रेनुकाले गरिन् बिहे- खेलकुद - कान्तिपुर समाचार

रेनुकाले गरिन् बिहे

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर रेनुका नगरकोटेले सोमबार अभिषेक लामासँग विवाह गरेकी छन् । चन्द्रपुर (रौतहट) की रेनुका र चिसापानी (धनुषा) का अभिषेकले सात वर्षयताको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

एपीएफ क्लबकी महत्वपूर्ण खेलाडी २५ वर्षीया रेनुकाले कक्सबजार (बंगलादेश) मा सन् २०१० मा भएको पहिलो साफ महिला च्याम्प्यिनसिपमार्फत् राष्ट्रिय टिममा डेब्यू गरेकी थिइन् । उनले चौथो साफ महिला च्याम्पियनसिप २०१६ मा राष्ट्रिय टिमको कप्तानी गरेकी थिइन् ।

उनको उत्कृष्ट प्रदर्शनको सहयोगमा नेपाली टिम हिरो वुमेन्स गोल्डकप, नाडेज्दा कप र १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उपविजेता भएको थियो । यी तीनै प्रतियोगिता सन् २०१९ मा भएका थिए । अभिषेक काठमाडौंमा आफ्नै व्यवसाय गर्छन् ।

प्रकाशित : मंसिर १७, २०७७ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्

प्रशिक्षक-खेलाडीको जोडी

कराते खेलाडी उत्पादनका लागि चर्चित प्रशिक्षक ध्रुवविक्रम मल्लले १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता अनुपमा मगरसँगको प्रेमलाई बुधबार विवाहमा परिणत गर्दैछन् ।
राजु घिसिङ

काठमाडौँ — नेपाली करातेकै अब्बल प्रशिक्षकमा पर्छन् ध्रुवविक्रम मल्ल । उनले बालाजु कराते डो स्थापना गर्दै २०५० सालयता कराते सिकाइरहेका छन् । राष्ट्रिय टिमका लागि खेलाडी उत्पादनको हिसाबले यो डोजो एउटा मुख्य कारखाना नै साबित भएको छ ।

यही डोजोमा ट्रेनिङ गरेको एक दशकपछि अनुपमा मगरले गत वर्ष आयोजित १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई स्वर्ण पदक दिलाइन् । यिनै गुरु–चेलाको सम्बन्ध बुधबारदेखि पारिवारिक बन्दैछ । करातेमा हुर्किएको प्रेमलाई उनीहरूले विवाहमा परिणत गर्दैछन् ।

‘गुरुलाई चिनेको ११ वर्ष भयो,’ ३० वर्षीया अनुपमा भन्छिन्, ‘कहिले माया बस्यो याद नै छैन । गेम खेल्दाखेल्दै कसरी प्रेममा पर्यौं थाहै पाइनँ । भाग्यमा यही लेखेर होला ।’ ५१ वर्षीय ध्रुवविक्रमले हाँस्दै भने, ‘अहिले जुर्‍यो ठ्याक्क भयो भन्नुपर्ला ।’ उनलाई अनुपमाले ‘गुरु’ भनेर बोलाउँछन् । मल्लले अनुपमा नै भन्छन् । र, यो नाम पनि मल्लले नै राखिदिएका हुन् । त्यसअघि लेखानी, उदयपुरकी लोक कुमारी जनयुद्धकालमा माओवादीमा छिरेपछि ‘पविता’ बनेकी थिइन् ।

नाचगान पछ्याउँदै १४ वर्षको उमेरमा माओवादीमा प्रवेश गर्दै भूमिगत भएकी अनुपमा २०६३ सालको जनआन्दोलनपछि माओवादी लडाकुको सिन्धुली सिविरमा रहिन् । त्यहाँ उनले शरीरको तौल घटाउन २०६५ सालमा कराते सिक्न थालिन् । जनआन्दोलनपछि गठन भएको माओवादीको भातृ संगठन गणतान्त्रिक खेलकुद महासंघका संस्थापक अध्यक्ष हुन् मल्ल । उनी ०६६ सालतिर पीएलए स्पोर्ट्स क्लबका लागि खेलाडी छनोट गर्न सिन्धुली पुगेका थिए । उनीहरूको पहिलो भेट त्यहीं भयो ।

‘हामी माओवादी–माओवादी भएर होइन, खेलबाटै नजिक भएको हो अनि भेट भएको हो,’ अनुपमा भन्छिन्, ‘उहाँलाई पहिला चिनेको थिइनँ । ध्रुव गुरु काठमाडौंको खतरा (उत्कृष्ट) हुनुहुन्छ भन्ने सुनेकी थिएँ । पीएलए क्लबमा राम्रो ट्रेनिङ हुन्छ, त्यहाँ मैले पनि त्यो मौका पाए हुन्थ्यो भन्ने लागेको थियो । गुरुले सिन्धुलीबाट मलाई छनोट गर्नुभयो, त्यो मौका पाएँ, सागमा स्वर्ण जितें, अहिले बिहे पनि गर्दैछु । भाग्यमा सबै कुरा देखेको हुँदैन, लेखेको हुन्छ भन्छन्, मेरो भाग्यमा त्यही लेखेको होला ।’

त्रिपुरासुन्दरी–४, धादिङका मल्ल भन्छन्, ‘माओवादीको सातै सिविरमा अतिथिका रूपमा खेलाडी छनोट गर्न पुगेको थिएँ । सिन्धुलीमा पहिलोपल्ट देख्दै अनुपमा मिहिनेती लाग्यो, राम्रै खेलाडी बन्छ भन्ने लाग्यो । र, छनोट गरी काठमाडौं ल्याएँ । नतिजा पनि राम्रै आयो ।’ उनले सिन्धुली सिविरबाट अनुपमा, मीरा राईसहित ५ खेलाडीलाई छनोट गरी पीएलए क्लबमा काठमाडौं ल्याएका थिए । उनै मीरा अहिलेकी चर्चित अल्ट्रा धाविका हुन् । मीरा र अनुपमा नजिकका साथी ‘दोस्त’ हुन् ।

पीएलए क्लबमा केही समय प्रशिक्षण गरेपछि अनुपमा, मीरासहित केही खेलाडीलाई काठमाडौंमा बस्ने, खाने र खेलको अभ्यास गर्ने व्यवस्था मल्लले नै गरेका थिए । मीरा र अनुपमा बालाजु कराते डोजोको होस्टेलमा बसेको सात वर्ष भइसकेको छ । १३औं सागमा कांस्य पदक जितेकी एस्तर राईसहित केही खेलाडी उनीहरूसँगै बस्छन् ।

‘गुरुले पहिलाबाट नै मलाई सपोर्ट गर्नुहुन्थ्यो,’ अनुपमाले कान्तिपुरसँग भनिन्, ‘उहाँले मलाई पीएलए क्लबमा सिकाउनुभयो । बाहिर स्वतन्त्र हुन्छ भनेर पछि उहाँकै एकेडेमी (बालाजु कराते डो) मा गएँ । केही समय परिवारसँग बसें, त्यसपछि गुरुकै होस्टेलमा । उहाँले गर्दा नै यहाँसम्म आइपुगेकी हुँ ।’ प्रशिक्षक मल्ल भन्छन्, ‘मैले जानेको सीप सिकाएँ, सकेको सहयोग गरें । मैले गरेको त्यही हो ।’ अनुपमा ब्ल्याकबेल्ट तेस्रो डानकी हुन् भने मल्ल छैटौं डान ।

ठीक एक वर्षअघि सातदोबाटोस्थित कराते एकेडेमीको हलमा अनुपमाले एसियाली खेलकुद २०१८ की कांस्य विजेता पाकिस्तानी हमिदुल्लाह नर्गिसलाई ६–३ ले हराएर १३औं सागमा ६८ केजीमाथिको स्वर्ण कब्जा गरेकी थिइन् । उक्त प्रतिस्पर्धामा चार ‘जज’ मध्येका एक हुन् मल्ल । अनुपमाले पीएलए क्लबबाट खेल्दै छैटौं राष्ट्रिय खेलकुदमा कांस्य हात पारेकी थिइन् । त्यसपछि दुई संस्करण पुलिसबाट खेलिन्, सातौंमा रजत र आठौंमा स्वर्ण चुमिन् । पाँचौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा रजत जितेकी उनले एसियाली खेलकुद २०१४ मा पनि प्रतिस्पर्धा गरेकी थिइन् ।

अबको योजनाबारे अनुपमा भन्छिन्, ‘१३ औं सागमा स्वर्ण जितेकाले खेललाई निरन्तरता दिनुपर्छ भन्ने हो । तर, अहिले कोरोना महामारीका कारण प्रतियोगिताहरू भइरहेका छैनन् । त्यसैले अब खेल्ने वा संन्यास लिने भन्नेबारे निश्चित गरेकी छैन । गेम खेलिनँ भने पनि सिकाउने काम सधैंभरि गर्नेछु ।’ बालाजु कराते डोमा मल्लको अनुपस्थितिमा झन्डै ५ वर्षयता अनुपमाले नै ट्रेनिङ गराउँदै आएकी छन् । उनी बिहान २ घण्टा आफैं अभ्यास गर्छिन् । उनले सात वर्षयता बेलुकी २ घन्टा सिद्धार्थ वनस्थलीमा सिकाइरहेकी छन् ।

‘धनभन्दा मन ठूलो’

रंगरोगन भइरहेकाले बालाजु डो मंगलबारसम्म बन्द गरिएको छ । यही बेला हिन्दु संस्कारअनुसार बुधबार बालाजुस्थित घर (होस्टेल) मा विवाह गर्न लागेका मल्ल र अनुपमाले एकअर्कालाई राम्रोसँग चिनेको बताउँछन् । मल्ल भन्छन्, ‘उनको बानी, बोली राम्रो छ । व्यावहारिक छे । सबै राम्रो छ ।’

मल्लबारे अनुपमा भन्छिन्, ‘आफूसँग केही नहुँदा पनि गुरुले अरूलाई सहयोग गर्नुहुन्छ । त्यो सबभन्दा ठूलो हो । मान्छेले सबैभन्दा ठूलो पैसालाई भन्छन् तर मन हो जस्तो लाग्छ मलाई । त्यो चाहिँ गुरुमा भेट्टाएँ । उहाँ सबैलाई बराबर, एउटै नजरले हेर्नुहुन्छ, आफूसँग नभई–नभई मागेरै भए पनि सहयोग गर्नुहुन्छ । उहाँको यही मन सबैभन्दा राम्रो लाग्छ ।’

मल्ल बिहानदेखि बेलुकीसम्मै कराते सिकाउन व्यस्त हुन्छन् । उनको यही व्यस्तता अनुपमालाई राम्रो लाग्छ । राजनीतिक आस्थाका कारण अनुपमासँग नजिक हुने मौका मिले पनि मल्ललाई पछिल्लोपल्ट राजनीतिदेखि दिक्क लागेको छ । ‘पछिल्लो आमनिर्वाचनदेखि राजनीतिबाट टाढै छु, पार्टीको सदस्यता पनि नवीकरण गरेको छैन,’ उनले प्रस्ट्याए, ‘सबै नेताहरूले प्रयोगमात्रै गर्छन् ।’

उनी अहिले पूर्णतः खेलमै केन्द्रित छन् । त्यसकै परिणाम मान्नुपर्छ, १३औं सागमा पदक जितेका १२ खेलाडीले कुनै न कुनै समय उनकै एकेडेमीमा ट्रेनिङ गरेका थिए । अनुपमासहित स्वर्ण विजेताहरू अनु अधिकारी, नवीन रसाइली, सुनीता महर्जन बालाजु डोका पुराना खेलाडी हुन् भने यहाँ लक्ष्मण तामाङ र विप्लव श्रेष्ठले पनि प्रशिक्षण लिएका थिए । रजत जितेका अनु गुरुङ, दिवस श्रेष्ठ र ट्रायथलनकी हुमी बुढामगरले पनि यहीं प्रशिक्षण गरेका थिए । कांस्य हात पारेका एस्तर राई, राजकुमार रसाइली, राजीव पुडासैनी पनि बालाजु डोकै उत्पादन हुन् । ११ औं साग २०१० को स्वर्ण विजेता सुनील लामा र एसियाली खेलकुद २०१४ मा नेपाललाई एकमात्र पदक (कांस्य) दिलाएकी बिमला तामाङ पनि यहींबाट उदाएका हुन् ।

आउने वैवाहिक जीवनबारे मल्लले भने, ‘कराते–करातेको सम्बन्ध राम्रै लाग्छ, हामी खेल क्षेत्रकै मान्छे हौं ।’ प्रशिक्षकको रूपमा उनको एकल प्रयासमै एकेडेमीले उत्कृष्ट खेलाडी उत्पादन गरेको थियो । यसलाई अब ध्रुव–अनुपमाको जोडीले थप उचाइ दिनसक्छ ।

प्रकाशित : मंसिर १७, २०७७ ०९:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×