२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

रोनाल्डोले कीर्तिमान तोडे देईले बधाई दिने

रोयटर्स

तेहरान — इरानका पूर्वस्ट्राइकर अली देईले राष्ट्रिय टोलीबाट सर्वाधिक गोल गर्ने आफ्नो कीर्तिमान पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले तोडेमा त्यो आफ्ना लागि सम्मान हुने बताएका छन् ।

रोनाल्डोले कीर्तिमान तोडे देईले बधाई दिने

पोर्चुगलले गत बुधबार राति मैत्रीपूर्ण अन्तर्राष्ट्रियमा अन्डोरामाथि ७–० को जित हात पार्दा एक गोल गरेपछि रोनाल्डो राष्ट्रिय टोलीबाट सदाबहार सर्वाधिक गोल गर्ने देईको कीर्तिमाननजिक पुगेका थिए ।

रोनाल्डोले पोर्चुगलबाट १ सय २ गोल गरिसकेका छन् र उनी देईभन्दा राष्ट्रिय टोलीबाट सर्वाधिक गोल गर्ने सूचीमा ७ गोलले मात्र पछाडि छन् । पुरुषतर्फ राष्ट्रिय टोलीबाट १ सय गोलको आँकडा छुने यी दुई खेलाडीमात्र हुन् । अक्टोबरमा स्विडेनविरुद्ध नेसन्स लिगमा पोर्चुगलबाट दुई गोल गरेपछि रोनाल्डो १ सय गोलको सूचीमा छिरेका थिए ।

तस्बिर : रोयटर्स

अन्डोरापछि शनिबार फ्रान्सविरुद्ध भएको नेसन्स कपमै रोनाल्डोले गोल गर्न सकेका थिएनन् । पोर्चुगलले बुधबार नेसन्स कपमा क्रोएसियाविरुद्ध समूह चरणको अन्तिम खेल खेल्दै छ । सन् २००३ मा ‘डेब्यु’ गरेयता रोनाल्डोले राष्ट्रिय टोलीबाट १ सय ६८ खेल खेलिसकेका छन् ।

‘म उनलाई सिधा बधाई दिनेछु,’ देईको भनाइ उद्धृत गर्दै तास्निम समाचार एजेन्सीले लेखेको छ, ‘रोनाल्डोले अहिलेसम्म पोर्चुगलबाट १ सय २ गोल गरिसकेका छन् र उनले मेरो कीर्तिमान तोड्नेमा म निश्चित छु, तर अझै उनले ७ गोल गर्नुपर्नेछ । त्यसो भएमा उनी जस्ता खेलाडीले मेरो कीर्तिमान भंग गर्नु मलाई ठूलो सम्मान हुनेछ । यो कालको मात्र नभएर उनी अहिलेसम्मकै उत्कृष्ट खेलाडी हुन् । उनी आश्चर्यजनक खेलाडी हुन् ।’

इरानका कप्तान पनि रहेका देईले २००६ मा संन्यास लिएका थिए र उनले यो सफलता १ सय ४८ खेलमा सहभागिता जनाउँदै हासिल गरेका थिए ।

प्रकाशित : मंसिर ३, २०७७ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?