ट्वान्टी–२० मा भारतको विजयी सुरुवात- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्वान्टी–२० मा भारतको विजयी सुरुवात

एजेन्सी

क्यानबेरा — भारतले पहिलो ट्वान्टी–२० मा शुक्रबार अस्ट्रेलियालाई ११ रनले पराजित गरेको छ । यससँगै भारतले तीन ट्वान्टी–२० को शृंखलामा १–० को अग्रता पनि लिएको छ ।

टस हारेर पहिले ब्याटिङका लागि ओर्लेको भारतले २० ओभरमा सात विकेट गुमाएर १ सय ६१ रन बनायो । त्यसमा प्रारम्भिक ब्याट्सम्यान केएल राहुलले सर्वाधिक ५१ रन बनाए ।

त्यसयता रविन्द्र जडेजाले खेलको अन्त्यतिर ४४ रन बनाए । जवाफमा अस्ट्रेलियाले २० ओभरमा सात विकेट गुमाएर १ सय ५० रन मात्र बनाउन सक्यो । कप्तान एरोन फिन्चले बनाएको ३५ रनले नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो ।

प्रकाशित : मंसिर १९, २०७७ १८:००
प्रतिक्रिया
पठाउनुहोस्

झन्डै एक महिनायता ओली–दाहालबीच ‘वान टु वान’ संवाद ठप्प

कान्तिपुर संवाददाता

काठमाडौँ — कहिलेकाहीँ दिनमा दुईपटकसम्म त कहिले हरेक दिनजसो भेटघाट गर्ने नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच ‘वान टु वान’ संवाद नभएको झन्डै एक महिना हुन लाग्यो ।

उनीहरुबीच पछिल्लोपटक कात्तिक २५ मा करिब १५ मिनेट मात्रै ‘वान टु वान’ संवाद भएको थियो । त्यसयता ओली र दाहालबीच बैठक वा सामूहिक भेट भए पनि ‘वान टु वान’ संवाद ठप्पै छ ।

त्यसअघि २० कात्तिकमा उनीहरुबीच ‘वान टु वान’ संवाद भएको थियो । उक्त भेटमा १९ कात्तिकमा ओली समूहले प्रदेश एक स्तरीय भर्चुअल बैठक राखेको विषयमा दाहालले आपत्ति प्रकट गरेका थिए । साथै सचिवालय बैठकको लागि पनि दाहालले आग्रह गरेका थिए । तर, ओलीले त्यसलाई अस्वीकार गरेका थिए।

त्यसअघि दुई अध्यक्षबीच १५ कात्तिकमा ‘वान टु वान’ संवाद भएको थियो । संवादमा राजदूतको नियुक्ति सिफारिसदेखि मन्त्रिपरिषद् पुनर्गठन, कर्णालीमा मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव र भारतीय गुप्तचर ‘रअ’का प्रमुखको नेपाल आगमन र प्रधानमन्त्रीसँगको भेटलगायताका विषयमा तिक्ततापूर्ण संवाद भएको थियो । सोही दिन दुई अध्यक्षबीच ‘अब अलग अलग जाने हो भने जाँउ’ भन्नेसम्मको संवाद भएको नेताहरुले बताएका थिए ।

त्यसपछि २२ कात्तिकमा उनीहरुबीच संयुक्तरुपमा भेट भयो । बैठकको सहमतिका लागि दाहालसहितका पाँचजना नेता पत्र बोकेर बालुवाटार गएका थिए ।

त्यसपछि ओली र दाहालबीच २५ कात्तिकमा करिब १५ मिनट मात्रै भेट भयो । भेटमा दाहालले बैठकको सहमतिका लागि आग्रह गरेका थिए । तर, ओली तयार नभएपछि दाहालसहित बहुमत सदस्यको बैठक पार्टी मुख्यालय धुम्बाराहीमा भएको थियो ।

त्यसयता भने दुई अध्यक्षबीच छुट्टाछुट्टै भेट भएको छैन । २८ कात्तिकको सचिवालय बैठकमा सामूहिक भेट भएको थियो । उक्त बैठकमा दाहालले ओली माथि संगिन आरोपसहित प्रस्ताव पेश गरेका थिए ।

त्यसपछिको सामूहिक भेट ३ मंसिर को सचिवालयमा भयो । १३ र १६ मंसिरको सचिवलाय बैठकमा पनि दुई अध्यक्षबीच भेट भएको थियो । १३ मंसिरको सचिवालय बैठकमा ओलीले दाहालमाथि संगिन आरोपसहित जवाफि प्रस्ताव पेश गरेका थिए । १६ मंसिरको सचिवालय बैठकमा ओली र दाहालबीच चर्काचर्की नै भएको थियो ।

दुई अध्यक्षबीच संवाद नभएपछि संवादको प्रयासका लागि ओली निकट नेताहरुले भने दाहालसँग भेट गरेका छन् । बुधबार महासचिव र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले छुट्टाछुट्टै दाहाललाई भेटेका थिए ।

त्यस अगाडि अर्थात् ५ मंसिरमा उनीहरुले पार्टी मुख्यालय धुम्बाराहीमा दाहालसँग भेटेका थिए । त्यसबीचमा मुख्यमन्त्री एवं स्थायी कमिटी सदस्य शंकर पोखरेलले पनि दाहाललाई भेटेका थिए । सचिवालय सदस्य ईश्वर पोखरेलले शुक्रबार (१९ मंसिर) मा दाहाललाई भेटेर दुई अध्यक्षबीच संवादका लागि आग्रह गरेका थिए ।

ओलीसमूह दाहालले पेश गरेको प्रस्ताव फिर्ता लिएर भदौ २६ को सहमतिमा फर्किनु पर्ने अडानमा छ । दाहाल–नेपाल समूह भने भदौ २६ को निर्णय भन्दा अगाडि बढेर दुवै अध्यक्षका प्रस्ताव स्थायी र केन्द्रीय कमिटीमा लगेर बहुमतको निर्णयबाट ओलीको राजीनामा माग्ने तयारीमा छ । त्यसअघि २० मंसिरमा सचिवालय बैठक बस्दैछ ।

योबीचमा ओली समूहका नेताहरुले दाहाललाई भेटेर दुई अध्यक्षबीच संवाद गर्न सुझाव दिएका छन् । तर, दुई अध्यक्षबीच ‘वान टु वान’ संवाद गराउने उनीहरुको प्रयास सफल भने हुन सकेको छैन ।

प्रकाशित : मंसिर १९, २०७७ १७:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×