१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

चासो ‘एट्याकिङ थर्ड’ कै

यतिबेला नेपाली राष्ट्रिय फुटबल टिम गोलको खडेरीबाट गुज्रिइरहेको छ । नेपालले पछिल्ला ५ खेलमा एउटै गोल निकाल्न सकेको छैन । अझ सन् २०१९ यताका ११ खेल आधार मान्ने हो भने नेपालले ९ खेलमा गोल गरेको छैन । यसको स्पष्ट संकेत हो, नेपालको आक्रमण धारिलो छैन, यो समस्याको समाधान निकाल्नै पर्छ । अनि यसका लागि नयाँ युवा खेलाडीमै भर पर्नुपर्छ ।
हिमेश

काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टोलीको बंगलादेश भ्रमण कस्तो रह्यो त ? दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलको यो शृंखला यस्तो थियो, जसमा बंगलादेशले मैदानी जित त निकाल्यो । तर, भावनात्मक रूपमा नेपाल पनि पराजित रहेन । दुवै देशको फुटबलका लागि फेरि खेल्न पाउनु नै ठूलो थियो । कोरोना भाइरस संक्रमणको महामारीका कारण लामो समयदेखि न नेपालमा न त बंगलादेशमा खेल सम्भव थियो । खेल फर्काउन यो शृंखला राम्रो बहाना बन्यो ।

चासो ‘एट्याकिङ थर्ड’ कै

नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनका लागि भने यो सर्वथा नयाँ अनुभव रह्यो । यसअघि दुई अवसरमा नेपाली राष्ट्रिय टिम सम्हालिसकेका महर्जन मान्छन्, यसपल्टको बंगलादेश भ्रमणमा खेल्न पाउनुको खुसी आफ्नो ठाउँमा त थियो । तर केही कमीकमजोरी पनि उत्तिकै रहे । टिमले अझ राम्रो खेल्न सक्नुपर्ने सम्भावना उत्तिकै थियो, यदि तयारी लामो समय पाएको भए । सबै खेलाडी उपलब्ध भएको भए पनि त्यो सम्भावना देखिएन ।

शृंखलाका क्रममा नेपाल पहिलो खेलमा २–० ले पराजित भयो भने दोस्रो खेल गोलरहित बराबरीमा टुंगिएको थियो । काठमाडौं फर्केयता उनले टिमको प्रदर्शनबारे विश्लेषण गरिरहेका छन् । मान्छन्, ढाकामा उनले केही सिनियर खेलाडीबाट जति आस गरेका थिए, त्यो पूरा भएन । टिमको प्रदर्शन एक प्रकारले तिनै सिनियर खेलाडीमा निर्भर थियो, तर उनीहरूको प्रदर्शन अपेक्षाअनुसार रहेन । विशेषतः नेपालको अग्रपंक्ति चुकेकै देखियो ।

बंगबन्धु रंगशालामा भएका दुई खेलपछि टिम व्यवस्थापनले अनुभव गरेको छ, भरत खवास र नवयुग श्रेष्ठ त्यस्ता खेलाडी रहेनन्, जो पहिले थिए । भन्नैपर्छ, तिनले गरेको मिहिनेत पुगेन । जर्जप्रिन्स कार्कीले खासै केही गर्न सकेनन्, उनले त पर्याप्त समय पनि पाएनन् । यसको अर्थ हो, नेपालले फेरि गोलमा लय समात्ने हो भने केही फरक गर्नैपर्छ, नयाँ खेलाडीमा भरपर्नै पर्छ । पछिल्लो समय नेपालका लागि राम्रा विकल्प बनेका थिए, अभिषेक रिजाल ।

तर, उनी ढाका जान पाएनन् । एकै साता भए पनि काठमाडौंमा गर्न पाएको अभ्यासमा सबैभन्दा प्रभावशाली प्रदर्शन उनकै थियो । उनले त्यस्तो लक्षण देखाएका छन्, जसमा राम्रो फुटबल खेलाडी बन्ने ‘जुनुन’ र ‘क्षमता’ दुवै छ । सम्भवतः प्रशिक्षक महर्जनका लागि विमल घर्तीमगर विकल्प हुन सक्थे र सक्छन्, यदि उनी फेरि फुटबलप्रति गम्भीर भएर मैदानमा फर्कने हो भने । कम्तीमा फेरि राष्ट्रिय टिमले अभ्यास सुरु गर्दा विमललाई यत्तिको मौका दिनैपर्छ ।

यो सबै चर्चा अहिले नै किनभन्दा यतिबेला नेपाली राष्ट्रिय फुटबल टोली गोलको खडेरीबाट गुज्रिइरहेको छ । त्यसैले त ढाकामा भएका दुवै खेलमा गोल निस्केन । अझ नेपालले पछिल्ला ५ खेलमा एउटै गोल निकाल्न सकेको छैन । सन् २०१९ यताका ११ खेल आधार मान्ने हो भने तथ्यांक अझ कहालीलाग्दो छ, नेपालले त्यसमध्ये ९ खेलमा गोल गरेको छैन । यसको स्पष्ट संकेत हो, नेपालको आक्रमण धारिलो छैन, यो समस्याको समाधान निकाल्नैपर्छ ।

‘राष्ट्रिय टिमलाई साँच्चै बलियो बनाउने हो भने एउटै भूमिकामा खेल्न सक्ने चार खेलाडीको विकल्प उपलब्ध हुनुपर्छ ।’

प्रशिक्षक बालगोपाल महर्जन । फाइल तस्बिर

टिम प्रशिक्षणमा निरन्तरता

फेरि यसको चर्चा अहिले नै किनभन्दा राष्ट्रिय टोलीको तयारीले निरन्तरता पाउन लागेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरका अनुसार ढाकाबाट फर्केका खेलाडीलाई केही दिन आराम दिइनेछ । त्यसपछि फेरि एक चरण कोभिड–१९ को परीक्षण गरिनेछ अनि सुरु हुनेछ राष्ट्रिय टिमको तयारी । एन्फाले योहान कालिन तत्कालै नेपाल फर्कन सक्ने अवस्था नरहेको हुनाले टिमको जिम्मा महर्जनलाई नै दिने निर्णय लगभग गरिसकेको छ ।

अपेक्षाअनुसार यो साँचो भयो भने प्रशिक्षक महर्जनका आफ्ना केही योजना छन् । ढाका जानु अगाडि उनलाई एक प्रकारले यही टिम हो, यसलाई नै व्यवस्थापन गर्नु भनेर जिम्मा दिइएको थियो । तर, अब उनी कम्तीमा सुरुआतमा धेरै खेलाडीलाई प्रशिक्षणका लागि बोलाउन चाहन्छन् । उनी भन्छन्, ‘राष्ट्रिय टिमलाई साँच्चै बलियो बनाउने हो भने एउटै भूमिकामा खेल्न सक्ने चार खेलाडीको विकल्प उपलब्ध हुनुपर्छ ।’ उनको स्पष्ट संकेत के हो, अब फेरि एकपल्ट राष्ट्रिय टिम ‘पुस्ता हस्तान्तरण’बाट गुज्रिँदैछ ।

नयाँ खेलाडीलाई विश्वास गरेर तिनलाई नै तिखार्नुपर्ने धारणा राख्छन् उनी । त्यसैले त उनले ढाकामा ६ खेलाडीलाई ‘डेब्यू’ अवसर दिए । उनी भन्छन्, ‘हामीले ढाकामा ६ नयाँ खेलाडीलाई अवसर दियौं, अझै केही युवा खेलाडी हामीसँग उपलब्ध छ । त्यसमाथि केही सिनियर खेलाडी हामीसँग नभएको होइन, त्यसमध्ये केही ढाका जान पाएनन् । त्यसमध्ये अबका खेलमा सबै उपलब्ध हुने हो भने राष्ट्रिय टिमको प्रदर्शन फेरि राम्रो हुने विश्वास छ, प्रशिक्षक महर्जनको ।

एन्फा महासचिव इन्द्रमान तुलाधरका अनुसार अबको केही महिना दिनमा नेपालले केही चरणका मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्नेछ । यसका लागि कुराकानी चलिरहेको छ, विशेषतः पाकिस्तान काठमाडौं आउन इच्छुक छ । नेपालले आफ्नो घरेलु मैदानमा खेल्न बाँकी विश्वकपका छनोट खेल त छँदै छ । त्यसैका लागि त हो नेपालले अहिल्यैदेखि नै तयारी सुरु गर्न लागेको । त्यो अर्थमा अबका केही दिन कम्तीमा नेपाली राष्ट्रिय टिमका सदस्य व्यस्तजस्तै रहने छन् ।

चिन्ता गोल खडेरीकै

अहिले राष्ट्रिय टिम फेरि गोल खडेरीबाट गुज्रिइरहेको छ । नेपाली टिम यसको सिकार भएको अहिलेमात्र होइन, पहिलेदेखि नै हो । अझ भनौं, नेपालले आफ्नो अग्रपंक्ति तिखार्न लामो समयदेखि असफल रहँदै आएको छ । सन् १९८४/८५ तिर नेपालले लगातार ९ खेलमा गोल गर्न सकेको थिएन । सन् १९८७/८९ तिर त नेपालले अझ लगातार १३ खेलमा गोल गरेको थिएन । त्यस्तै २०१३/१५ तिर पनि नेपालले ११ खेलमा गोल गरेको थिएन ।

त्यो खास समयमा गोल निस्कन नसक्नुको कारण त सबैलाई थाहै छ । केही खेलाडीलाई जित्नुमा भन्दा हार्नुमा बढी रूचि थियो, नतिजा मैदानबाहिर नै तय भइरहेको थियो । कम्तीमा अहिले त त्यस्तो स्थिति छैन । ५–६ खेलमा नेपालले पटक्कै गोल गर्न नसकेको उदाहरण अझै एकाध नभएका होइनन् । यसबाट बच्ने के उपाय छ त ? यो प्रश्न प्रशिक्षक महर्जनलाई सोध्दा उनी यसको समाधान रहेको मान्छन् । फेरि यो लगातार प्रशिक्षक र अभ्यासबाहेक अरू हुँदै होइन ।

यसका लागि सबैभन्दा पहिले साँच्चै लामै समयको तयारी चाहियो । अनि टिमको अभ्यास अत्यधिक मात्रमा ‘एट्याकिङ थर्ड’ मा केन्द्रित हुनुपर्‍यो । प्रशिक्षक महर्जनले खेलाडीका रूपमा दक्षिण एसियाली खेलकुदमा एक स्वर्ण र एक रजत जितेका छन् । यसको तुलनामा उनको प्रशिक्षण खेलजीवन बढी सफल देखिन्छ । उनकै नेतृत्वमा राष्ट्रिय टिमले बंगबन्धु गोल्डकप त जित्यो नै, यू–२३ टिमले साफ च्याम्पियनसिप पनि जित्यो । अझ नेपालले यू–१९ साफ च्याम्पियनसिप जित्दा पनि प्रशिक्षक उनी नै थिए ।

उनी नेपाली फुटबलका एक सर्वाधिक सफल प्रशिक्षक हुन् । तथ्यांकले यही भन्छ । उनी भन्छन्, ‘बंगबन्धु गोल्डकप र एक वर्ष अगाडिको दक्षिण एसियाली खेलकुदमा पनि हामीले लगातार गोल निकालेका थियौं । यो किन सम्भव भयो भन्दा हामीले यी दुवै प्रतियोगिताका लागि भनेर एट्याकिङ थर्डमा केन्द्रित रहेर पर्याप्त अभ्यास गरेका थियौं । यी दुवै प्रतियोगितामा नेपालले गोल मात्र गरेन, पहिले गोल खाएर पछाडि परेको स्थितिबाट खेलमा फर्कन सफल रह्यौं र खेल जित्यौं ।’

एट्याकिङ थर्ड अर्थात टिमको अग्रपंक्ति । विपक्षी टिमको आधा भागमा गएर खेल्ने खेलाडी । ‘फेरि गोलको क्रम निकाल्ने हो भने हामीले अग्रपंक्तिमा खेल्ने खेलाडीलाई ध्यानमा राखेर विशेष अभ्याससत्र राख्न सक्छौं । ती खेलाडीलाई गोल गर्नमै केन्द्रित राखेर अभ्यास र प्रशिक्षण गराउन सक्छौं ।’ त्यसको अर्थ के हो भने अब उनले राष्ट्रिय टिमको अभ्यास सुरु गर्दा त्यसैमा बढी ध्यान केन्द्रित गर्नेछन् । फेरि टिमलाई चाहिएको पनि यही त हो ।

प्रकाशित : मंसिर ६, २०७७ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?