कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

सहिद रंगशालामा फ्लड लाइट जडान गरिँदै

देवनारायण साह

मोरङ — लामो समयदेखि लथालिङ अवस्थामा रहेको विराटनगरस्थित सहिद रंगशालामा फ्लड लाइटका लागि हाई मास्ट जडानको काम बिहीबार सुरु भएको छ ।

सहिद रंगशालामा फ्लड लाइट जडान गरिँदै

प्रदेश १ सरकारको ४ करोड २९ लाख रुपैयाँको लगानीमा कार्की बन्धु/अमर जेभी कन्स्ट्रक्सनले हाई मास्ट जडानको काम सुरु गरेको हो । सामाजिक विकास मन्त्रालयबाट ठेक्का पाएका उक्त कन्स्ट्रक्सनले सहिद मैदानको चार कुनामा चारवटा अग्लो हाई मास्ट जडान थालेको हो ।

निर्माण कम्पनीले रंगशालामा फाउण्डेशन निर्माण गरेर लथालिङ अवस्थामा छाडेपछि यहाँको खेलकुद गतिविधि प्रभावित भएकाले सरोकारवालाहरुले फ्लड लाइट निर्माणको माग गर्दै आएका थिए ।

समयमा काम पूरा नगरेका ठेक्केदार प्रतिनिधि सुरज घिमिरेले शुक्रबारसम्ममा चारवटै हाइ मास्ट जडानको काम सकेर पुस मसान्तभित्रमा फ्लड लाइट जडान गरिसक्ने दाबी गरे । ‘एउटा हाइ मास्टमा एक हजार वाटका २७ वटा बत्ती जडान हुन्छन्,’ उनले भने, ‘चार वटै फ्लड लाइटमा १ लाख ४ हजार वाटको बत्ती बल्नेछ ।’ नेपालमा पहिलो पटक स्वदेशी लगानीमा स्वदेशी निर्माण कम्पनीले फ्लड लाइट निर्माण गरिरहेको हो ।

विराट गोल्ड कप ट्रष्टले सहिद रंगशालामा रात्रीकालिन विराट गोल्ड कप गराएपछि फ्लड लाइट जडानको माग हुँदै आएको थियो । उक्त रंगशालामा दक्षिण एसियाली महिला फुटबल प्रतियोगिता समेत सम्पन्न भइसकेको छ ।

गत वर्ष असोज १ गते गरेको सम्झौतामा वैशाख २४ गतेसम्ममा निर्माण कम्पनीले काम सम्पन्न गर्ने उल्लेख छ । निर्माण कम्पनीले समयमा काम गर्न नसकेकाले मन्त्रालयले असार २४ गतेसम्म पहिलो पटक म्याद थप गरेको थियो । निर्माण कम्पनीले कामअघि नबढाएपछि दोस्रो पटक भदौ १५ गतेसम्मको म्याद दिएको थियो ।

ठेकेदार कम्पनीले काम अघि नबढाएपछि मन्त्रालयले पुन: तेस्रो पटक ६ महिना म्याद थपेर पुस २८ गते सम्म काम सम्पन्न गर्ने समय सीमा तोकेको छ । कोरोना महामारीले काममा ढिलाइ भएको तर अहिले दिएको समय सीमाभित्र काम सम्पन्‍न नगरे निर्माण कम्पनीलाई कारबाही गर्ने मन्त्रालयको दाबी छ ।

प्रकाशित : मंसिर १८, २०७७ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?