१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

कतारी महत्त्वाकांक्षा ओलम्पिकसम्म

कतारको भित्री उद्देश्य हो, विश्वकपपछि ओलम्पिक आयोजना गर्ने । त्यसैले अहिले एसियाली खेलकुदको आयोजना दाबी खासमा ओलम्पिक आयोजनाको दाबेदारीका लागि बाटो निर्माण नै हो ।
हिमेश

काठमाडौँ — कतारी ओलम्पिक कमिटीको १२ सदस्यीय टोली काठमाडौं आफ्नो निजी विमानमा झरेको थियो । एक दिनबराबर मात्र समय बिताएर टोली पाकिस्तान लागिहाल्यो । त्यसपछि यो टोलीको गन्तव्य हो, भारत । यसअघि यो टोली श्रीलंका पनि पुगिसकेको थियो ।

कतारी महत्त्वाकांक्षा ओलम्पिकसम्म

यो टोलीको एकमात्र उद्देश्य छ, सन् २०३० को एसियाली खेलकुद आयोजनाको दाबेदारीका लागि समर्थन जुटाउनु । यही टोली बिहीबार बिहानै नेपाल ओलम्पिक कमिटी (एनओसी) को सातदोबाटोस्थित मुख्यालय पनि पुग्यो ।

सेतो चिटिक्क परेको पूरा शरीर छोपिने पोसाकमा रहेको यो टोलीका सदस्य लगभग त्यस क्षेत्रको खेलकुदका ‘हू इज हू’ नै खालका थिए । अझ त्यसमा दुई जना कतारी राजपरिवारका सदस्य पनि थिए । जस्तो, रसिद जे ए अल्बुनइन र डहलान जमन अल हमद । दुवै राजपरिवारका सदस्य हुन् । यसमध्ये रसिद टोली नेता थिए । उनी कतारी फुटबल टिमका पूर्वराष्ट्रिय खेलाडी हुन् । अहिले उनको परिचय कतारी ओलम्पिक कमिटीको महासचिव छ । अनि रसिदी दोहा २०३० एसियाली खेलकुद दाबेदारी कमिटीका कार्यकारी निर्देशक पनि हुन् । हमद भने एसियाली एथलेटिक्स कमिटीका अध्यक्ष हुन् । अर्का एक सदस्य मोहम्मद युसुफ अल मन एसियाली भारोत्तोलन संघका अध्यक्ष हुन् । नेपाल ओलम्पिक कमिटीको सभाकक्षमा आयोजित कार्यक्रममा उनीहरूले दोहाले सन् २०३० को एसियाली खेलकुद किन आयोजना गर्न पाउनुपर्छ भन्ने आफ्नो दाबीको प्रस्तुति देखाए । अवसर पाए उत्कृष्ट आयोजनाको नमुना पेस गर्ने दाबी पनि गरे ।

औपचारिक कार्यक्रम न थियो, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले कतारी आयोजना दाबीले सफलता पाओस् भनेर शुभकामना पनि व्यक्त गरे । दोहाले सन् २००६ मा एसियाली खेलकुदको आयोजना गरिसकेको थियो, त्यतिबेलाको मीठा सम्झना अध्यक्ष श्रेष्ठसँग छँदै थियो । पछि दुई टोलीबीचको छलफलमा आपसी खेल सम्बन्ध बढाउने प्रतिबद्धता देखाइयो । कतारबाट नेपाली खेलकुदलाई थप सहयोग गर्ने वचन मिलेको छ ।

यो सबै प्रसंग किन उल्लेखनीय र महत्त्वपूर्ण छ भने यति औपचारिक रूपमा कुनै देशले नेपाललाई ठूलो खेल महोत्सव आयोजनाको दाबेदारीमा समर्थनका लागि अनुरोध गर्न विरलै आउने गरेको छ । कतारले सन् २०२२ मै विश्वकप फुटबल पनि आयोजना गर्दै छ, त्यसको यस्तै दाबेदारी खुबै विवादित रह्यो । धेरै आर्थिक चलखेलका कुरा बाहिर निस्के । अचेल यस्तो दाबेदारीको समर्थनका लागि हुने प्रयास यत्तिको पारदर्शी हुर्नैपर्छ, केही तलमाथि हुन्छ भनेर नियम कडा हुन थालेका छन् ।

यो भ्रमणको अर्को पाटो पनि छ । यो हो, कतारी खेल महत्त्वाकांक्षा, त्यसमा राजनीतिक उद्देश्य त लुकेकै छ । एकपछि अर्को ठूला खेल महोत्सव आयोजना गरेर कतार सबैलाई भन्न चाहन्छ, खाडी क्षेत्रको सबैभन्दा उत्कृष्ट र वैभवशाली देश कतार नै हो । यसले विश्वकप त दुई वर्षभित्र आयोजना गर्दैछ, उसको योजना एसियाली फुटबल च्याम्पियनसिप गर्ने पनि छ । अझ त्योभन्दा ठूलो महत्त्वाकांक्षा हो, सन् २०३२ को ओलम्पिक आयोजनालाई दाबी तयार पार्ने ।

कतारको भित्री उद्देश्य हो, विश्वकपपछि ओलम्पिक आयोजना गर्ने । त्यसैले अहिले एसियाली खेलकुदको आयोजना दाबी खासमा ओलम्पिक आयोजनाको दाबेदारीका लागि बाटो निर्माण नै हो । कतारी मिडियाले यस्तै दाबी गरिरहेका छन् । हुन पनि कतारसँग अहिले अपार खेल भौतिक पूर्वाधार तयार भइसकेको छ । त्यसैले त पछिल्लो केही वर्षयता उसले राम्रा स्तरको भन्न मिल्ने पाँच सय ठूला साना अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गरिसकेको छ ।

त्यसो भए, के कतारले सन् २०३० को एसियाली खेलकुद आयोजनाको मौका पाउला त ? यही डिसेम्बर १६ मा ओमानमा यसलाई लिएर बैठक हुँदै छ र त्यसमा हुने मतदानले नै यसको निर्णय गर्नेछ । कतारका लागि यो सबै काम सोचे जस्तो सजिलो भने छैन । किनभने कतारविरुद्ध उभिएको छ साउदी अरेबिया । साउदी राजधानी रियादले पनि सन् २०३० को एसियाली खेलकुद आयोजनाका लागि आफ्नो दाबेदारी प्रस्तुत गरिसकेको छ, त्यसैले यसका लागि खाडीका दुई सहरबीच भिडन्त हुन लागेको छ ।

सबैलाई थाहा छ, कतार र साउदी अरेबिया दुई छिमेकी देश त हुन्, तर उनीहरूबीच सम्बन्ध भने राम्रो छैन । अझ साउदीले यूएई, बहराइनसँग मिलेर सन् २०१७ को मध्यमा कतारलाई राजनीतिक, आर्थिक नाकाबन्दी लगाएको थियो । साउदीको आरोप छ, कतारले आतंकवादलाई समर्थन गर्छ । यही तनावको पृष्ठभूमिमा टिकेर अहिले कतार र साउदीबीच प्रत्येक क्षेत्रमा प्रतिस्पर्धा चलिरहेको छ ।

ठूला–ठूला खेल महोत्सव आयोजनामा साउदी अरेबिया कतारभन्दा पछाडि नै छ । त्यसैले त साउदीले अहिलेसम्म एसियाली ओलम्पिक कमिटीअन्तर्गतका कुनै ठूलो कार्यक्रम गरेको छैन, एकभन्दा बढी खेल समावेश भएको । त्यसैले सन् २०३० को एसियाली खेलकुद आयोजनाको दाबी पेस गर्न साउदी पनि उत्तिकै महत्त्वाकांक्षी रहेको छ । कतार जत्तिकै आक्रामक भएर लागिरहेको छ । साउदी भन्छ, ‘मौका पाए सबैभन्दा राम्रो आयोजना हामी नै गर्छौं ।’

रोयटर्सले प्रेसित गरेको समाचार आधार मान्ने हो भने साउदी अरेबियाले एसियाली खेलकुद आयोजनाको दाबेदारीलाई आफ्नो देशकै प्रतिष्ठासँग जोडेर हेरिरहेको छ । नेपालजस्तो देशलाई आफ्नो पक्षमा पार्न साउदीले गज्जबको प्रस्ताव अगाडि सारेका छन् ।

जस्तो सहभागी हुने सबै खेलाडी र पदाधिकारीले प्रतियोगिताका क्रममा त्यहाँ बस्न कुनै खर्च नै गर्नुपर्ने छैन । सबै निःशुल्क हुनेछ । जेहोस्, यो दुवै देशको दाबेदारी के कस्तो छ, त्यसको छनक, सामान्य नै सही, सातदोबाटोमा देखिनु नेपाली खेलकुदका लागि राम्रो संकेत रहने सम्बन्धित क्षेत्रका जानकारहरू बताउँछन् ।

प्रकाशित : मंसिर १९, २०७७ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?