कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

हाई अल्टिच्युटमा फुटसल

एलपी देवकोटा

जुम्ला — माइनस डिग्री तापक्रममा पनि नियमित फुटबलको अभ्यास गर्ने चन्दननाथ–२, भण्डारीबाडाका रुवेन भण्डारी अहिले फुटसलमा रमाइरहेका छन् । अर्का खेलाडी राज खत्रीले पनि एक सातायता फुटसलमा नियमित खेलिरहेका छन् ।

उनीहरुमात्र होइन, सदरमुकाम खलंगामा फुटसल सञ्चालनमा आएपछि व्यावसायिक खेलाडीको रुची बढिरहेको छ । समुद्र सतहदेखि २ हजार ३ सय ७५ मिटर उचाइको चन्दननाथ नगरपालिका–५, कालेखोलीमा निजी लगानीमा कर्णाली प्रदेशकै दोस्रो ठूलो फुटसल सञ्चालन गरिएको हो । यसअघि फाट्टफुट्ट मात्र खेल प्रतियोगिता हुने जुम्लामा फुटसल सञ्चालनमा आएपछि खेलाडीहरु नियमित अभ्यासमा जुटेको स्थानीय भरत वुढथापाले बताए । ‘नयाँ खेलाडी र अन्य व्यवसायमा संलग्न व्यक्तिको आकर्षण बढिरहेको छ,’ उनले भने, ‘बिदाको दिनमा त फुटसलमा अभ्यास गर्न पालो कुर्नुपर्छ ।’ उनका अनुसार जिल्ला, क्षेत्रीय र राष्ट्रिय फुटबलका खेलाडीले पनि नियमित अभ्यास गरिरहेकाले फुटसलले व्यावसायिक खेलाडी उत्पादन गर्ने अपेक्षा छ । यसअघि जुम्लाको प्रतिनिधित्व गर्दै विभिन्न प्रतियोगितामा भाग लिने खेलाडीले धानखेतमा समेत अभ्यास गर्नुपर्ने बाध्यता थियो ।

अहिले बिहान ७ देखि साँझ ८ बजेसम्म खेलाडीले अभ्यास गरिरहेको फुटसल सञ्चालक प्रकाश शाहीले बताए । उनका अनुसार ९५ लाख रुपैयाँको लगानीमा फुटसल सञ्चालनमा ल्याइएको हो । ‘जुम्लालाई खेल क्षेत्रबाट विश्वभरि चिनाउने उद्देश्यसहित फुटसल सञ्चालन गरिएको हो,’ उनले भने, ‘२ वर्षको अथक् प्रयास बल्ल सफल भएको छ ।’ फुटसल हाई अल्टिच्युटमा भएकाले विश्वभरिका खेलाडी अभ्यास गर्न आउने अपेक्षा गरिएको उनले बताए । उनीसहित निर्पराज भारती र प्रमोद शाहीले पनि फुटसलमा लगानी गरेका छन् ।

कर्णाली प्रदेशकै नमुनाको रुपमा फुटसल निर्माण गरिएको अर्का सञ्चालक भारतीले बताए । ‘छिट्टै देशकै नमुना फुटसल बनाउने हाम्रो लक्ष्य छ,’ उनले भने, ‘अत्याधुनिक प्रविधिसहित पानी, शौचालय, क्यान्टिन र वाचमेन रुमसहितको व्यवस्था गरेका छौं ।’ उनका अनुसार खेलाडीका लागि प्रतिघण्टा १ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ ।

निजी लगानीमा निर्माण गरिएको फुटसलले जुम्लाको खेल क्षेत्रमा इँटा थपेको अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले बताए । ‘पूर्वाधार अभावमा खेल क्षेत्र ओझेलमा परेको छ, ३ तहका सरकार हुँदाहुँदै पनि जुम्लाका युवाले व्यक्तिगत लगानीमा खेल क्षेत्रको प्रवर्द्धनका लागि ठूलो प्रयास गरेका छन्,’ उनले भने, ‘जुम्ला कृषि र पर्यटनसँगै खेल क्षेत्रका लागि पनि पर्याप्त सम्भावना भएको ठाउँ हो ।’ उनले पूर्वाधार विकासमा लगानी बढाउन सरकारसँग आग्रह गरे ।

प्रकाशित : मंसिर २, २०७७ २०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?