उल्भस अर्थात् ‘पोर्चुगाली कोलोनी’

उल्भसले भलै प्रिमियर लिगमा खेल्छ, तर यो पक्का पोर्चुगाली टिम बनेको छ, वास्तविक कुनै पोर्चुगाली क्लबकै तुलनामा । त्यसैले अहिले उल्भसलाई पोर्चुगाली राष्ट्रिय टिम भन्न सुरू गरिएको छ ।
द गार्डियन, द डेलिमेल

लन्डन — अहिले इंग्लिस प्रिमियर लिगमा शीर्ष ६ स्थानका लागि चर्को न चर्को प्रतिस्पर्धा चलिरहेको छ । युरोपमा खेल्ने टिमको छनोट आफैंमा कठिन हुन थालेको छ । यिनै स्थानका लागि बलियो चुनौती दिने टिम बनेको छ, उल्भस । यसलाई ‘म्यान इन ओरेन्ज’ पनि भनिन्छ । सन् २०१८ मा मात्र यो फेरि एकपल्ट बढुवामा परेको थियो ।

उल्भस अर्थात् ‘पोर्चुगाली कोलोनी’

त्यसयता उसले लगातार दुई सिजन सातौं स्थान हात पारेको छ । यसक्रममा टिम पहिलोपल्ट युरोपमा खेल्न छनोट भएको छ । अहिले उल्भसको चर्चा यसै कारणले मात्र सीमित छैन । उल्भस (उल्भरह्याम्पटन वन्डरर्स) को चर्चाको अर्को बलियो कारण बनेको छ, पोर्चुगाली खेलाडीको बाहुल्य । एक प्रकारले अविश्वसनीय रूपमा अहिले टिममा ९ पोर्चुगाली खेलाडी रहेका छन् ।

जस्तो केही नाम भनौं, रुइ प्याट्रिको, रुबेन नेभेस, जाओ मोउटिन्हो, नेल्सन सेमेडो, मिरन्डना भिटिन्ह, पेडेन्से, पेड्रो नेटो अनि फाब्रिजो सिल्भा । रमाइलो त अझ के छ भने टिमका व्यवस्थापक आफैं पनि पोर्चुगाली हुन् । उनी हुन् नुनो स्पिरिटो सान्टो । उनी त पोर्चुगाली राष्ट्रिय टिमका पूर्वगोलरक्षक समेत हुन् । उनी पनि ठूलै नामका हुन् ।

एउटै टिममा यति धेरै पोर्चुगाली खेलाडी हुनु आफैंमा अनौठो संयोग मान्नुपर्छ । अझ दुर्लभभन्दा पनि हुन्छ । पोर्चुगाली फुटबलका तीन ठूला क्लब हुन्, बेन्फिका, पोर्टो र स्पोर्टिङ लिस्बन । यसमध्ये बेन्फिकासँग ३, पोर्टोसँग ६ र लिस्बनसँग ८ पोर्चुगाली खेलाडी छन् । यो संख्याले आफैंमा धेरै अर्थ बोक्ने गर्छ ।

यस्तोमा उल्भसले भलै प्रिमियर लिगमा खेल्छ, तर यो पक्का पोर्चुगाली टिम बनेको छ, वास्तविक कुनै पोर्चुगाली क्लबकै तुलनामा । त्यसैले अहिले उल्भसलाई पोर्चुगाली राष्ट्रिय टिम भन्न सुरु गरिएको छ । यसलाई हाकाहाकी पोर्चुगाली ‘बी’ टिम त भन्न सकिन्छ नै । उल्भस मध्य इंग्ल्यान्डको क्लब हो । भौगोलिक रूपमा यो ठ्याक्कै मध्यभागमा पर्छ ।

इंग्लिस फुटबलको नक्सामा यसलाई चम्काउने श्रेय भने जान्छ, जोर्गे मेन्डेसलाई । यी मेन्डेस विश्व फुटबलमा ‘सुपर एजेन्ट’ उपनामले चर्चित छन् । यो उपनाम स्वाभाविक पनि छ, किनभने उनी क्रिस्टियानो रोनाल्डो, हामेस रोड्रिग्वेज, डिएगो कोस्टा, डेविड डी जिया र जोसे मोउरिन्हो जस्ता ठूला नामका एजेन्ट हुन् ।

उनको आफ्नै कम्पनी छ, जसको नाम जेटिफुटे हो । यसमा आबद्ध छन् विश्वस्तरीय सयभन्दा बढी खेलाडी । त्यसमध्ये माथि उल्लेख भएका नाम त भए नै । रमाइलो के छ भने यसमध्ये ८० प्रतिशत खेलाडी उनको आफ्नै देशका छन्, भनौं पोर्चुगलका । यसमा जोडिएको अर्को उल्लेखनीय पक्ष हो । उनको कम्पनीमा १५ प्रतिशत सेयर छ, चिनियाँ कम्पनी फोसुनको ।

प्रशिक्षक नुनो स्पिरिटो सान्टा

मेन्डिसले त हो, फोसुनलाई फुटबल क्लब किन्न प्रेरित गरेको । अनि यो कम्पनीले किनेको क्लब अरू कुनै नभएर उल्भस नै हो । अनि मेन्डिसकै सिफारिसमा टिमको व्यवस्थापक हुने अवसर पाए, तिनै नुनोले । यी प्रशिक्षक आएपछि उल्भसका राम्रा दिन फर्किए । यसले बढुवा मात्र पाएन, प्रिमियर लिग आएयता आफ्नो उपस्थिति पनि दरिलो नै बनाएको छ ।

फेरि मेन्डिस र नुनोको सम्बन्ध पनि अहिलेको होइन । नुनो खेलाडी छँदा नै मेन्डिससँग उनको गहिरो चिनाजानी भइसकेको थियो । यस्तोमा उल्भसमा पोर्चुगाली खेलाडीको बाहुल्य हुनु के को पो आश्चर्य भयो र ? अहिले साहित्यिक पाराले भन्दा नुनो र मेन्डिस मिलेर उल्भसलाई ‘पोर्चुगाली कोलोनी’ नै बनाएभन्दा हुन्छ ।

यो सबै तथ्यको एउटा अर्को पाटो पनि छ । त्यो हो, उल्भसले अब पोर्चुगाली राष्ट्रिय टिमको निर्माणमा बलियो योगदान दिनसक्छ । सन् २०१० मा स्पेन र सन् २०१४ मा जर्मनीले विश्वकप जित्दा खास एक–एक क्लबको बलियो योगदान रहेको थियो । त्यो भनेको स्पेनका लागि बार्सिलोना अनि जर्मनीका लागि बायर्न म्युनिकको ।

त्यतिबेला यी दुई टिममध्ये प्रत्येकमा बार्सिलोना र बायर्नका ठ्याक्कै समान ७ खेलाडी थिए । अहिलेको उल्भस टिमका पोर्चुगाली खेलाडीमा क्रिस्टियानो रोनाल्डो, ब्रुनो फर्नान्डेज, बर्नाडो सिल्भा, जाओ फेलिक्स र डिएगो जोटा थप्ने हो भने त सिंगै पार्चुगाली राष्ट्रिय टिम बन्छ । जोटालाई यसै सिजनको सुरुआतमा उल्भसले ४ करोडभन्दा बढी रकममा लिभरपुललाई बिक्री गरेको हो । त्यसयता उनले ९ गोल गरिसकेका छन् । उनले भन्दा बढी गोल लिभरपुलबाट यस सिजनमा मोहम्मद सलाहले मात्र गरेका छन् । अब यो टिम कम्तीको हुन्छ त ? अनि यसले कुनै ठूलो उपाधि जित्यो भने उल्भसको सान हेरिनसक्नु हुने पक्का छ ।

प्रकाशित : मंसिर २०, २०७७ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?