१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

क्लिन स्विपबाट जोगियो भारत

भारतीय अलराउन्डर हार्दिक पाण्ड्येले रवीन्द्र जडेजासँग छैटौं विकेटका लागि अविजित १ सय ५० रनको साझेदारी गरी भारतलाई अस्ट्रेलियाविरूद्धको शृंखलामा क्लिनस्विप हुनबाट जोगाएका छन् ।
विश्वकप सुपर लिगको अंकतालिकामा शीर्षस्थानमा अस्ट्रेलिया, एकदिवसीय अन्तर्राष्ट्रियमा कोहलीको १२ हजार रन पूरा
रोयटर्स

क्यानबेरा — अलराउन्डर हार्दिक पाण्ड्येले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो उच्च स्कोर बनाउनेक्रममा अविजित ९२ रन जोडेपछि भारतले बुधबार मनुका ओभलमा तेस्रो तथा अन्तिम खेलमा अस्ट्रेलियामाथि १३ रनको जित हात पारेको छ । 

क्लिन स्विपबाट जोगियो भारत

सिड्नीमा भएको पहिलो दुई खेल जितेर अस्ट्रेलियाले शृंखला यसअघि नै आफ्नो पक्षमा पारिसकेको थियो । हार्दिकले ७६ बलको इनिङ्समा ७ चौका र १ छक्का प्रहार गरे । उनले रवीन्द्र जडेजासँग १८ ओभरमा छैटौं विकेटका लागि अविजित १ सय ५० रनको साझेदारी गरी भारतलाई शृंखलामा क्लिन स्विप हुनबाट जोगाएका हुन् । यी दुईको प्रयासमा टस जितेर ब्याटिङ रोजेको भारतले ५ विकेट गुमाई ३ सय २ रन बनाएको थियो ।

भारतीय तीव्र गतिका बलर जसप्रित बुमराहले अस्ट्रेलिया जितभन्दा ३५ रन टाढा भएको समयमा ग्लेन म्याक्सवेललाई आउट गरेपछि मात्र भ्रमणकारी टोलीको विजय सम्भव भएको थियो । बुमराहले अन्तिम ब्याट्सम्यान एडम जाम्पालाई ४ रनमा एलबीडब्लू आउट गर्दा २ सय ८९ रनमा अलआउट भएको अस्ट्रेलियाले तीन बल खेल्न बाँकी रहेको थियो ।

अस्ट्रेलियाबाट म्याक्सवेलले ३८ बलमा ५९ रन बनाए । उनले प्रहार गरेको चारमध्ये एक छक्का अस्ट्रेलियाली राजधानीस्थित रंगशालाको छानामा अड्किएको थियो । कप्तान आरोन फिन्चले ७५ रन बनाउँदै अस्ट्रेलियाको आधार बनाएका थिए । भारतीय खेलाडीले दुई पटक उनको क्याच छाड्न पुगेका थिए भने एकपल्ट उनी रनआउट हुनबाट जोगिए ।

अघिल्लो खेल खेलेको भारतीय टोलीबाट परिवर्तन गरिएका चारमध्ये एक शार्दुल ठाकुर सर्वाधिक सफल बलर रहे । उनले १० ओभरमा ५१ रन खर्चेर ३ विकेट लिए । बुमराह र ‘डेब्यू’ गरिरहेका टी नटराजनले २–२ विकेट लिए । भारतले पहिलो दुई खेल विजय लक्ष्य पछ्याउँदा हारेको थियो ।

तर, घरेलु टोलीले भारतका कप्तान विराट कोहलीलाई ६३ रनमा आउट गरेपछि खेल आफ्नो नियन्त्रणमा ल्याएको थियो, जतिखेर भारत ३२ ओभरमा १५२–५ को स्कोरमा पुगेको थियो । शिखर धवन १६, शुभमन गिल ३३, श्रेयस ऐर १९ र केएल राहुल ५ रनमा आउट भए । कोहली आउट भएपछि हार्दिक र जडेजाको जोडी जमेको थियो । जडेजाले ५० बल खेल्दै ६६ रन बनाउँदा ५ चौका र ३ छक्का प्रहार गरे । हार्दिक र जडेजा मिलेर अन्तिम ५ ओभरमा ७६ रन जोडे ।

अस्ट्रेलियाबाट एस्टन एगरले २ तथा जोस हेजलउड, सिन एबोट र जाम्पाले १–१ विकेट लिए । यी दुई टोलीबीच शुक्रबार क्यानबेरामै तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेल हुनेछ ।

अस्ट्रेलिया शीर्षमा

भारतमाथि एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा २–१ को जित हात पारेपछि अस्ट्रेलिया पुरुष क्रिकेट विश्वकप सुपर लिगको अंकतालिकामा शीर्षस्थानमा पुगेको छ । अस्ट्रेलियाको ४० अंक पुगेको छ । भारत ९ अंकसहित छैटौं स्थानमा छ । अस्ट्रेलियाले पछिल्लो शृंखलामा विश्वकप विजेता इंग्ल्यान्डलाई २–१ ले पराजित गरेको थियो ।

१३ राष्ट्र सहभागी च्याम्पियनसिपको सुरुआत गत वर्ष भएको हो । यसको अंकतालिकाका शीर्ष सात स्थानमा रहने राष्ट्र विश्वकपका लागि सोझै छनोट हुनेछन् । सन् २०२३ मा आफ्नै भूमिमा हुने भएकाले भारत विश्वकपमा सोझै छनोट भइसकेको छ । इंग्ल्यान्ड दोस्रो स्थानमा छ । टोलीले च्याम्पियनसिपको सुरुआती शृंखलामा आयरल्यान्डलाई २–१ ले पराजित गरेको थियो ।

इंग्ल्यान्डसँग ३० र पाकिस्तानसँग २० अंक छ । पाकिस्तानले हालै जिम्बावेलाई शृंखलामा २–१ ले पराजित गरेको थियो । जिम्बावे, आयरल्यान्ड समान १० अंकसहित क्रमशः चौथो र पाँचौं स्थानमा छन् । श्रीलंका, वेस्ट इन्डिज, न्युजिल्यान्ड, बंगलादेश, दक्षिण अफ्रिका, अफगानिस्तान र नेदरल्यान्ड्सले च्याम्पियनसिपको म्याच अझै खेलिसकेका छैनन् ।

कोहलीको १२ हजार रन

भारतीय कप्तान विराट कोहली एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा चाँडो १२ हजार रन पूरा गर्ने खेलाडी बनेका छन् । ३२ वर्षे उनले बुधबार २ सय ४२ इनिङ्स खेल्दै यो आँकडालाई छोएका थिए ।

सर्वाधिक रन बनाउने सचिन तेन्दुलकरले १२ हजार रन पुग्दा ३ सय इनिङ्स खेलेका थिए । तेन्दुलकरले एकदिवसीयमा सबैभन्दा बढी १८ हजार ४ सय २६ रन बनाएका छन् ।

अस्ट्रेलियाका रिकी पोन्टिङले ३ सय १४, श्रीलंकालीहरू कुमार सांगाकाराले ३ सय ३६, सनथ जयसूर्याले ३ सय ७९ र माहेला जयवर्द्धनेले ३ सय ९९ इनिङ्स खेल्दै १२ हजार रन पूरा गरेका थिए । कोहलीले बनाएको अर्धशतक एकदिवसीयमा ६०औं हो ।

प्रकाशित : मंसिर १८, २०७७ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?