१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

क्रिकेट प्रशिक्षकको अन्तर्वार्ता आजदेखि

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल क्रिकेटको प्रमुख प्रशिक्षक बन्न ७२ जनाले आवेदन दिएका छन् । त्यसमा भारतका चेतन शर्मा, श्रीलंकाका पुबुदु दासानायके, अस्ट्रेलियाका डेव ह्वाटमोर, दक्षिण अफ्रिकाका लान्स क्लुसनर र नेपालका शेरबहादुर (सुनील) लामालगायतका छन् ।

क्रिकेट प्रशिक्षकको अन्तर्वार्ता आजदेखि

श्रीलंकाका पूर्व विकेटकिपर दासानायके यसअघि ६ वर्ष नेपालको प्रशिक्षक रहेर सन् २०१६ मा फर्किएका थिए । उनको प्रशिक्षणमा नेपालले २०१४ मा बंगलादेशमा भएको विश्व ट्वान्टी–२० मा खेलेको थियो । ह्वाटमोरको प्रशिक्षणमा श्रीलंकाले १९९६ को विश्वकप जितेको थियो । दक्षिण अफ्रिकी अलराउन्डर क्लुसनर १९९९ को विश्वकपमा म्यान अफ द सिरिज चुनिएका थिए ।

शर्मा भारतका पूर्व तीव्र गतिका बलर हुन् । नेपाली मूलका लामाले हङकङबाट खेलेका थिए र हङकङको युवा टोलीका प्रशिक्षक रहिसकेका छन् । स्रोतका अनुसार क्यानले आवेदन आएकाहरूमध्येबाट छनोट गरी २१ जनामा झारेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले त्यसबाट अझ छनोट गर्ने र त्यसबाट अन्तर्वार्ता लिने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को शुक्रबार बसेको बोर्ड बैठकले तिहारअघि प्रमुख प्रशिक्षक र क्रिकेट म्यानेजरको अन्तर्वार्ता प्रकृया सुरु गर्ने जनाएको छ ।

क्यानले केही समयअघि प्रमुख प्रशिक्षक र क्रिकेट म्यानेजरसहित जनरल म्यानेजर, फाइनान्स म्यानेजर र सात प्रदेशका लागि प्रशिक्षकमा आवेदन खोलेको थियो । जनरल म्यानेजरमा २०, फाइनान्स म्यानेजरमा १५ र प्रदेश प्रशिक्षकमा २६ जनाको आवेदन परेको क्यान स्रोतले जनाएको छ । प्रदेश प्रशिक्षकका लागि छनोट गरेर १४ जना ल्याइएको छ ।

क्यानको बोर्ड बैठकले मंसिर ३ गते बस्ने साधारणसभाका लागि एजेन्डाहरू तय गरेको छ । वार्षिक लेखापरीक्षण, सन् २०२१ को बजेट तथा कार्यक्रम, रणनीतिक योजना कार्यक्रम, जिल्ला तथा प्रादेशिक संघहरूको कार्यविधि निर्माण, संघ पदाधिकारीहरूको आचरण संहिता निर्माण, भ्रष्टाचार नियन्त्रण, एन्टी डोपिङ, इथिक्स पोलिसी निर्माण साधारणसभाका लागि एजेन्डा तय भएको क्यानले जनाएको छ ।

बोर्ड बैठकले क्यानको आर्थिक नियमावलीमा छलफल गरिएको र थप छलफल गर्दै अर्को बैठकबाट पारित गर्ने निर्णय गरेको छ । क्यानको बोर्ड बैठकले नेपाल क्रिकेट अम्पायर र स्कोरर संघले प्रस्ताव गरेको विधान क्यानमातहत रहने गरी मान्यता प्रदान गरेको छ । प्रस्तावित नेपाल प्रिमियर लिगको ड्राफ्टलाई बोर्ड बैठकमा छलफल गरिँदै साधारणसभामा एजेन्डाका रूपमा प्रस्तुत गरिने भएको छ ।

प्रकाशित : कार्तिक २९, २०७७ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?