बद्रीलालले जिते जिरी ओपन

दोलखा — पूर्वराष्ट्रिय च्याम्पियन बद्रीलाल नेपालीले जिरीमा सम्पन्न जिरी ओपन फिडे रेटिङ चेसको उपाधि जितेका छन् । उनले अन्तिम चरणमा ललितपुरका हेराकाजी महर्जनलाई हराएर उपाधि जिते । 

बद्रीलालले जिते जिरी ओपन

यसअघि उनले छैटौं चरणमा आयोजक जिल्ला दोलखाका च्याम्पियन आशिष फुयाँलसँग बराबरी नतिजा निकालेका थिए । ७ खेलमा ६ जित र १ बराबरी खेल्दै बद्रीलालले साढे ६ अंक बटुले । उनले १० हजार रुपैयाँ पुरस्कार जिते ।

छैटौं चरणमा दोलखाका राजीव कार्कीमाथि जित निकालेका आशिष ६ अंकसाथ दोस्रो भए । समान ६ अंक बनाएका स्याङ्जाका युवराज पौडेललाई हेड टु हेडमा पछि पारेका आशिषले ५ हजार जिते । तेस्रो भएका युवराजले ३ हजार पाए ।

युवा सञ्जाल जिरीको आयोजना तथा जिरी नगरपालिकाको सहयोगमा सम्पन्न प्रतियोगितामा संयोजक रहेका केन्द्रज्योति खड्का साढे ४ अंकसाथ स्थानीयतर्फ विजेता भए । उनले ५ हजार प्राप्त गरे । ग्याल्जेन शेर्पा र धर्मानन्द दाहाल समान ४ अंकसाथ स्थानीयतर्फ दोस्रो र तेस्रो स्थानमा रहे ।

हेराकाजी भने भेट्रानतर्फ विजेता भए । रौतहटका रामचन्द्र दाहाल र दोलखाका बाबुराजा महर्जन दोस्रो र तेस्रो भए । अनरेटेडतर्फ दोलखाका विवेक कार्की प्रथम भए । महिलातर्फ दोलखाका उषा जिरेल र करुणा जिरेल पहिलो र दोस्रो स्थानमा रहे ।

स्वीस लिगअन्तर्गत ७ चरणमा सम्पन्न प्रतियोगितामा विभिन्न जिल्लाका ४२ खेलाडीले भाग लिएका थिए । कोभिड–१९ को महामारीपछि नेपालमा पहिलोपल्ट आयोजित फिडे रेटिङ प्रतियोगिताले उत्साहित बनाएको र आगामी दिनमा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न बाटो खुलेको जिरी नगरपालिकाका मेयर टंकबहादुर जिरेलले बताए ।

प्रकाशित : मंसिर ७, २०७७ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?