मेसी भन्छन्, ‘आरोपले म थाकें’- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेसी भन्छन्, ‘आरोपले म थाकें’

रोयटर्स

बार्सिलोना — लियोनल मेसीले बार्सिलोनाका प्रत्येक समस्यामा आफूलाई नै दोषी देखाइने भन्दै त्यसबाट आफू थाकेको बिहीबार बताएका छन् । एन्टोन ग्रिजमनका पूर्वएजेन्टले मेसीकै कारण फ्रान्सेली स्ट्राइकरले बार्सिलोनाका लागि ला लिगामा राम्रो खेल्न नसकेको आरोप लगाएका थिए ।

एरिक ओल्ह्याट्सले मेसीले बार्सिलोनामा चाहिने भन्दा बढी नियन्त्रण गरेको बताएका थिए । उनले मेसीको यो ‘आतंक’ कै कारण ग्रिजमनले गत वर्ष क्लबका आएयता सोचेजस्तो प्रदर्शन गर्न नसकेको आरोप लगाएका थिए । विश्वकप छनोटमा अर्जेन्टिनाका लागि खेलेयता मेसी बार्सिलोना आइपुगेका हुन् । विमानस्थलबाट बाहिर पुगेलगत्तै उनलाई स्पेनी मिडियाले घेरेका थिए। त्यसै क्रममा उनले भने, ‘सत्य बोल्ने हो भने म थाकिसकें, किनभने बार्सिलोनाका प्रत्येक असफलतामा मेरै कारण देखाइन्छ ।’

मेसीले थप भने, ‘अहिले म १५ घण्टा उडानमा बिताएर थाकेर आइरहेको छु, स्पेनी कर अधिकृतहरू पनि मलाई नै पर्सिरहेका छन्, यो त पागलपनको हद नै हो ।’ बार्सिलोनासँग अनुबन्धको एक वर्ष बाँकी छँदा मेसीले विना कुनै मूल्य क्लब छाड्ने बुँदा उपयोग गर्न खोजेका थिए तर त्यसमा सफल भएनन् । आफ्नो क्लबविरुद्ध कानुनी लडाइँ लड्न उनी अनिच्छुक रहेका थिए ।

युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्न म्युनिखबाट ८–२ ले पराजित भएयता बार्सिलोना एकपछि अर्को समस्याबाट गुज्रिरहेको छ । गत महिना मात्र अविश्वासको प्रस्ताव सामना गर्नुअगाडि नै क्लब अध्यक्ष जोसेप मारिया बारटोमेउले राजीनामा दिएका थिए । पछिल्लो समय मेसी आफैं स्पेनी कर अधिकृतहरूको लगातार सोधपुछमा फसेका छन् ।

सन् २०१६ मा मेसीलाई २१ महिनाको जेल सजाय सुनाइएको थियो । यस क्रममा उनलाई २० लाख युरो जरिवाना पनि तिराइएको थियो । उनीमाथि छवि अधिकारबाट कमाएको ४२ लाख युरो स्पेनी सरकार सक्षम लुकाएको अरोप लगाइएको थियो । मेसीले २ लाख ५० हजार युरो तिरेपछि उनलाई जेल भने जान परेन । स्पेनी कानुनमा कुनै पूर्व दोष नभए दुई वर्षसम्मको जेल सजाय बाहिर निगरानीमा बिताउन पाउने नियम छ ।

प्रकाशित : मंसिर ५, २०७७ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्

एउटै स्कुलका ३२ विद्यार्थी कोरोना संक्रमित

छपाल लामा

हुम्ला — नाम्खा गाउँपालिकाको यालबाङस्थित महाबौद्ध माध्यमिक विद्यालयका विद्यार्थीमा कोरोना संक्रमण फैलिएको पुष्टि भएपछि जिल्लाभरका शैक्षिक संस्था बन्द गरिएका छन् । स्वाब परीक्षण गर्दा विद्यालयको छात्रावासमा बस्ने ३२ जना विद्यार्थीमा मंगलबार कोरोना पुष्टि भएको हो ।

विद्यालयका निमित्त प्रधानाध्यापक लक्ष्मण थापाका अनुसार छात्रावासमा रहेका करिब एक सय जना विद्यार्थीको स्वाब परीक्षण गरिएको थियो । रिपोर्ट नेगेटिभ आएका अन्य विद्यार्थीलाई घर पठाइएको छ भने संक्रमितलाई छात्रावासकै आइसोलेसनमा राखिएको उनले बताए ।

‘अहिलेसम्म कसैलाई पनि गाह्रो हुने गरी लक्षण देखिएको छैन,’ उनले भने, ‘कोरोना देखिएकालाई तातोपानी खुवाएर राखिरहेका छौं ।’ संक्रमित छात्रछात्रा १२ देखि १८ वर्षसम्मका छन् । जिल्लाको एकमात्र आवासीय विद्यालय महाबौद्धमा चालु शैक्षिक सत्रमा ३ सय ४ जना विद्यार्थी भर्ना भएका छन् । यालबाङबाहिरका गाउँ र अन्य स्थानीय तहका विद्यार्थीसमेत महाबौद्धमा अध्ययनका लागि जाने गर्छन् ।

करिब दुई महिनाअघि महाबौद्धले बाहिरबाट आएका विद्यार्थी र शिक्षकको पीसीआर परीक्षण गरी पठनपाठन सुरु गरेको थियो । कक्षाकोठामा मास्क अनिवार्य गरिएको थियो । तर, अहिले छात्रावासमै कोरोना संक्रमण देखिएपछि पठनपाठन बन्द गर्नुपरेको निमित्त प्रअ थापाले बताए । ‘हामीले उच्च सावधानी अपनाएर पढाइ सुरु गरेका थियौं, तर संक्रमण भित्रिएपछि गाह्रो भयो,’ उनले भने, ‘अब केही समय विद्यालय बन्द गरेर संक्रमण नियन्त्रणमा आउने समय पर्खन्छौं ।’

कोरोना संक्रमण बढे पनि महाबौद्धमा १२ कक्षाको परीक्षा नरोकिने निमित्त प्रअ थापाको भनाइ छ । मंगलबार सुरु हुने परीक्षामा १२ जना परीक्षार्थी छन् । ती विद्यार्थीका साथै परीक्षा केन्द्रका कर्मचारीको पीसीआर परीक्षण गरी उच्च सावधानी अपनाइने केन्द्राध्यक्षसमेत रहेका थापाले जानकारी दिए । कक्षा ११ को परीक्षा भने सोमबार सकिएको छ जसमा ६ जना परीक्षार्थी थिए । नाम्खामा महाबौद्धका विद्यार्थीका साथै स्थानीय कोमजोम गुम्बाका २२ जना भिक्षु र अन्य २ जना गरी ५६ जनामा कोरोना संक्रमण देखिएको छ ।

जिल्ला संकट व्यवस्थापन केन्द्रले बिहीबारदेखि जिल्लाभरिका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । लामो समयको लकडाउनपछि हुम्लाका महाबौद्ध र लिमीका दुइटाबाहेक अन्य विद्यालय कात्तिक दोस्रो साताबाट खुलेका थिए । अत्यधिक चिसो हुने यहाँ फागुनमा शैक्षिक सत्र सुरु भएर कात्तिकमा अन्तिम परीक्षा हुने गर्छ । यसपटक कोरोनाको कारण दसैंलगत्तै विद्यालय खुलेका थिए । कोरोना संक्रमण फैलिएपछि सबै विद्यालय बन्द गर्नुपरेको प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीले बताए ।

संकट व्यवस्थापन केन्द्रले बाहिरबाट आउनेलाई जिल्ला प्रवेशमा पनि रोक लगाएको छ । ‘सबै स्थानीय तहसँग समन्वय गरेर स्वाब संकलन र परीक्षणको व्यवस्था मिलाउन जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशन दिएका छौं,’ प्रजिअ गिरीले भने, ‘सातवटै पालिकामा कन्ट्याक्ट ट्रेसिङ पनि बढाइएको छ ।’ लक्षणसहितका संक्रमितलाई बाहिरका अस्पतालमा पठाउन प्रदेश सरकारसँग हेलिकप्टर माग गरिएको उनले बताए ।

केन्द्रले जिल्ला अस्पतालका थप भेन्टिलेटर माग गर्ने, सिमकोट गाउँपालिकाले जिल्लास्तरीय क्वारेन्टाइन व्यवस्था गर्ने, प्रत्येक गाउँपालिकामा ५ शय्याको आइसोलेसन र १५ शय्याको क्वारेन्टाइन बनाउने निर्णय गरेको छ ।

प्रकाशित : मंसिर ५, २०७७ ०७:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×