३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

आईपीएल फाइनल आज : अनुभवी मुम्बईविरुद्ध जोसिलो दिल्ली

मुम्बई पाँचौं पल्ट उपाधि जित्ने अभियानमा हुनेछ अर्थात ‘हाई फाइभ’ को उपलब्धि
पीटीआई

दुबई — इन्डियन प्रिमियर लिग (आईपीएल) को इतिहास धेरै लामो छैन, तर यसमा मुम्बई इन्डियन्सको उपस्थिति भने गर्विलो छ । पूरा मुम्बई टिम स्टार खेलाडी र प्रशिक्षकले भरिएको छ । यसलाई ‘ग्यालाक्टिकोस’ भन्दा फरक पर्दैन । यस २०२० संस्करणको फाइनल मंगलबार दुबईमा हुँदै छ ।

आईपीएल फाइनल आज : अनुभवी मुम्बईविरुद्ध जोसिलो दिल्ली

यसमा मुम्बईलाई टक्कर दिँदै छ, श्रेयस अय्यरको दिल्ली क्यापिटल्सले । संयोग कस्तो भने अय्यर आफैं मुम्बईका हुन् । उनी नै मुम्बईको बाटो छेक्ने प्रयासमा छन् ।

निकै नजिकको कडा प्रतिस्पर्धा अनि यसलाई टेलिभिजनबाट हेर्ने अपार दर्शकबीच प्रतियोगिता ५२ दिनपछि सकिँदै छ । कोभिड–१९ का कारण प्रतियोगिता आफैं भारतमा नभएर यूएईमा भएको छ । संक्रमणको महामारीबीच खाली खराब समाचार मात्र सुन्न बाध्य विश्वका क्रिकेटप्रेमीलाई कम्तीमा केही खुसी दिएको छ यो प्रतियोगिताले । अब यसको अन्त्य आइपुगेको छ । फाइनलमा एकातर्फ प्रतियोगिताकै सबैभन्दा सफल कप्तान छन् रोहित शर्मा ।

मुम्बई पाँचौंपल्ट उपाधि जित्ने अभियानमा हुनेछ अर्थात ‘हाई फाइभ’ को उपलब्धि । फाइनलको अर्कोतर्फ त्यस्तो टिम छ, जसले पूरा सम्भावनाबीच यसअघि कहिल्यै फाइनल खेलेको थिएन । तर, यसपल्ट सबै अपवाद साकार पार्दै दिल्ली टिम उपाधि भिडन्तमा पुगेको छ । भन्नैपर्छ, फाइनलका लागि यो टिम हकदार पनि छ । मुम्बईले अहिलेसम्म खेलका १५ खेलमध्ये १० मा जित हात पारेको छ । दिल्ली पनि धेरै टाढा त छैन, उसले १६ खेल खेलेर त्यसमा ९ जित निकालेको छ ।

तर, मुम्बईले जत्तिको यसपल्टको प्रतियोगितामा ढुक्क भएर खेलेको अर्को टिम छैन । यो जस्तै प्रतिद्वन्द्वीविरुद्ध पनि सन्तुलित टिम देखिन्न । मुम्बई दिल्लीभन्दा बलियो छ भनेर एउटा तथ्यांक देखाए पुग्छ, जुन ट्वान्टी–२० क्रिकेटको ज्यान हो । अहिलेसम्म मुम्बईका खेलाडीले समग्रमा १ सय ६० छक्का प्रहार गरेका छन्, त्यही दिल्लीले खाली ८४ मात्र । मुम्बईका लागि क्विन्टन डी कक र कप्तान रोहित शर्माको जोडी खुबै जमेको छ ।

भलै रोहित पछिल्लो समय चोटबाट गुज्रिरहेका छन् । उनी पक्कै पनि चोटबिनाका खेलाडी जस्तो छैनन्, कम्तीमा तत्कालका लागि । तर उनी गज्जबका खेलाडी हुन्, यसमा कुनै शंका छैन । सूर्यकुमार यादव के कम छन् र, उनले पनि ६० चौका र १० छक्का प्रहार गरेका छन् । रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्ध हारको संघारमा रहेर जित दिलाएयता उनले देखाएको भाव खुबै चर्चित भएको छ । त्यसमा उनले संकेत गर्दै भन्न खोजेका छन्, ‘म छु नि ।’

दिल्लीका सफल ब्याट्सम्यान शिखर धवन

इशान किशन एक प्रकारले नयाँ छन्, भर्खर भर्खर सफलताको शिखर चुमेका छन् । उनले पनि २९ चौका प्रहार गरिरहेका छन् । अझ किरोइन पोलार्डको ‘स्ट्राइक रेट’ छ, १ सय ९० । यी सबैलाई रोक्ने र छिट्टै पेभेलियन पठाउने अभिभारा हुनेछ, कागिसो राबाडा र एनरिच नोकिआलाई । राबाडाले जहाँ २९ विकेट लिएका छन्, त्यहीं नोकिआको नाममा २० विकेट छ । दिल्लीलाई पाण्ड्या दाजुभाइको तनाव त हुने छ नै, त्यसमध्ये क्रुनाल भलाद्मी देखिन्छन्, हार्दिक अलिकति ‘हाउभाउ’ देखाउनुपर्ने । यी दुवै खेलाडी बलिङ मात्र गर्दैनन्, लामा लामा सट प्रहार गर्न माहिर छन् ।

दिल्लीका लागि यसपल्ट सबैभन्दा बढी कोही एक खेलाडीले स्वाद लिएर खेलेका छन् भने ती हुन् शिखर धवन । उनले यसपल्ट ६ सय ३ रन बनाइसकेका छन् । फाइनलमा उनलाई जसप्रित बुमराहको चोटिलो योर्कर रोक्ने चुनौती हुनेछ । बुमराहलाई बलिङ आक्रामणमा साथ दिन घातक ट्रेन्ट बोल्ट पनि छन् । यी न्युजिल्यान्डका बलर अन्त्यतिर निर्णायक पाराको बलिङ गर्न सक्षम छन् ।

मुम्बईका सफल बलर जसप्रित बुमराह

यसपल्ट मुम्बई र दिल्लीबीच तीनपल्ट खेल भएको छ । तीनै अवसरमा मुम्बई मज्जाले विजयी भयो । अझ यी खेलमा मुम्बईको जित एकपक्षीय रह्यो भन्दा पनि फरक पर्दैन । तर मुम्बईकै क्रिकेट खेलेर हुर्केबढेका कप्तान अय्यरले पक्कै सोचेको हुनुपर्छ, ‘चौथोपल्ट त हामी पक्कै भाग्यमानी हुनुपर्छ ।’ हुन पनि फाइनलअगाडि दोस्रो क्वालिफायरमा मार्कस स्टोइनिसले ठीक समयमा लय समातेका छन् । उनले ३ सय ५२ मात्र रन बनाएका छैनन्, १२ विकेट पनि लिएका छन् ।

उनले दिल्लीका लागि इनिङ्स सुरुआत गर्दा टिममा सन्तुलन आएको छ । दिल्लीले फाइनल जित्ने हो भने सिमरन हेटमायरको ठूला–ठूला छक्का पनि चाहिने छ । अनि ऐर र ऋषभ पन्तलाई निर्णायक खेलमा चम्कने दबाब हुनेछ । फाइनलको एउटा ठूलो पक्ष रविचन्द्रन अश्विनको बलिङ पनि हुनेछ । यी दिल्लीका लागि ‘पावर प्ले’ मा सबैभन्दा ठूलो अस्त्र हुन् । हुँदाहुँदै फाइनल श्रीलंकन माहेला जयवर्द्धने र अस्ट्रेलियन रिकी पोन्टिङबीचको भिडन्त पनि हुनेछ अर्थात दुई टिमका प्रशिक्षकबीच ।

प्रकाशित : कार्तिक २५, २०७७ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?