दुर्गम गाउँमा फुटबल मैदान

प्रताप विष्ट

मकवानपुर — मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिकाको दुर्गम क्षेत्रका बासिन्दाले फुटबल मैदान बनाएका छन् । खोला बगेको स्थानलाई पुरेर फुटबल मैदान बनाइएको हो । 

दुर्गम गाउँमा फुटबल मैदान

थाहा नगरपालिका–११ टिस्टुङस्थित तारा खोलालाई साँघुर्‍याएर फुटबल मैदान बनाएको छ । त्रिभुवन राजपथको टिस्टुङ देउरालीवाट साढे तीन किलोमिटरभित्र गज्जबको फुटबल मैदान बनेको छ । मैदान बनाउन करिब ३० लाख रुपैयाँ लागत खर्च भएको जनाइएको छ ।

मैदान बनाउन थाहा नगरपालिका र वडा कार्यालयले २५ लाख रुपैयाँ उपलब्ध गराएको थियो । स्थानीयवासीले ५ लाखबराबरको श्रमदान गरेका थिए । ‘करिब ३० लाखको लागतमा फुटबल मैदान बनाइयो,’ वडाध्यक्ष किरणवल लामाले भने, ‘खेर गएको जमिन उपयोगमा पनि ल्याइयो, युवालाई फुटबल खेलतर्फ आकर्षित गर्ने काम हुने भयो ।’

गाउँमा मैदान बनेकाले युवाहरूले फुर्सदको समयमा फुटबल खेल्ने गरेका छन् । उक्त मैदानमा फुटबल प्रतियोगिता भइसकेको छ। अहिले उक्त मैदानमा प्रथम अष्टमान बल स्मृति फुटबल प्रतियोगिता भइरहेको छ । प्रतियोगितामा थाहा नगरपालिकाका टिममात्र होइन, छिमेकी धादिङ जिल्लाको टिमहरू पनि सहभागी रहेका छन् । प्रतियोगितामा १७ टिमले भाग लिएका छन् ।

खुकुरी फुटबल मैदान नाम राखिएकाले बनाइएको खुकुरीको प्रतीक चिह्न । तस्बिर : प्रताप/कान्तिपुर

उक्त मैदानको नाम ‘खुकुरी फुटबल ग्राउन्ड’ राखिएको छ । मैदानको प्रवेशद्वारमै ढुंगाको करिब ५ फिट उचाइको खुकुरीको प्रतीक चिह्न राखिएको छ । त्यसलाई स्थानीय कालिगडले बनाएका हुन् । स्थानीय खोलाको लाम्चो आकारको ढुंगालाई कालिगडले ताछेर र खोपेर सानदारको खुकुरी बनाएका छन् । खुकुरीको आकृति निर्माण गर्न ५ लाख रुपैयाँ खर्च भएको वडाध्यक्ष लामाले बताए । ‘यही खुकुरीको नामबाट मैदानको नाम राखिएको हो,’ उनले भने ।

मैदानको चारैतिर भिरालो सा–साना सुर्का भएको जमिन रहेको छ । त्यही सुर्कामा बसेर दर्शकले फुटबल प्रतियोगिता हेर्ने गरेका छन् । ‘यहाँ फुटबल मैदान बनाएपछि यस क्षेत्रका युवाहरू फुटबल खेलतर्फ आकर्षित भएका छन्,’ स्थानीय समाजसेवी अशोक लामाले सुनाए, ‘यो मैदानले युवालाई राम्रै भएको छ ।’

यस क्षेत्रमा खासै कोरोना भाइरसको संक्रमण देखिएको छैन । लकडाउनको समयमा पनि स्थानीय युवाहरूले यस मैदानमा फुटबल खेलेर समय बिताएको लामाले सुनाए । फुटबल मैदानलाई व्यवस्थित गर्न थाहा नगरपालिकाले आर्थिक सहयोग गर्ने मेयर लवसेयर विष्टले बताए । दर्शकका लागि व्यवस्थितसँग बस्न प्यारापिट बनाउनुपर्ने आवश्यकता रहेको उनले बताए ।

प्रकाशित : मंसिर ४, २०७७ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?