कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

साना प्रतियोगितामा रमाउँदै राष्ट्रिय खेलाडी

‘साना प्रतियोगिताहरुमा खेल्दा अभ्यास मात्र होइन आम्दानीसमेत हुन्छ । त्यसैले स्थानीय स्तरमा प्रतियोगिता हुनु जरूरी छ ।’
सुम्निमा चाम्लिङ

इटहरी — कोरोना भाइरस संक्रमणको जोखिमका कारण खेलक्षेत्र ठप्प हुँदा फुटबल खेलाडीहरू व्यक्तिगत अभ्यासमै सीमित भए । बिहान–बेलुका ट्रेनिङ भए पनि बाँकी दिनभरिको समय फुर्सदिला हुन्थे । खेल्न नपाउँदा दिक्क भएका खेलाडीहरू केही समययता भने साना प्रतियोगिताहरूमा रमाउन थालेका छन् ।

साना प्रतियोगितामा रमाउँदै राष्ट्रिय खेलाडी

धरान–१७ पटनालीमा मंसिर ५ देखि सुरु भएको प्रथम पटनाली च्यालेन्ज कप २०७७ मा अधिकांश राष्ट्रिय र ‘ए’ डिभिजन स्तर खेल्दै आएका खेलाडी सहभागी भएका छन् । कोरोनाका कारण कामकाज ठप्प भएका कारण दर्शकको सहभागितासमेत उस्तै लोभलाग्दो छ । पाका उमेरदेखि साना केटाकेटी पनि खेल हेर्न पुगिरहेका छन् ।

पहिलो चरणको लकडाउनयता खेल्न नपाएका राष्ट्रिय खेलाडी प्रकाश बुढाथोकी पटनाली च्यालेन्ज कपमा उत्साहसाथ पटनाली क्लबबाट खेले । कोरोनाका कारण लामो समयदेखि प्रकाश घरमै थिए । स्थानीय उनी घरेलु मैदानमा खेल्न पाउँदा निकै खुसी लागेको बताउँछन् । ‘लकडाउनपछि पहिलोपल्ट खेल्न पाउँदा खुसी छु,’ उनले भने, ‘अरू खेलाडीलाई गाउँबारेमा थाहा दिन पाउँदा निकै उत्साही छौं ।’ पछिल्लो केही वर्षदेखि चाहेर पनि साना प्रतियोगिताहरूमा खेल्न पाएका थिएनन् । यसपल्ट भने जहाँबाट फुटबल खेल्न सिके सोही ठाउँमा लामो समयपछि खेल्न पाए ।

राष्ट्रिय खेलाडी बुद्ध चेम्जोङ धनकुटाको राजारानीबाट उत्साहसाथ खेल्न पटनाली आएका थिए । प्रतियोगिता हुने नहुने निश्चित थिएन । तर उनले आफूलाई फिट राख्न व्यक्तिगत ट्रेनिङ नियमित गर्थे । राम्रो प्रदर्शन गरे पनि उनी आबद्ध सतिशाले फुटबल क्लब मोरङ पहिलो चरणबाट बाहिरियो । हार भए पनि मैदानमा खेल्न पाउँदा खुसी लागेको बुद्ध चेम्जोङले सुनाए ।

धरानको बुढासुब्बा गोल्डकपमा करिब एक दशकदेखि खेल्दै आएको भए पनि पटनालीमा खेल्ने मौका पाएका थिएनन् । यसपल्ट भने कोरोनाका कारण उनलाई मौका जुर्‍यो । दर्शकको बाक्लो उपस्थितिले खेल्न निकै हौस्याएको उनको अनुभव छ । प्रतियोगिताहरू ठप्प हुँदा खेलाडीहरू निकै मर्कामा परेको बताउँदै उनले भने, ‘साना प्रतियोगिताहरूमा खेल्दा अभ्यासमात्र होइन आम्दानीसमेत हुन्छ । त्यसैले स्थानीयस्तरमा प्रतियोगिता हुनु जरुरी छ ।’

राष्ट्रिय खेलाडी जितेन्द्र तामाङ लकडाउनयता घरमा बस्दै आएका थिए । नियमित ट्रेनिङ दिनभरि फुर्सदमा हुने उनलाई पटनालीमा खेल्ने निम्तो दिँदा उत्साह छाएको थियो । झापाबाट खेल्न अर्का राष्ट्रिय खेलाडी विशाल राई ‘बी’ सँगै उनी पटनाली आएका थिए ।‘१० महिनादेखि खेल्न पाएको थिएनौं,’ उनले भने, ‘साना प्रतियोगिता खेलेर भए पनि चित्त बुझाएँ । ट्रेनिङ भइरहे पनि खेलेको जस्तो हुँदैन ।’

प्रकाश बुढाथोकी र पूर्वराष्ट्रिय खेलाडी सुमन सुवेदीको घर पटनाली भन्ने थाहा थियो । तर पहिलोचोति आएर खेल्न पाउँदा निकै खुसी लागेको उनी बताउँछन् । कोरोनाका कारण खेलाडीहरू निकै समस्या भएको बताउँदै उनी भन्छन्, ‘खेलेर कोरोना जितिन्छ । आवश्यक मापदण्ड पुर्‍याए खेल सञ्चालन गर्न जरुरी छ ।’ लिग सञ्चालन गर्न नसके पनि स्थानीय प्रतियोगिताहरू सुचारु हुन सके खेलाडीमा निकै उत्साह जाग्ने उनले बताए ।

लकडाउन सुरु हुनुअगावै घर आएका पूर्वराष्ट्रिय खेलाडी तथा नेपाल पुलिस क्लबका सुमन सुवेदी अझै पटनालीमा छन् । प्रतियोगिता ठप्प भएपछि काठमाडौं जान नपाएका उनी पटनालीमा भएको खेलमा सहभागी भए । व्यक्तिगत ट्रेनिङ दैनिकजसो भए पनि खेल्न नपाउँदा भने दिक्क भइसकेका थिए । ‘कोठामा खेल्नु र मैदानमा खेल्नु फरक हो,’ उनले भने, ‘खेलाडीहरूसमेत निकै खुसी छन् । दर्शकको सहभागिताले अझ हौसला बढेको छ ।’

सुमन, प्रकाश, पुजन उपरकोटी, स्थानीय किरण थापालगायतले खेल आयोजना गर्ने योजना बनाए । खेल सञ्चालनका लागि स्थानीयले मैदान मर्मत, आर्थिक सहयोगलगायत विभिन्न पक्षमा सक्दो सहयोग गरेका छन् । हुन त यसै पनि पटनालीलाई धरानपछि

दोस्रो धेरै फुटबलर जन्माउने स्थानको रूपमा चिनिन्छ । राष्ट्रिय खेलाडीदेखि ‘ए’ डिभिजन लिग खेल्ने खेलाडीहरू आधा दर्शन बढी छन् । महिला खेलाडीहरूसमेत उत्तिकै उत्पादन भएको छ । स्थानीयहरू फुटबलका लागि कुनै पनि सहयोग गर्न पछि हट्दैनन् ।

फुटबल आयोजना गर्न स्थानीयको पर्याप्त सहयोग पाएको कारण खेल आयोजना सम्भव भएको पटनाली फुटबल क्लबका संयोजक किरण थापा बताउँछन् । खेल हेर्न सुनसरी, उदयपुर, धनकुटा र मोरङबाट समेत पुग्ने गरेका छन् । विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित : मंसिर १९, २०७७ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?