कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

नेपालगन्ज म्याराथन मंसिर ६ मा

मधु शाही

बाँके — खेलकुदको सहर मानिने नेपालगन्जमा कोरोना कहरबीच आठ महिनादेखि खेलगतिविधि ठप्प छ । खेलाडी फुर्ससिला भएका छन् । घरमै बसेर दिन बिताउने उनीहरूको दिनचर्या छ । लामो समयपछि नेपालगन्जमा कोरोना संक्रमणको चुनौती खेप्दै नेपालगन्ज म्याराथन हुने भएको छ ।

नेपालगन्ज म्याराथन मंसिर ६ मा

यसले खेलाडीमा उत्सुकता थपिएको छ भने लकडाउनपछि खेलकुद गतिविधि नेपालगन्जबाटै सुरु हुने भएको छ । क्रिएटिभ ह्यान्डसले आइतबार पत्रकार सम्मेलन गरेर मंसिर ६ गते नेपालगन्ज म्याराथन हुने जनाएको छ । छैटौं संस्करणका रूपमा हुने यसै म्याराथनबाट टोकियो ओलम्पिकका लागि खेलाडी छनोट गरिने भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले यसैबाट खेलाडी छनोटका लागि मान्यता दिएको आयोजकले जनाएको छ । साथै राष्ट्रिय खेलकुद परिषद्ले पनि प्रतियोगिताका लागि स्वीकृति दिएको छ ।

सरकार र सशस्त्र द्वन्द्वरत तत्कालीन माओवादीबीचमा मंसिर ५ गते भएको विस्तृत शान्तिसम्झौताको स्मरण गर्दै हरेक वर्ष नेपालगन्ज म्याराथन हुने गरेको क्रिएटिभ ह्यान्डसका अध्यक्ष टीएस ठकुरीले बताए । यस म्याराथनलाई नेपाल एथलेटिक्स संघले पनि प्राविधिक सहयोग गर्नेछ । ‘महामारीको चुनौतीमा खेल ब्युँताउनु सजिलो पक्कै छैन,’ अध्यक्ष ठकुरीले भने, ‘यद्यपि ओलम्पिकमा सहभागिता जनाउने पक्षले खेलाडी खेल्न उत्साही भएका छन् ।’

यस म्याराथन कोहलपुर र नेपालगन्जलाई जोड्ने एउटा सशक्त माध्यम बन्नुका साथै सामाजिक सद्भाव विस्तार गर्न टेवा पुर्‍याएको उनले बताए । तर, विगतका तुलनामा यस पटक खेलको प्रकृति अलि भिन्न हुनेछ । मानिसको जमघटमा कोरानाका कारण बढी ध्यान दिने र स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाउनुपर्ने ठकुरीले सुनाए । खेलाडीलाई दौडको समयमा बाहेक र उपस्थित दर्शकलाई अनिवार्य माक्स प्रयोग गराएर सामाजिक दुरी कायम राख्ने आयोजकले जनाएको छ । सामाजिक एकताको सन्देश झल्काउने उद्देश्यले म्याराथन गर्दै आइएको हो । कोरानाकै कारण ठूलो जमघट गर्न उपयुक्त नभएका कारण यसपालि विगतमा भन्दा म्याराथनमा समावेश इभेन्ट पनि घटाइएको छ ।

पुरुष खुलातर्फ म्याराथन, महिला हाफ म्याराथन र ३ किलोमिटरको कर्पोरेट रनमात्रै समावेश गरेको आयोजकले जनाएको छ । गत वर्ष ५ किलोमिटर स्कुलस्तरीय छात्रछात्रा तथा खुला दौड, ८ देखि १२ वर्ष उमेरसमूहको दौड र अपांगता भएका लागि ह्विलचेयर दौड स्पर्धा समावेश गरिएको थियो । खुला म्याराथनतर्फ शीर्ष आठ र हाफ म्याराथनमा शीर्ष ६ जनालाई नगद तथा आकर्षक उपहार प्रदान गरिने जनाइएको छ । कर्पोरेट रनका विजेतालाई पनि पुरस्कार प्रदान गरिनेछ ।

नेपालगन्ज उपमहानगरपालिकानजिक बीपी चोकबाट सुरु भएर कोहलपुर चौराहदेखि उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनः बीपी चोकमा सकिने म्याराथनमा राष्ट्रियस्तरका खेलाडीले भाग लिनेछन् । म्याराथनमा धेरैजसो लुम्बिनी, कर्णाली, प्रदेश ७ का खेलाडीले भाग लिँदै आएका छन् ।

नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्गा बुढा, चौथोमा नेपाल पुलिस क्लबका भूमिराज राई र पाँचौंमा सेनाका नवराज साउद विजेता भएका थिए । महिला हाफ म्याराथनतर्फ कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छिन् । गत संस्करण सेनाकी पूर्णलक्ष्मी न्यौपानेले जितेकी थिइन् ।

प्रकाशित : कार्तिक २४, २०७७ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?