कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

मुम्बई इन्डियन्सको ‘हाइ फाइभ’

गत वर्ष पनि मुम्बईले चेन्नई सुपर किंग्सलाई १ रनले पराजित गर्दै आईपीएल उपाधि जितेको थियो । मुम्बईले यसअघि २०१३, २०१५ र २०१७ मा यो उपाधि जितेको हो ।
एजेन्सी

दुबई — मुम्बई इन्डियन्सले पाँचौंपल्ट इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ ।आईपीएलको सर्वाधिक सफल टोली मुम्बईले मंगलबार फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै उपाधि रक्षा गरेको हो ।

मुम्बई इन्डियन्सको ‘हाइ फाइभ’

पहिलोपल्ट फाइनल खेलेको दिल्लीले मंगलबार मुम्बईलाई खासै ठूलो चुनौती दिन सकेन ।

टस जितेर ब्याटिङ रोजेको दिल्लीले दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा ७ विकेट गुमाई १ सय ५६ रनमात्र बनाउन सक्यो । मुम्बईले अहिलेसम्म फाइनल एकपल्ट मात्र हारेको थियो, त्यो विजय लक्ष्य पछ्याउँदा नै थियो । तर कप्तान रोहित शर्माले ६८ रन बनाएपछि मुम्बईले सजिलै १८.४ ओभरमा लक्ष्य पूरा गर्‍यो ।

गत वर्ष पनि मुम्बईले चेन्नई सुपर किंग्सलाई १ रनले पराजित गर्दै उपाधि जितेको थियो । मुम्बईले यसअघि २०१३, २०१५ र २०१७ मा यो उपाधि जितेको हो । चेन्नईले तीन पटक उपाधि जितेको छ । दिल्लीमाथि मुम्बईको यस सिजनको प्रतियोगितामा यो चौथो जित हो । राउन्ड रोबिनको दुवै खेलमा विजय हात पारेको मुम्बईले शुक्रबार दिल्लीलाई क्वालिफायर १ मा ५७ रनले पराजित गरी फाइनल तय गरेको थियो ।

रोहितले दोस्रो पटक फाइनलमा अर्धशतक पूरा गरेका हुन् । उनले ५१ बलको इनिङ्समा ५ चौका र ४ छक्का प्रहार गरे । उनले क्विन्टन डी ककसँग मिलेर ४ ओभरमा ४५ रन जोडी मुम्बईलाई राम्रो सुरुआत दिलाए । पाँचौं ओभरको पहिलो बलमा मार्कस स्टोइनिसले डी ककलाई २० रनमा आउट गरे । सूर्यकुमार यादव १९ रनमा रनआउट भए ।

रोहितलाई एनरिच नोकिआले आउट गरे । आफूले सामना गरेको पहिलो ३ बलमा २ चौका र १ रन प्रहार गरेका किइरन पोलार्डलाई चौथो बलमा प्रतियोगिताका सर्वाधिक विकेटकर्ता कागिसो राबाडाले बोल्ड गरे । हार्दिक पाण्ड्ये ३ रन बनाई नोकिआको बलमा आउट भए । इशान किशन १९ बलमा ३ चौका र १ छक्कासहित ३३ रन बनाई अविजित रहे ।

यसअघि दिल्लीको सुरुआत निकै खराब रह्यो । उत्कृष्ट लयमा रहेका स्टोइनिसलाई खेलको पहिलो बलमै ट्रेन्ट बोल्टले विकेटपछाडि क्याच गराए । अजिन्क्या रहाने २ र शिखर धवन १५ रनमा आउट भएपछि दिल्ली चौथो ओभरमा २२–३ को स्थितिमा पुगेको थियो । कप्तान श्रेयस ऐर र ऋषभ पन्तले अर्धशतक बनाएपछि दिल्लीले सम्हालिएको प्रदर्शन गर्‍यो ।

पन्तले ५६ रन बनाए । यस सिजनमा यो उनको पहिलो अर्धशतक हो । उनले ३८ बल खेली ४ चौका र २ छक्का प्रहार गरे । ऐर ५० बलमा ६५ रन बनाई अविजित रहे । उनले ६ चौका र २ छक्का प्रहार गरे । सिमरन हेटमायर ५ र अक्षर पटेल ९ रनमा आउट भए । दिल्लीका पूर्वखेलाडी बोल्टले मुम्बईबाट सानदार प्रदर्शन गरे । म्यान अफ द म्याच बोल्टले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । नाथन–कल्टर निलले ४ ओभरमा २९ रन खर्चेर २ तथा जयन्त यादवले १ विकेट लिए ।

रोयल च्यालेन्जर्स बेंग्लोरका देवदत्त पाडिक्कलले इमर्जिङ खेलाडीको उपाधि जिते । उनले १५ खेलमा ४ सय ७३ रन बनाएका थिए । गेम चेन्जरको अवार्ड पाएका किंग्स इलेभेन पन्जाबका केएल राहुलले सर्वाधिक ६ सय ७० र दिल्लीका कागिसो राबाडाले सर्वाधिक ३० विकेट लिएका थिए ।

मोस्ट भ्यालुएबलको पुरस्कार राजस्थान रोयल्सका जोफ्रा आर्चरले पाए । राजस्थान ८ टिम सहभागी प्रतियोगिताको राउन्ड रोबिन लिगमा पुछारमा रहेको थियो । फेयरप्ले अवार्ड मुम्बई इन्डियन्सले पायो ।


प्रकाशित : कार्तिक २६, २०७७ ०६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?