रहेनन् म्याराडोना

रोयटर्स

ब्युनस आयर्स — त्यो गजबको संयोगमात्र थिएन, विश्वकप फुटबलको इतिहासमै अनौठो गोल थियो । जसका कारण उनलाई नयाँ नामले जिस्क्याइरह्यो । अर्जेन्टिनाले डिएगो म्याराडोनाको कप्तानीमा सन् १९८६ को विश्वकप जितेको थियो, त्यसको क्वाटरफाइनलमा इंग्ल्यान्डविरुद्ध गरेका दुई गोल निकै चर्चित रहे ।

रहेनन् म्याराडोना

हेडबाट गोल गर्ने क्रममा जब म्याराडोनाले हातले पहिलो गोल गरेका थिए, त्यसलाई ‘ह्यान्ड अफ गड’ भनेर अहिलेसम्म विश्व फुटबलको इतिहासमा अंकित गरिएको छ ।

मध्यभागबाट एक्लै बल अगाडि बढाउँदै उनले इंग्लिस खेलाडी र गोलरक्षक पिटर सिल्टनलाई छक्याउँदै दोस्रो गोल गरेका थिए, जुन विश्वकपकै उत्कृष्ट गोलमा गनिन्छ ।

तिनै फुटबलका हस्तीको बुधबार ६० वर्षको उमेरमा निधन भएको छ । अर्जेन्टिनी मध्यपंक्तिका आक्रामक खेलाडी म्याराडोनालाई विश्व फुटबलको सर्वकालीन महान् खेलाडी घोषित गरिएको छ । ब्युनस आयर्सस्थित आफ्नै घरमा उनलाई हृदयाघात भएको थियो । अघिल्लो महिना मात्र उनको मस्तिष्कमा जमेको रगत शल्यक्रिया गरेर हटाइएको थियो । त्यस क्रममा उनलाई दुई साता अस्पताल राखियो । दुर्व्यसनका कारण उनी पटकपटक रोगसँग जुध्दै आएका थिए ।

विश्व फुटबल महासंघले सन् २००० मा म्याराडोना र ब्राजिलका पेलेलाई शताब्दीका उत्कृष्ट फुटबलरका रूपमा पुरस्कृत गरेको थियो । म्याराडोनाले स्वदेशमा बोका जुनियर्स हुँदै युरोपमा बार्सिलोना, सेभिया र नेपोलीबाट क्लब फुटबल खेलेका थिए । उनले नेपोलीलाई दुई पटक इटालियन सिरी ‘ए’ को उपाधि दिलाए ।

राष्ट्रिय टोलीबाट ९१ खेलमा ३४ गोल गरेका म्याराडोनाले चार विश्वकप खेले । उनकै कप्तानीमा अर्जेन्टिना १९९० को विश्वकपको फाइनल पुगेको थियो, तर तत्कालीन पश्चिम जर्मनीसँग पराजित भयो । अमेरिकामा सन् १९९४ मा भएको विश्वकपमा म्याराडोना डोपिङ टेस्टमा असफल भएपछि घर फर्किएका थिए ।

उनको लागूऔषध सेवनको लत निरन्तर जस्तै रह्यो । सन् १९९१ मा कोकिन सेवन गरेको पाइएपछि उनीमाथि १५ महिनाको प्रतिबन्ध लगाइएको थियो । म्याराडोनाले सन् १९९७ मा व्यावसायिक लिग फुटबल टुंग्याएका थिए, जुन दिन उनी आफ्नो ३७ औं जन्मदिन मनाइरहेका थिए ।

उनी २००८ मा अर्जेन्टिनी राष्ट्रिय टोलीको प्रशिक्षक भएका थिए । दक्षिण अफ्रिकामा २०१० मा भएको विश्वकप फुटबलमा जर्मनीसँग क्वाटरफाइनलमा ४–० ले पराजित भएपछि उनलाई उक्त जिम्मेवारीबाट हटाइएको थियो । त्यसयता उनले यूएई र मेक्सिकोका क्लबले प्रशिक्षक बनाएका थिए । अर्जेन्टिनी फुटबल संघले म्याराडोनाको निधनमा गहिरो दुःख प्रकट गर्दै उनी आफूहरूको हृदयमा रहिरहने जनाएको छ ।

प्रकाशित : मंसिर १०, २०७७ २३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?