स्पर्स समर्थकको मन जित्दै मोउरिन्हो

कम्तीमा यति त मान्नैपर्छ, जोसे मोउरिन्होले टोटेनहम समर्थकलाई आफ्नो पक्षमा पारेका छन् । म्यानचेस्टरमा छँदा उनले जे जस्तो भूल गरे, त्यसलाई टोटेनहममा आएर दोहोर्‍याएका छैनन् ।
बीबीसी

लन्डन — ‘एउटा नरमाइलो समाचारपछि अर्को खराब समाचार ।’ अनि ‘गलत दिशातर्फ उठाइएको कदम ।’ जतिबेला सन् २०१९ को नोभेम्बर २० मा टोटेनहमले माउरिसियो पोचेटिनोलाई बर्खास्त गर्‍यो र उनको स्थानमा व्यवस्थापक जोसे मोउरिन्होलाई नियुक्त गर्‍यो ।

स्पर्स समर्थकको मन जित्दै मोउरिन्हो

स्पर्स समर्थकबाट यस्तै यस्तै प्रतिक्रिया आए । जहाँ पोचेटिनो आक्रामक र प्रगतिशील व्यवस्थापक थिए, त्यहीं मोउरिन्हो रक्षात्मक र पुरातन खाले थिए । पोचेटिनोले झन्डै–झन्डै टोटेनहमलाई घरेलु र युरोपमा सफलतासम्म पुर्‍याएका थिए । मोउरिन्हो भने ‘पार्क द बस’ सोचका थिए, जसलाई त्यसको केही समयअगाडि मात्र म्यानचेस्टर युनाइटेडले बर्खास्त गरेको थियो । त्यसको एक वर्षपछि अहिले टोटेनहम इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा छ र मोउरिन्होको नेतृत्वमा टिमले सकारात्मक खेलिरहेको छ ।

शनिबारमात्र यो सिजनको सबैभन्दा उत्कृष्ट र वजनदार नतिजाका रूपमा टोटेनहमले घरमा म्यानचेस्टर सिटीलाई २–० ले हरायो । सिटी अर्थात् गत सिजनको लिग उपविजेता । र, सबैलाई लागिरहेको छ, अब त स्पर्स समर्थकले पनि मोउरिन्होलाई माया गर्न थालेका छन् । भनौं, के तिनले यी पोर्चुगाली प्रशिक्षकलाई समर्थन गर्न थालेका हुन् त ?

यसको उत्तर खोज्नु अगाडि फेरि एकपल्ट पुरानै दिनमा फर्कनुपर्ने हुन्छ । सुरुमै लेखिए जस्तै । मोउरिन्होको नियुक्तिलाई लिएर अधिकांश प्रतिक्रिया नकारात्मक नै थिए, अझ केही त चर्को रूपमै आलोचनात्मक थियो । केहीलाई एक प्रकारको डर थियो, कतै उनले नकारात्मक फुटबल खेलाउने त होइन ? अनि खेलाडीसँग उनको सम्बन्ध ब्रिग्रिने त होइन ?

एकदमै समृद्ध इतिहास भए पनि, जतिसुकै सफलता हात पारे पनि पछिल्लो समय मोउरिन्होको प्रदर्शन एकनासको छैन । त्यसमाथि उनले जुन क्लब सम्हालेर नाम कमाएका थिए, त्यो टोटेनहमको छिमेकी शत्रु हो । त्यो भनेको चेल्सी । जतिबेला उनलाई टोटेनहमले व्यवस्थापकका रूपमा प्रस्तुत गरेको थियो, उनले आफूलाई पाठ सिकेका व्यक्तिका रूपमा प्रस्तुत गर्न चाहे । त्यही बेला केही समर्थकले यतिसम्म भने, ‘यो त कोही दैत्यसँग गरिएको सम्झौता जस्तै रह्यो ।’ केहीले यस्तो पनि भने, ‘टोटेनहमले त आफ्नो आत्मा नै बेच्यो ।’

जतिबेला पोचेटिनो बर्खास्तगीमा परेका थिए, त्यतिबेला टोटेनहमले ५ खेलमा कुनै जित निकाल्न सकेको थिएन, अंकतालिकाको १४औं स्थानमा थियो । टोली शीर्षस्थानमा रहेको लिभरपुलसँग २० अंकले पछाडि थियो ।

त्यो पनि १२ चरणको खेल सकिँदा मात्र । मोउरिन्हो आएयता पनि टिमको प्रदर्शन एकनासे रहेन, तर लिग सकिँदा छैटौं स्थानमा रह्यो । लकडाउनपछि लगातार ६ खेलमा अपराजित रहेपछि यो सुधारिएको स्थान हात परेको हो । अहिले त्यसको तुलनामा प्रदर्शन निकै राम्रो छ, ९ खेलमध्ये ६ मा जित अनि त्यसमाथि २१ गोल । अझ टिमको प्रदर्शन झनै उत्कृष्ट ।

शनिबारको खेलमा मोउरिन्होले उत्कृष्ट व्यवस्थापनको नमुना नै पेस गरे । एकातर्फ टोटेनहमको रक्षापंक्ति सुदृढ देखियो र सिटीलाई आक्रमणको बिरलै मौका दियो, त्यही त्यहीं आफ्नै आक्रमण भने उम्दा रह्यो । ठीक समयमा टोटेनहमले ‘काउन्टर’ आक्रमण मात्र बुनेन, टिमको प्रदर्शन आफैंमा तीव्र गतिको थियो । बिस्तारै मसिनो स्वरमा दाबी सुरु भयो, टोटेनहमले लिग जित्न बेर छैन ।

अहिले समर्थकको प्रतिक्रिया यस्तो छ– ‘हामी शतप्रतिशत गलत रह्यौं मोउरिन्होलाई लिएर ।’ ‘अहिले हामीले फरक टोटेनहम देखिरहेका छौं ।’ अनि ‘मोउरिन्हो जत्तिका प्रशिक्षक अरू कोही पनि छैनन् ।’ कम्तीमा यत्ति त मान्नैपर्छ, मोउरिन्होले टोटेनहम समर्थकलाई आफ्नो पक्षमा पारेका छन् । म्यानचेस्टरमा छँदा उनले जे जस्तो भुल गरे, त्यसलाई टोटेनहममा आएर दोहोर्‍याएका छैनन् । अहिले उनीमाथिको अविश्वास जड भत्किँदै छ ।

–बीबीसी


प्रकाशित : मंसिर ९, २०७७ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?