कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

कृत्रिम घाँसे मैदान तयार

हरिराम उप्रेती

गोरखा — खेल प्रशिक्षणका लागि गोरखा नगरपालिका–९ दलभञ्ज्याङमा ‘आर्टिफिसियल टर्फ’ मैदान निर्माण भएको छ । बाह्रै महिना फुटबल खेल्नका लागि कृत्रिम घाँसे मैदान निर्माण गरिएको हो । 

कृत्रिम घाँसे मैदान तयार

४४ मिटर लम्बाइ र २३ मिटर चौडाइको मैदानमा चीनबाट कृत्रिम घाँस ल्याएर बिछ्याइएको द ओसन क्लबका अध्यक्ष अमित खत्रीले बताए । ‘ग्राउन्ड खनेको ६ वर्ष भयो, वर्षैपिच्छे स्तरोन्नति गर्दै जादाँ अहिले कृत्रिम घाँस ओछ्याउन सफल भयौं,’ उनले भने । तिहारलगत्तै मैदानबाट खेल प्रशिक्षण सुरु गरिने उनले जानकारी गराए । ‘युवा केन्द्रित प्रशिक्षण चलाउँछौं,’ उनले भने ।

फुटबल प्रशिक्षणका लागि जिल्ला फुटवल संघ गोरखासँग समन्वय गरी प्रशिक्षक ल्याउने क्लबको तयारी छ । जिल्लाभित्र फुटबल प्रशिक्षणका लागि सुविधासम्पन्न मैदान निर्माण भएको यो पहिलो हो ।

यसअघिको मैदानमा वर्षमा चार महिना पनि फुटबल खेल्न उपयुक्त नभएपछि युवाको अगुवाइमा सुविधासम्पन्न मैदान निर्माण गरिएको हो । नियमित रूपमा प्रशिक्षण पाए व्यावसायिक खेलाडी उत्पादनमा सहयोग पुग्ने क्लबको विश्वास छ । ‘कहिले हिलो, कहिले धुलो भएर वर्षमा चार महिना पनि ग्राउन्डमा आएर खेल्न पाउँदैनथ्यौं,’ स्थानीय सन्दीप सिर्मलले भने, ‘अब यो मैदानमा निरन्तर खेल्न पाउने विश्वास छ, धुलो पनि नउड्ने भयो ।’

यसअघि पनि मैदानमा प्रशिक्षण चलाइए पनि मैदानमा नियमित रूपमा खेल्न नपाउँदा सिकाइलाई निरन्तरता दिन नसकेकेको सिर्मल बताउँछन् । गत वर्ष घाँसे मैदानलाई पूर्णता दिनेगरी काम सुरु भए पनि कोभिड–१९ ले केही ढिलाइ भएको हो । पुरानो खेलमैदानलाई स्तरोन्नति गरी सुविधासम्पन्न बनाइएको क्लबका अध्यक्ष खत्रीले बताए । बाह्रै महिना फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नका लागि मैदान आवश्यक भन्ने अभियान चलाएर रकम संकलन गरिएको उनले जानकारी गराए । मैदान सेभेन ए साइड फुटबल खेल्न पर्याप्त रहने क्लबको दाबी छ ।

अध्यक्ष खत्रीका अनुसार खेल मैदान निर्माणका लागि करिब ३१ लाखको लागत इस्टमेट रहेकामा अहिलेसम्म २३ लाख जुटिसकेको छ । मैदान निर्माणका आव २०७६–०७७ मा ८ लाख प्रदेश सासंद कोषबाट विनियोजन भएको छ । गोरखा नगरपालिकाको नगरस्तरीय बजेटबाट चालु आवमा १० लाख र वडा कार्यालयले दुई लाख छुट्याएको खत्रीले बताए । ‘फुटबल खेललाई माया गर्नेहरूबाट साढे ३ लाख उठेको छ,’ अध्यक्ष खत्रीले भने, ‘अपुग रकम सहयोगीसँग संकलन गर्न अभियान चलाउने तयारीमा छौं ।’

दलभञ्ज्याङको करिब ९० रोपनी सार्वजनिक जग्गामध्ये सात रोपनी क्षेत्रफलमा मैदानलगायतका संरचना निर्माण भएको हो । प्रशिक्षण केन्द्रका रूपमा व्यवस्थित बनाउन गुरुयोजना बनाएर अघि वढेको क्लबले जनाएको छ । ‘मैदान बनायौं चेन्जिङ रूम, शौचालयलगायतका पूर्वाधार बनाउन बाँकी छ,’ उनले भने । स्विमिङ पुल, जिम हललगायतका संरचना पनि क्रमशः बनाउने अध्यक्ष खत्रीले बताए ।

प्रकाशित : कार्तिक २९, २०७७ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?