोरङको बैजनाथपुर क्रिकेट रंगशालामा यसपालि खेलाडीका लागि अन्तर्राष्ट्रियस्तरको पेभेलियन निर्माण गरिने भएको छ । प्रदेश १ सरकारले दुई करोड रुपैयाँ उपलब्ध गराएपछि पेभेलियन निर्माणको तयारी गरिएको हो । पेभेलियन चालु आर्थिक वर्षभित्रमा निर्माण हुने वताइएको छ ।

बैजनाथपुरमा दुई करोडमा पेभेलियन बन्दै

पेभेलियन निर्माणका लागि प्रदेश सरकारले विराटनगर महानगरपालिकाअन्तर्गत दुई करोड रुपैयाँ विनियोजन गरेको छ । अघिल्लो निर्माण समितिका सदस्य तथा क्रिकेट पदाधिकारी मोहमद साद बाबुले महानगरपालिकाले त्यसका लागि टेन्डरको सार्वजनिक गर्ने तयारी गर्दै गरेको बताए । उनका अनुसार पेभेलियन निर्माण गरेर मैदान मिलाउने काम सकिएपछि बैजनाथपुर रंगशाला पूर्ण रूपमा क्रिकेट मैदानमा परिणत हुनेछ ।

यसअघि पटक–पटक बनाउँदै भत्काइँदै गरेर ५ वर्षमा करिब ६ करोड रुपैयाँ खर्चेर रंगशालामा क्रिकेट पिच र साइड स्क्रिन निर्माण गरिएको छ । बाँकी मैदानमा ग्रेडर लगाएर सम्याउन बाँकी छ ।

सुरुमा यो मैदानमा क्षेत्रीय खेलकुद विकास समितिले ३२ लाखको लागतमा सिमेन्टको एउटा पक्की पिच र करिव सय जना दर्शक अटाउन सक्ने प्यारापिट निर्माण गरेको थियो । जुन प्यारापिट अहिले पनि छ । त्यसपछि राष्ट्रिय खेलकुद परिषद्ले त्यही पक्की पिच उप्काएर सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका नाममा ६५ लाखको लागतमा एउटा टर्फ विकेट पिच बनाएर पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता गर्‍यो ।

सातौं राष्ट्रिय प्रतियोगिता सकिएलगत्तै क्षेत्रीय खेलकुद समितिले राष्ट्रिय खेलकुद परिषद्बाट उपलब्ध १ करोड ७२ लाखको लागतमा अस्तित्वमा रहेको टर्फ विकेट उप्काएर नयाँ टर्फ विकेट, दुवैतर्फ साइट स्क्रिन र स्कोर बोर्ड निर्माणसहित ग्राउन्डमा माटो भर्ने काम गर्‍यो ।

क्षेत्रीय खेलकुद विकास समितिले क्रिकेट पिच निर्माण, मैदानमा माटो भर्ने, साइड स्क्रिन बोर्ड, स्कोर बोर्ड र नाला बनाउन १ करोड ७२ लाख रुपैयाँ खर्च गरिसकेपछि त्यही पिच निर्माणका लागि प्रदेश सरकारले गत वर्ष एक करोड रुपैयाँ विनियोजन गर्‍यो ।

जिल्ला क्रिकेट संघ मोरङका अध्यक्ष नवीन घिमिरेको नेतृत्वमा उक्त बजेटमध्ये ३६ लाखले भएका तीन वटा टर्फ विकेट खनेर जमिनमुनि ३५ हजार ५ सय इँटा गाडेर माटोले पुर्ने तयारी गर्दा विवाद भएपछि काम रोकिएको थियो । निर्माण समितिका एक सदस्यका अनुसार मूल्य अभिवृद्धि करबाहेक उपलब्ध भएको ८६ लाख रुपैयाँमध्ये ३६ लाखको काम गरेर बाँकी रकम फिर्ता गरिएको थियो ।

चालु वर्ष पनि प्रदेश सरकारले अघिल्लो वर्ष अधुरो रहेको निर्माण कार्यलाई निरन्तरता दिन ८४ लाख बजेट महानगरपालिकामार्फत उपलब्ध गराएको थियो । त्यही बजेटले गत वर्ष इँटा गाडेर छाडेको स्थानमा पिच निर्माण र मैदानमा दुईवटा पानी तान्ने बोरिङ गाडिएको उपभोक्ता समितिका अध्यक्ष शिरीष उपाध्यायले बताए ।

पन्ध्र बिघा क्षेत्रफलको यो रंगशालामा क्रिकेट, फुटबल, सफट् टेनिस र सुटिङ हलको निर्माण गर्ने राखेपको लक्ष्य थियो । सातौ राष्ट्रिय खेलकुदको अवसरमा २ करोड १८ लाखको लागतमा सफट् टेनिस र सुटिङ हलको निर्माण गरेर क्रिकेट पिचकालागि ६५ लाख खर्च गरेर एउटा टर्फ विकेट निर्माण गरी ३० यार्डमा घाँस उमारेर बाँकी माटो रहेको अवस्थामा पुरुष क्रिकेट प्रतियोगिता सञ्चालन गरिएको थियो । त्यसबेला निर्माण गरिएका सफ्ट टेनिस कोर्ट र सुटिङ हल अहिले बेवारिस अवस्थामा छन् ।

प्रकाशित : मंसिर २३, २०७७ १३:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?