कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

पथरी–शनिश्चरे प्रिमियर लिग हुँदै

विनोद भण्डारी

विराटनगर — कोरोनाका कारण झण्डै एकवर्षदेखि ठप्प मोरङको खेलकुदलाई पथरी शनिश्चरेका युवा समूहले आगामी बिहीबारदेखि चलायमान गर्दै छन् ।

कोराना कहरलाई बिर्सिएर उनीहरुले मोरङको फुटबल इतिहासमै पहिलो पटक नगर स्तरीय पथरी शनिश्चरे प्रिमियर लिग फुटबल प्रतियोगितको आयोजना गर्ने तयारी गरेका छन् ।

पथरी शनिश्चरे नगरपालिका, नगर खेलकुद विकास समिति र स्थानीय संघ संस्थाको आर्थिक सहयोगमा नगरभित्रका युवालाई व्यवसायिक फुटबलतर्फ आर्कषित गर्न कोरानको त्रासलाई बिर्सिएर लिग प्रतियोगिता आयोजना गर्ने तयारी गरिएको पथरी शनिश्चरे प्रिमियर लिग प्रतियोगिताका संयोजक सञ्जीव गिरीले बताए ।

'पथरीमा २०७० र २०७१ मा पथरी गोल्डकप प्रतियोगिता भएयता कुनैपनि प्रतियोगिताको आयोजना भएको छैन । त्यसमा पनि पछिल्लो समय कोरोनाका कारण झण्डै एकवर्ष खेलकुद गतिविधि ठप्प भयो,' उनले भने,' कोरोनालाई बिर्सिनकै लागि र नगरलाई खेलमय बनाउन युवाहरु मिलेर प्रिमियर लिग गर्ने तयारी गरिएको हो ।'

यसअघि मोरङमा अखिल नेपाल फुटबल संघले जिल्ला स्तरीय र ‘ए’ डिभिजन लिग प्रतियोगिता हुने गरेका थिए । फुटबलका वरिष्ठ पूर्व प्रशिक्षक सन्तोश बानियाँका अनुसार निजी क्षेत्रबाट प्रिमियर लिग प्रतियोगिता हुन लागेको मोरङमा यो पहिलो हो ।

प्रतियोगितामा नगरभित्रका विभिन्न आठवटा फुटबल क्लबको सहभागिता रहने र हरेक क्लबमा नगर भित्रका युवालाई मात्र खेलाडीका रुपमा आबद्ध गर्न पाउने प्रावधान आयोजले राखेको छ । त्यसका लागि नगरका १५ युवाले आठवटा क्लब खरिद गरेका छन् । ती क्लबलाई खेलाडी खरिद गर्न बढीमा एकलाख रुपैयाँको बजेट शिलिङ तोकिएको छ ।

सबै क्लबले न्यूनतम तीन हजारदेखि १० हजार रुपैयाँसम्म रकम तिरेर एक मार्कीसहित १८ जनाको दरले अक्सनमा खेलाडी खरिद गरिसकेको संयोजक गिरीले बताए । त्यसरी खेलाडी खरिद गर्दा नगर क्षेत्रका १ सय ४४ युवाले प्रतियोगिता खेल्ने मौका पाएका छन् ।

प्रतियोगिताको लागि उज्वल बस्‍नेत र कैलाश श्रेष्ठले हिम हाउस हाइबे, सञ्जय राई र साजन काङदाले टेन नवदय, अर्जुन राई र संजोग चाम्लिङले द रियल ब्रदर, मनोज आङ्बुले श्रीजंग, भरत राई र विरेन साम्बाले देविगञ्ज, नविन ढकाल र रुवेन लावतीले वाईजीएफटी, युवराज रायमाझी र प्रदिप फुँयालले शिखर तथा रोहित बाँस्तोला र दिवस खजुमले हेरीका न्यू स्टार फुटबल क्लब खरिद गरेर बढीमा एकलाखको लागतमा अक्सनबाट खेलाडी खरिद गरेका हुन् ।

सहभागी आठ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा हिम हाउस हाइबे, श्रीजंग, शिखर र हेरीका न्यू स्टार फुटबल क्लब तथा समूह ‘बी’ मा टेन नवदय, द रियल ब्रदर, वाईजीएफटी र देविगञ्ज फुटबल क्लब परेका छन् ।

'प्रत्येक टिमले तीन–तीनवटा लिग म्याच खेल्ने छन्,' संयोजक गिरीले भने,'लिग च्याम्पियनले नगद १ लाख ७५ हजार र उपविजेताले ७५ हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् ।'

हरेक म्याचको म्यान आफ द म्याचलाई जर्सी र स्पोटर्स जुत्ताको व्यवस्था गरिएको छ । त्यसैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई १० हजार, हाईस्कोरर, उत्कृष्ट गोलकिपर, डिफेन्स, मिड फिल्ड, फरवार्ड र उत्कृष्ट प्रशिक्षकलाई पाँच–पाँच हजार पुरस्कारको व्यवस्था गरिएको आयोजकले बताएको छ ।

१५ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेल बिहीबार हिम हाउस हाइवे र शिखर फुटबल क्लबबीच हुने छ ।

प्रकाशित : मंसिर २०, २०७७ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?