लिभरपुल बराबरीमा रोकियो- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लिभरपुल बराबरीमा रोकियो

रोयटर्स

लन्डन — ब्राइटन र लिभरपुलबीच इंग्लिस प्रिमियर लिगमा शनिबार भएको खेल १–१ को बराबरीमा टुंगेको छ । नाटकीय र विवादास्पद सावित खेलमा ब्राइटनले इन्ज्युरी समयको तेस्रो मिनेटमा ‘भार’ को मद्दतले पेनाल्टी पाएको थियो र त्यसलाई पास्कल ग्रसले गोलमा परिणत गरे । 

यसअघि लिभरपुलले डिएगो जोटाले ६० औं मिनेटमा गरेको गोल मद्दतले अग्रता लिएको थियो । लिरभपुलका दुई गोललाई ‘भार’ मान्यता दिएन । पहिलो हाफमा मोहम्मद सलाह र दोस्रो हाफमा साडियो मानेको गोललाई अफ–साइड दिइएको थियो ।

ब्राइटनले खेलको सुरुमै पेनाल्टीको अवसर पाएको थियो । तर निल मउपेयी २० औं मिनेटमा गोल गर्न चुके । बराबरीका बाबजुत लिभरपुल कम्तीमा एक दिनका लागि अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ र यसको १० खेलबाट २१ अंक भएको छ । ब्राइटनको १० खेलबाट १० अंक भएको छ र १६ औं स्थानमा रह्यो ।

प्रकाशित : मंसिर १३, २०७७ २०:३७
प्रतिक्रिया
पठाउनुहोस्

वैकल्पिक यात्राको सकस

भोक, निद्रा, यौन, स्वाद र भौतिक आक्रमणका तमाम तृष्णा र जोखिमलाई खप्न र पाखा लगाउन तयार नभई जस्तोसुकै उन्नत बौद्धिकले पनि गुणात्मक विकल्प–यात्राका निम्ति आफूलाई तयार पार्न सक्तैन ।
आहुति

काठमाडौँ — नेपाली समाज आज फेरि यथास्थितिवादको कहरबाट छटपटाउन थालेको छ । त्यसैले आजको नकारात्मक यथास्थितिको गुणात्मक विकल्प निर्माणका निम्ति आवश्यक जरुरी बहस पनि सुरु भैसकेको छ । सृष्टिको प्रत्येक पदार्थीय एकाइले आफ्नो अनुकूलताको परिस्थिति निर्माण गर्न संघर्ष गर्छ ।

यही स्वभाव नै परिवर्तन र अस्तित्वका निम्ति निर्णायक रहँदै आएको छ । पदार्थीय एकाइहरूमध्ये प्रचलनमा जीवित भनिएका जीव वा वनस्पतिले गर्ने त्यस्ता संघर्षलाई भने सहजै देख्न पनि सकिन्छ । एउटा भर्खरको बिरुवाले जताबाट घाम प्राप्त गर्छ, त्यो घाम लगातार छेकिदिने हो भने बिरुवा घाम आउने अर्को दिशातिर ढल्किन थाल्छ । अर्थात्, यथास्थितिको विकल्प खोज्न सुरुआत गर्छ । कमिलाले गोलो भत्केकै विन्दुबाट अर्को गोलो निर्माणको मेलो थाल्छ । यसरी प्रतिकूलताको विकल्प निर्माणको आयाम सर्वत्र व्याप्त छ । विकल्प खोज र निर्माणको यात्रामा मानवजाति सबैभन्दा अगाडि बढ्यो । त्यसैले त मानव पदार्थको सबैभन्दा जटिलतम तर उच्च रूपमा प्रकट एवं स्थापित हुन पुग्यो ।

सृष्टिका पदार्थका अन्य रूप मात्र हैन, जीवित भनिएका जीव र वनस्पतिको भन्दा मानवको विकल्प खोज्ने प्रवृत्तिको सार भने फरक हुन पुग्यो । त्यो गुणात्मक फरक प्रवृत्ति यही नै हो कि, अन्य जीवितहरू प्रतिकूल परिस्थितिको मात्रात्मक र तत्कालीन विकल्पको खोजसम्म नै सीमित हुन्छन् भने मानिस गुणात्मक र दीर्घकालीन विकल्पको खोजसम्म पुग्न सधैंभरि तत्पर रहन्छ । विकल्प–खोजको यही गुणात्मक प्रवृत्ति–भिन्नताकै दौरान सबैजसो जनावरले नदीमा पौडिन जाने तर मानिसले चाहिँ नदीमाथि पुल नै उभ्याउन पुग्यो जनावरहरू संस्कृतिविहीन रहन पुगे तर मानिस संस्कृतियुक्त हुन पुग्यो । आज यस विषयलाई संश्लेषित रूपमा व्यक्त गर्न जति सजिलो छ, मानव समाजले आफूलाई गुणात्मक विकल्प–खोजमा होम्न भने त्यति सजिलो थिएन भन्ने यथार्थ प्रस्टै छ । मानव समाजमा उपलब्ध दर्शन, खाद्यशास्त्र, औषधि विज्ञानदेखि राजनीति लगायतका तमाम उपलब्धि प्राप्त गर्न मानिसका पूर्वजहरूले गरेको असाधारण तपस्या र भोगेका अकल्पनीय कष्टहरूको कल्पना मात्र पनि कुनै एक व्यक्तिको मस्तिष्कबाट सम्भव नहुने स्तरमा छ । यसरी मानिसले प्रतिकूल परिस्थितिको गुणात्मक विकल्प तब नै निर्माण सम्भव बनाउँदै आएको हो, जब तत्कालीन सामाजिक चेतना अकल्पनीय कष्टलाई बेहोर्न राजी हुने स्तरमा विकसित भयो ।

प्रतिकूल यथास्थितिको गुणात्मक विकल्प–खोजको मानिसको यात्रालाई नयाँ उचाइमा उठाउन प्रत्येक युग र आवश्यक सन्दर्भमा दर्शनशास्त्रलाई एक कदम विकास गरिएको पाइन्छ । साथै राजनीति र कलाका विविध आयामको रचनामार्फत समाजलाई उत्प्रेरित गरेको भेटिन्छ । यो प्रक्रिया संसारभरि आज पनि कुनै न कुनै रूपमा, मात्रामा चलिरहेकै छ । नेपाली समाजमा भने प्रतिकूल यथास्थितिको गुणात्मक विकल्प खोज्ने यात्रामा यतिखेर हुटहुटीको मात्रा निकै कमजोर हुन पुगेको छ । करिब चौथाइ सय वर्षको विभिन्न आयामको संघर्षपछि स्थापित राजनीतिक व्यवस्थाप्रतिको स्वाभाविक अपेक्षा र त्यसले निर्माण गरेका रंगीन विभ्रमहरूका कारण नै सायद त्यस्तो हुटहुटी मन्द हुनुपरेको छ ।

आज पुनः परिवर्तनका निम्ति आह्वान गर्दा समाजमा आम रूपमा लामो सुस्केरा भेटिन्छ । यस्तो भान हुन्छ, लामो यात्राका कारण समाज थकाइ मारिरहेछ र निस्लोट निदाउन चाहन्छ । सर्पले डसेको वा बाघले घाइते बनाएको मानिसलाई निद्रा पर्न नदिन परम्परागत उपचार प्रणालीमा बाजागाजा बजाइन्छ । यो विधि आधुनिक चिकित्साले पनि बेठीक मान्दैन किनभने त्यस्तो बेला निदाएपछि ब्युँझन कठिन हुन्छ । आज नेपाली समाज यस्तै घाइते अवस्थामा पुगेको छ । त्यसैले प्रत्येक दस वर्षमा भेलझैं परिवर्तनका निम्ति जुरुक्क उर्लिने नेपाली समाजलाई निदाउन नदिन र आजको कुटिल यथास्थितिको गुणात्मक विकल्प खोज्न जागृत गर्नका लागि सचेत मानिसहरूले सबै आयामको बौद्धिकी गुन्जाउनु जरुरी भएको छ । मानवजातिले हरेक युग र आवश्यक सन्दर्भमा गुणात्मक परिवर्तनका निम्ति गरेको त्याग, बलिदान र बेहोरेको अकल्पनीय कष्टका कथालाई पटक–पटक पुनर्वाचन गर्नुपर्ने समय आएको छ । गलत यथास्थितिको पतन र प्रगतिशील भविष्यको अनिवार्य उदयका दार्शनिक र समाजशास्त्रीय नियमहरूद्वारा पुनः प्रशिक्षित गर्ने अथक अभियान प्रारम्भ गर्नु अनिवार्य भएको छ ।

मानव समाज राजनीतिक भएकाले समाजको प्रत्येक यथास्थिति वा प्रगतिका निम्ति राजनीतिक व्यवस्था वा राजनीतिले निर्णायक भूमिका खेल्ने गरेको सर्वविदितै छ । आजसम्मको राजनीतिक इतिहास मूलतः शोषक वर्गले विभिन्न राजनीतिक प्रणालीमार्फत शोषण र शासन गर्दै आएको यथार्थ पनि छर्लंगै छ । प्रत्येक युग वा व्यवस्थामा शासक वर्गले आफ्नो अनुकूलको व्यवस्थालाई दीर्घजीवी बनाउन आम श्रमजीवी समाजलाई निश्चित वैचारिक प्रशिक्षणको प्रपञ्चमय सुरुङमा प्रवेश गराउँछ । समाज एकपटक त्यसमा प्रवेश गरिसकेपछि सुरुङभित्रको पर्यावरण नै सम्पूर्ण सत्यको सीमाका रूपमा समाजको संस्कृति बन्न पुग्छ । समाजको त्यही भ्रमित चेतनामाथि शासक वर्गको शोषण निरन्तर जीवन्त रहने वातावरण बन्दै जान्छ ।

कुनै पनि व्यवस्थाले आम समाजलाई गर्ने प्रशिक्षण कति घातक हुँदो रहेछ भन्ने कुरा दैनन्दिन जीवनमा लगातार प्रकट भइरहने गलतमाथि समेत लामो समयसम्म आम समाजले प्रश्नसम्म उठाउने नगरेका अनगिन्ती विषयबाट प्रस्ट हुन्छ । पुँजीवादी युग सुरु भएपछि सामूहिक ज्यालादारी श्रम उत्पादनका निम्ति एउटा वरदानसरहको थियो तर सामूहिक रूपमा उत्पादन गरेको वस्तु सामूहिक रूपमै स्वतः उपभोग गर्न पाउनुपर्ने सहज चेतना आम समाजमा बितेका पाँच सय वर्षमा समेत आइसकेको छैन । अझै पनि सामूहिक उत्पादन आवश्यक तर व्यक्तिगत दुःख स्वाभाविक भन्ने शोषकवर्गीय प्रशिक्षणमै समाज संस्कृतिबद्ध छ ।

अर्को उदाहरण, लामो समयदेखि नेपालमा प्रमुख जिल्ला अधिकारी नियुक्त गर्ने राजनीतिक व्यवस्था छ । जिल्ला अधिकारी त्यो कर्मचारी हो जसले नागरिक जीवनका थुप्रै विषयमा निर्णय लिन सक्छ । व्यवस्थाले यसरी प्रशिक्षण गरेको छ कि, समाजले जिल्ला अधिकारी मेरो नाताको, मेरो जातको, मेरो पार्टी समर्थक वा कम्तीमा असल मानिस परोस् भनेर त सोच्छ तर हामीमाथि शासन गर्ने जिल्ला अधिकारी हामीले निर्वाचित गर्न किन नपाउने भन्ने प्रश्न नै दिमागमा आउँदैन । प्रधानमन्त्री चुनिने युग भोगिसक्दा पनि जिल्ला अधिकारी चुन्न किन नहुने भन्ने चेतना गायब छ । जिल्ला अधिकारी कर्मचारी हो, त्यसका लागि प्रहरीजस्तो शारीरिक सुगठन आवश्यक पनि होइन, तब किन निर्वाचन गर्न नहुने ? यसकारण यो प्रश्न सामान्यतः दिमागमा आउँदैन किनभने व्यवस्थाले यस्तो प्रश्नै नजन्मने गरी प्रशिक्षण गरेको छ । न्यायाधीश पनि निर्वाचित हुन सक्छ, हुनुपर्छ भन्ने चेतना त कता हो कता !

हिजोदेखि पुँजीवादी व्यवस्थाले विश्वव्यापी रूपमा जुन विषयलाई अन्तिम सत्य नै यही हो भन्ने प्रशिक्षण दिँदै आएको छ, आज त्यो प्रशिक्षण नेपालमा पनि एकछत्र रूपमा तीव्र बनाइँदै छ । विगतमा नेपाली समाजमा चलेका कम्युनिस्ट लगायतका राजनीति र वैचारिकीले ती गलत प्रशिक्षणको जसरी एकस्तरमा प्रतिरोध गर्दै आएका थिए, त्यो प्रतिरोधको वैचारिकी र माहोल आज गुणात्मक रूपमा शिथिल हुन पुगेको छ । महिला शरीरलाई माल (कमोडिटी) मा रूपान्तरण गर्ने सुन्दरी प्रतियोगिता नेपालमा भित्रिँदा त्यसको सशक्त प्रतिरोध वैचारिक र भौतिक दुवै रूपमा हुने गरेको थियो, जुन आज गायब भयो । नवीन पुस्ताका युवालाई त्यस्तो प्रतिरोधमा प्रतिरोधीहरूले रगतसमेत बनाउने गरेका थिए भनिदिने व्यक्तिको समेत अभाव सुरु भएको छ । यो एउटा सन्दर्भको उदाहरण मात्र हो ।

आम रूपमा समाजलाई पाइलैपिच्छे गलत प्रशिक्षणको सुरुङमा धकेलिँदै छ तर प्रतिरोध भने निम्छरो छ । यो विषयमा कुनै शंका छैन, हिजोका प्रगतिशील संगठनहरूको ठूलो हिस्सा जनविरोधी र पुँजीवादीकरण भएकैले यो दुर्भाग्य व्याप्त भएको हो । आज सत्तासीन व्यवस्थाको प्रशिक्षणमा निजी शिक्षा, निजी स्वास्थ्य, निजी कमाइ अनि निजी प्रगतिबाहेक केही छैन । जीवनमा सुधार यही व्यवस्थाभित्रैबाट खोज्नमात्र उसले प्रशिक्षण गरिरहेछ । स्वास्थ्य क्षेत्र सिंगै सामाजिक बनाएर होइन, बरु निजी कमाइलाई निजी बिमा कम्पनीमा बुझाउने सुधार गरेर उपचारको ग्यारेन्टी खोज्न आदेश गरिरहेछ । स्वास्थ्य क्षेत्रको विषय एउटा उदाहरणका निम्ति मात्र हो । आम प्रशिक्षणको दिशा नै यही छ । अर्थात्, आजको यो व्यवस्थाको विकल्प छैन, बढीमा यसैभित्रको सुधारमा उन्नत जीवन खोज । आज विश्व पुँजीवाद र नेपालको व्यवस्थाले गरेको प्रशिक्षणभन्दा हरेक क्षेत्रमा वैकल्पिक व्यवस्था र समाज के कल्पनाबाहिरको कुरा हो ? विश्वव्यापी निर्माण भइरहेको वैचारिकी र राजनीतिक–सामाजिक संगठित प्रयत्नहरूले त होइन भन्ने नै सहज निष्कर्ष सामुन्ने आउँछ । त्यसैले अहिलेको ठोस आवश्यकता भनेको गुणात्मक रूपमै वैकल्पिक चेतना, संगठन, आन्दोलन र व्यवस्था निर्माणको हो, यही व्यवस्थाभित्रै सुधारात्मक विकल्प–खोजलाई लक्ष्य बनाउनु कदापि होइन ।

स्वाभाविक रूपमा हरेक युग र सन्दर्भमा जस्तै आज पनि गुणात्मक रूपमा विकल्प निर्माणको यात्रा सजिलो हुनेछैन । सिंगै समाज निद्रा वा मूर्च्छनामा रहने हुनाले सबैभन्दा अघि रहेको चेतनायुक्त जमातले नै सबै जोखिम मोलेर अगाडि आउनुपर्ने हुन्छ । भोक, निद्रा, यौन, स्वाद र भौतिक आक्रमणका तमाम तृष्णा र जोखिमलाई खप्न र पाखा लगाउन तयार नभई जस्तोसुकै उन्नत बौद्धिकले पनि गुणात्मक विकल्प–यात्राका निम्ति आफूलाई तयार पार्न सक्तैन । भनिन्छ, समय र आवश्यकताले पात्र जन्माउँछ तर त्यो पात्रले सचेत प्रयत्न त फेरि गर्नैपर्छ । यस प्रक्रियामा होमिनेहरू सुरुमा थोरै संख्यामा हुनु स्वाभाविक छ । ती अग्रचेतनाका थोरै मानिस पनि विचारमा एकै ठाउँमा हुँदैनन्, फरकफरक बाटो उनीहरूलाई सही लाग्छ । त्यस्तो लाग्नु अस्वाभाविक पनि होइन । कसैलाई ठीक विचारको अनुयायी हुनलाई जातले छेक्छ, कसलाई लिंगले रोक्ला । समाजका तमाम गलत ग्रन्थिले सही बाटोमा समाहित हुन थुप्रैलाई रोक्ने अवस्था पनि झेल्नैपर्छ ।

न्यायप्रेमीमध्ये पनि एउटा जमात यस्तो जन्मिन्छ जो सफलताको ग्यारेन्टी खोजेर हच्किन्छ, अर्को जमात पनि अनिवार्य रूपमै देखापर्छ जसले सम्पूर्ण रूपमा पूर्ण विकसित विचार र कार्यक्रम खोज्छ जुन कहिल्यै सम्भव हुँदैन । यसरी आम समाजमा वैकल्पिक यात्रा पुग्नुभन्दा पहिले नै अग्रचेतनामा रहेको हिस्साका यस्ता तमाम गलत प्रवृत्तिलाई छिचोल्ने साहस र कला वैकल्पिक यात्राका यात्रीले देखाउन सक्नैपर्छ, अर्को कुनै विकल्प कुनै युगमा भेटिएको उदाहरण पाइँदैन । नकारात्मक यथास्थितिको गुणात्मक विकल्प निर्माणको यात्रा एउटा दीर्घकालीन विद्रोह हो । विद्रोह तब नै सम्भव हुन्छ जब यथास्थितिप्रति घृणा हुन्छ । यथास्थितिको पुनरुत्पादनमय समाज व्यवस्था र आफ्नै जीवनको तरिकाप्रति जबसम्म घृणा उत्पन्न हुन्न तबसम्म मानिस विद्रोही बन्नै सक्तैन ।

गुणात्मक विकल्प निर्माणको यात्रामा जतिसुकै सही वैचारिक बाटो कथिए पनि अन्तिम परीक्षा भने आम समाजमा लगेपछि मात्रै हुने हो । त्यस वैचारिकीले आम समाजलाई साझा कार्यक्रमका लागि संगठित हुन प्रेरित गरेर मात्र पनि काम चल्नेवाला छैन, बरु वास्तविक परीक्षा त तब हुनेछ जब त्यस वैचारिक हतियार बोकेको समाजले प्रत्यक्ष सफलताका चरणहरू हात पार्न थाल्नेछ । संगठन र संघर्षमा कथिएको विचारले सफलता वा असफलता बेहोर्दै जाँदा अकल्पनीय ज्ञानहरू प्राप्त हुनेछन् र तिनले मात्रै यथार्थमा विचारलाई झन् व्यवहारसिद्ध बनाउँदै लाने हुन् । यस प्रकारको भीषण संघर्षका क्रममै फरकफरक भंगालामा क्रियाशील विद्रोहीहरू एउटै भंगालोमा एकीकृत हुँदै जाने अनिवार्य बाध्यात्मक उपक्रम चल्ने हो । यस्ता चरणहरू अनिवार्य रूपमा झेल्नैपर्ने हुनाले आज अग्रचेतनाका व्यक्तिहरू घमन्ड वा विद्वत्ताले फुल्नु जरुरी होइन, बरु आआफूलाई लागेको ठीक निष्कर्षलाई दृढतापूर्वक व्यवहारमा लागू गर्न थाल्नुचाहिँ मुख्य आवश्यकता हो । विद्रोही वैकल्पिक यात्रीहरूलाई लाग्छ, अग्रचेतनाका अरू पनि तुरुन्त अगाडि आऊन्, संगठित भैहालुन् । तर त्यस्तो पनि चाहेजस्तो भैहाल्दैन ।

समाजमा जतिसुकै सही संगठन बन्न पुगे पनि केही न केही मित्र–कित्ताकै मानिसहरू असंगठित नै रहनेछन्, जसका कारणहरू अनगिन्ती हुन सक्छन् । तर फेरि सही वैचारिकी, नीति र व्यवहार विकास हुँदै जाँदा आम रूपमा अग्रचेतनाको मात्र होइन, समाज नै संगठित भइछाड्छ भन्ने पनि इतिहाससिद्ध तथ्य हो । व्यावहारिक भाषामा भन्ने हो भने, विद्रोह त्यसैले सुरु गर्ने हो जसले आवश्यक ठान्छ । अरू आएपछि गर्ने पनि होइन, अरू नभए नगर्ने पनि होइन । धेरैले वा थोरैले गर्दा विद्रोहको आयाम सानो वा ठूलो हुने मात्र हो, गुणमा त फरक पर्ने होइन । कुनै पनि विद्रोह सम्पूर्ण सही कुरा पत्ता लागेर सुरु हुने होइन । जबसम्म गलतविरुद्ध विद्रोह सुरु गरिन्न, सही भविष्यको यथार्थवादी चित्र निर्माणको वास्तविक प्रक्रिया पनि सुरु हुन सक्तैन । तसर्थ नेपाली समाजलाई बदल्न गुणात्मक रूपमै वैकल्पिक यात्रामा समाहित हुन सबभन्दा पहिले म अगाडि आउँछु भन्ने संकल्प गर्नु आजको अग्रचेतनाका पुरानो वा नयाँ पुस्ताका हरेक सदस्यको मुख्य आवश्यकता हो, परिस्थिति वा अन्य कसैलाई दोष थुपारेर पेटी किनारामा टोलाइबस्नु कदापि होइन ।

(आइतबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करणबाट ।)

प्रकाशित : मंसिर १३, २०७७ २०:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×