१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

विलियम्सनको दोहोरो टेस्ट शतक

रोयटर्स

वेलिङ्टन — केन विलियम्सनले वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टको दोस्रो दिन शुक्रबार आफ्नो खेलजीवनको सबैभन्दा उच्च २ सय ५१ रनको स्कोर खडा गरेका छन् । यसक्रममा उनले लामो समयदेखि टेस्ट क्रिकेट नखेलेको कुनै छाँट देखाएनन् । यो उनको २२औं शतक हो भने दोहोरो शतकमा तेस्रो हो ।

विलियम्सनको दोहोरो टेस्ट शतक

न्युजिल्यान्डको पहिलो इनिङ्सको आधा जति रन उनकै नाममा रह्यो । विलियम्सन पूर्व कप्तान स्टेफन फ्लेमिङ र रस टेलरको समकक्षमा पुगेका छन् । दुवैले तीनपल्ट दोहोरो शतकको कोसेढुंगा पार गरेका छन् । न्युजिल्यान्डका लागि ब्रेन्डम म्याककलम यस्ता एकमात्र खेलाडी हुन्, जसले चारपटक २ सयभन्दा माथि रन बनाएका छन् । त्यसमा कीर्तिमानी ३०२ रन पनि समावेश छ । घरेलु टिमले ७ विकेटमा ५ सय १९ रन बनाउँदै आफ्नो पहिलो इनिङ्स समाप्ति घोषणा गरेको थियो । जवाफमा वेस्ट इन्डिजले बिना विकेट क्षति ४९ रन बनाएको छ । त्यसमा जोन क्याम्पवेल २२ र क्रेग ब्रेथवाइट २० रन बनाएर खेलिरहेका छन् । सेडन पार्कमा विलियम्सनले ९७ रनबाट दोस्रो दिनको खेल अगाडि बढाएका थिए ।

उनले ८६ रन बनाएका टम लाथमसँग दोस्रो विकेटमा १ सय ५४ रनको साझेदारी गरे । दिनको दोस्रो ओभरमै ३८ रन बनाएका रस टेलरलाई गुमाएयता विलियम्सनले केमर रोचको बलमा लगत्तै चौका प्रहार गर्दै आफ्नो शतक पूरा गरे । वेस्ट इन्डिज बलरमाथि उनी पूर्णतः हाबी रहे । उनले मध्यक्रममा हेनरी निकोलस, टम ब्लुन्डेल र ड्यारेल मिचेलसँग साझेदारी गर्दै आफ्नो दोहोरो शतक पूरा गरे । रोचकै बलिङमा कभर ड्राइभ गर्दै विलियम्सनले दोहोरो शतक बनाएका हुन् । केली जेमिसनको अर्धशतक पूरा भएलगत्तै कप्तान विलियम्सनले पहिलो इनिङ्स समाप्तिको घोषणा गरे । यसै वर्षमात्र डेब्यू गरेका २५ वर्षीय जेमिसनले आफ्नो सुरुआती तीन इनिङ्समा क्रमशः ४४, ४९ र ५१ नटआउट बनाएका छन् । उनले भारतविरुद्ध डेब्यू गरेका हुन् ।

प्रकाशित : मंसिर २०, २०७७ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?