कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

नेपालगन्ज म्याराथनको तयारी 

मधु शाही

नेपालगन्ज — खेलको उद्देश्य प्रतियोगिता गर्नु मात्रै नभई स्थानीय क्षेत्रमा पर्यटनमा टेवा दिने, समुदायमा खेलप्रति सक्दो उत्साह जगाउने र खेलकुदको प्रवर्द्धन गराउनु पनि हो ।

नेपालगन्ज म्याराथनको तयारी 

नेपालगन्ज म्याराथनले ५ वर्षअघि जतिसक्दो धेरै सहभागी गराएर म्याराथन प्रतियोगिता गराउने गर्थ्यो । परिस्थितिले अहिले ठीक उल्टो छ । यद्यपि यस प्रतियोगीताको महत्त्व विगतभन्दा बढी छ ।

यसै प्रतियोगितामार्फत अर्को वर्ष जापानमा हुने टोकियो ओलम्पिकका लागि खेलाडी छनोट गरिने छ । मंसिर ६ गते शनिबार हुने छैटौं नेपालगन्ज म्याराथनको तयारी पूरा भइसकेको आयोजक क्रिएटिभ ह्यान्ड्सले जनाएको छ । कोभिड–१९ का कारण विगतमा जस्तो धेरैभन्दा धेरै सहभागिता गराएर म्याराथन गर्ने अवस्था छैन । ‘हामी सक्दो भीड कम गरेर प्रतियोगिता गर्दै छौं,’ आयोजक प्रमुख टीएस ठकुरीले भने, ‘यो हाम्रो बाध्यता हो ।’

विगत वर्षका म्याराथनमा सांस्कृतिक कार्यक्रम, व्यापक प्रचारप्रसार र स्थानीय स्तरमा खेलको उत्साह बढाउने उद्देश्य हुन्थ्यो । यो वर्ष भीड कम गर्नकै लागि आयोजकले रचनात्मक कार्यक्रम, छात्रछात्रा दौड, ह्विलचियर दौडजस्ता इभेन्ट हटाएको छ । लामो समयदेखि खेल्न नपाएर निराश बनेका खेलाडीमा उत्साह थप्न र आयोजकले संकटमा पनि कार्यक्रम गर्न सकिन्न भन्ने सन्देश दिन म्याराथनलाई निरन्तरता दिएको ठकुरीले बताए ।

‘महत्त्वपूर्ण खेलाडी नछुटाउने गरी प्रचार गरेका छौं,’ उनले भने, ‘जतिले थाहा पाएर आएका छन्, नपाएकालाई जोड दिएका छैनौं ।’ उनका अनुसार प्रतियोगितामा पूर्वदेखि पश्चिमसम्मका उत्कृष्ट खेलाडीले नाम दर्ता गरिसकेका छन् । यसपालि पुरुष खुला म्याराथन, महिला हाफ म्याराथन र ३ किलोमिटरको कर्पोरेट रन मात्रै समावेश गरिएको छ ।

पुरुष म्याराथनमा १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णविजेता किरणसिंह बोगटी, गत वर्षका विजेता नवराज साउद, सागकै ५ हजार मिटर दौडका स्वर्णविजेता गोपीचन्द्र पार्कीलगायत २० भन्दा बढी राष्ट्रिय धावकले प्रतिस्पर्धा गर्दैछन् । महिलातर्फ १० भन्दा बढी खेलाडीले भाग लिने छन् । नेपालगन्जको वीपी चोकदेखि सुरु भएर कोहलपुर चौराहा अगाडि पुगेर पुनः सोही ठाउँमा पुगेर दौड सकिनेछ ।

विजेताले ७५ हजार, दोस्रोले ३० हजार, तेस्रोले २० हजार रुपैयाँ पुरस्कार जित्ने छन् । चौथोले १०, पाँचौंले ८, छैटौंले ७, सातौंले ६ र आठौंले ५ हजार रुपैयाँ पाउने छन् । गत वर्षको तुलनामा विजेताले २० हजार बढी पाउने छन् ।

महिला हाफ म्याराथन विजेताले ३० हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार रुपैयाँ जित्ने छन् । नेपालगन्ज म्याराथनको पहिलो संस्करण नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रो सेनाकै कृष्ण बस्नेत, तेस्रो जुम्लाका दुर्गा बुढा, चौथो संस्करण नेपाल पुलिस क्लबका भूमिराज राई र पाँचौं संस्करण सेनाका नवराज साउदले जितेका थिए । महिला हाफ म्याराथनको उपाधि दुईपल्ट कान्छीमाया कोजु र गत वर्ष सेनाकी पूर्णलक्ष्मी न्यौपानेले उपाधि जितेका थिए ।

प्रकाशित : मंसिर ५, २०७७ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?