२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

‘मेरो जीवन मेरो सत्य’

‘यो त कसैको मलामी गएजस्तै थियो। यो कोही मरेको दिनजस्तै थियो । त्यो दिन एक व्यक्तिका रूपमा म जिउँदै थिएँ, तर मभित्रको फुटबल खेलाडी भने मरेको थियो। यो त्यो दिन थियो, जतिबेला मभित्रको फुटबल खेलाडी साँच्चै मरेको थियो।’
द गार्डियन

एम्स्टर्डम — पेले र म्याराडोना जत्तिकै भनेर मानिएका फुटबल खेलाडी हुन्, मार्को भान बास्टेन । सन् ९० को दशकतिर नेदरल्यान्ड्स र एसी मिलानले विश्व फुटबलमा तहल्कै मच्चाएका थिए । त्यसकै प्रमुख खेलाडी थिए, भान बास्टेन । उनको खेलजीवन भने निकै छोटो रह्यो । त्यसैले उनलाई धेरैले बिर्से पनि । विशेषतः नयाँ पुस्ताले ।

‘मेरो जीवन मेरो सत्य’

तर उनी बिर्सनलायक फुटबल व्यक्तित्व त पक्कै थिएनन्, त्यसैले फुटबल मन पराउने लगभग सबै मिडियाले उनलाई यो साता सम्झे । यसको पहिलो कारण त यही साता उनको जन्मदिन परेको थियो । सम्झनाका लागि अर्को निहुँ भएको उनको आत्मकथा :

फाबिओ कापेलोले पनि आफूलाई रोक्न सकेनन् । उनी पनि रोए । सान सिएरोमा मार्को भान बास्टेनको बिदाइ थियो । उनी एसी मिलानका ‘लेजेन्ड’ थिए । सन् १९९५ को अगस्ट चलिरहेको थियो । यी डच खेलाडीले फुटबल नखेलेको पनि साढे दुई वर्ष भइसकेको थियो । तर त्यही दिन उनको खेलजीवनले औपचारिक अन्त्य लियो । खुट्टाको जोर्नीको चोट यति साह्रो बल्झेको थियो कि उनलाई यसले खेल्न दिने थिएन । उनी भर्खर ३० वर्षका मात्र थिए ।

भान बास्टेन ती दिन सम्झेर भन्छन्, ‘यो त कसैको मलामी गएजस्तै थियो । यो कोही मरेको दिनजस्तै थियो । त्यो दिन एक व्यक्तिका रूपमा म जिउँदै थिएँ, तर मभित्रको फुटबल खेलाडी भने मरेको थियो । मैदानमा त्यो दिन जो कोही थिए, तिनले पनि यस्तै अनुभव गरे । टेलिजिभनमा हेरिरहेकालाई पनि यस्तै अनुभव भयो । यो विशेष अवसर थियो, तर फरक थियो । यो ऐतिहासिक थियो । यो त्यो दिन थियो, जतिबेला मभित्रको फुटबल खेलाडी साँच्चै मरेको थियो ।’

यस्तो केही पनि हुँदैन थियो त, भान बास्टेन आफ्नो खेलजीवनको शिखरमा हुन्थे । तर उनी पूर्व खेलाडी भइसकेका थिए । उनको खेलजीवन छोटै रह्यो । तर उनले धेरैथोक पाए । तीनपल्ट बालोन डी’अर जिते । उनी सबै खेलाडी र प्रशिक्षक भन्थे, फुटबल इतिहासमै बेजोड स्ट्राइकर हुन्, भान बास्टेन । महान् भन्दा पनि हुन्छ । सर्वकालीन उत्कृष्ट खेलाडीको सूची बनाउँदा पनि उनी पर्छन् । पाब्लो माल्दिनी पनि मान्छन्, उनी पूर्ण खेलाडी थिए ।

अनि इंग्ल्यान्डका पूर्व कप्तान टोनी एडम्सले ठीकै भनेका छन्, ‘म सायद म्याराडोनालाई रोक्न सक्थें, तर भान बास्टेनलाई सक्दिनँ ।’ सन् १९८८ को युरोपेली च्याम्पियनसिपमा उनले सर्वकालीन महान् गोल गरे र यो नै उनको देशले आत्मसात गरेको अहिलेसम्मको एकमात्र ठूलो सफलता हो । मिलानले भने लगातार युरोपेली कप जितेको थियो, जुन त्यसपछिको पुस्ताले गरेर देखाउन सकेका छैनन् । त्यो पुस्ताको डच टिम आफैंमा महान् थियो ।

मिलान पनि कम्तीको थिएन, त्यसैले यो टिमले तीनपल्ट सिरी ‘ए’ को उपाधि पनि जित्यो । सन् १९८८ मा युरोपेली च्याम्पियनसिप खेल्न अगाडि उनले चोटग्रस्त एक सिजन लगभग आराममै बिताए । त्यतिबेला नेदरल्यान्ड्समात्र होइन, मिलानका लागि तीन खेलाडीको जोडी बनेको थियो । पहिलो त यिनै भान बास्टेन भए, अरू दुईजना रुड गुलिट र फ्रान्क राइकार्ड थिए । युरोपेली च्याम्पियनसिपमा उनले इंग्ल्यान्डविरुद्ध ह्याट्रिक गरे अनि सेमिफाइनल र फाइनलमा गोल ।

योहान क्राएफ र मार्को भान बास्टेन ।

युरोपेली फुटबलमा सन् १९७२ तिर अयाक्स वास्तवमै गज्जब थियो, सन् १९७४ तिर बायर्न म्युनिक यस्तै सफलताबाट गुज्रिएको थियो । सन् ८० मा लिभरपुलले पस्कने फुटबल पनि उत्कृष्ट थियो । आधुनिक समय लियोनल मेसीसहितको बार्सिलोना र क्रिस्टियानो रोनाल्डोसहितको रियल म्याड्रिडले पनि तहल्का नै मच्चाए ।

यसबीचमा छुटाउने नहुने नाम भनेको मिलानकै हो । मिलान स्वयंका लागि त्यो स्वर्णिम समय थियो, यसमा दुविधा रहने छैन । तर कसैले पनि सोचेका थिएनन्, भान बास्टेनको भाग्यमा यस्तो पनि लेखिएको थियो भनेर । सन् १९९३ को युरोपेली च्याम्पियन्स लिग फाइनल उनको अन्तिम खेलजस्तै भयो । म्युनिकको यही मैदान थियो, जहाँ उनले केही वर्षअघि देशका आफ्नो उत्कृष्ट गोल गरेका थिए, तत्कालीन सोभियत संघविरुद्ध, जुन १९८८ को युरोपियन च्याम्पियनसिप फाइनलमा थियो । तर त्यतिबेलासम्म उनको कुर्कुच्चा नराम्रोसँग चोटग्रस्त भइसकेको थियो । सन् १९९४ मा पनि मिलान युरोपमा विजेता रह्यो, त्यसको एक वर्षपछि पनि मिलानले फाइनल खेल्यो ।

भान बास्टेन अझै टिमका सदस्य थिए । तर उनले न प्रशिक्षण लिन सके, खेल्नु त परकै कुरा भयो । उनी ठीक हुन्थे त, मिलानले लगातार तीनपल्ट युरोपेली उपाधि जित्थ्यो । भान बास्टेन भर्खर ५६ वर्षका भए । यसै साता उनको जन्मदिन परेको छ । उनको आत्मकथा पनि निस्केको छ, यही छेउछाउमा । र, यसको नाम रहेको छ, ‘मेरो जीवन मेरो सत्य’ । उनले यसमा आफ्ना कथा सुनाउन खोजेका छन् । यो कथा हो, एक महान् खेलाडीको अकल्पनीय रूपमा छोटिएको खेलजीवन ।

उनी भर्खर २० वर्षका थिए, कुर्कुच्चाको चोट सुरु भइसकेको थियो । तर उनले पीडाबीच खेल्न भने छाडेनन् । अनि २८ वर्षमै उनको खेलजीवनमा पूर्णविराम लाग्यो । उनलाई गलत सल्लाह दिने धेरै थिए । त्यतिबेला उनलाई चिकित्सकले भनेका थिए, ‘यो चोटमा खेल्दा पनि केही हुन्न ।’ भान बास्टेनलाई लाग्यो, हो पनि । सुरुमा उनका लागि सबथोक थिए, योहान क्राएफ । उनले भान बास्टेनलाई खेल जारी राख्न लगाए । उनले जति खेले, असह्य चोट बोकेर नै खेले ।

आफ्नो आत्मकथा र जन्मदिनको अवसर पारेर उनले यसै साता मिडियासँग खुलेर कुराकानी गरेका छन् । भन्छन्, ‘अहिले जत्तिको ज्ञान मलाई भएको भए, मेरो चोट त्यति गम्भीर हुने थिएन । म कुनै पनि हालतमा त्यस्तो चोटको हकदार थिइनँ । कुर्कुच्चाको चोटले मलाई अहिलेसम्म पनि पिरोलिरहेको छ, मेरो प्रत्येक दिनको कामकाजमा प्रभाव पारिरहेको छ । तर त्यतिबेला मैले फुटबललाई नै सबथोक मानें । म अहिले बूढा भएँ, बिना फुटबलको जीवन बिताइरहेको छु ।’

भान बास्टेन सन् १९९४ का केही रात अझै सम्झन बाध्य हुन्छन् । आफ्नो कोठाबाट नजिकैको शौचालयसम्म पनि उनी घिस्रिएर जान्थे । कोठामै टाँसिएको शौचालय पुग्दा पनि लामै समय लाग्थ्यो, यो समय अंकमा गन्दा उनी १ सय २० सम्म पुग्थे । अझ शौचालय छिर्न एक खुड्किलो चढ्नु अझ ठूलो चुनौती हुन्थ्यो । उनी दुःखले चिच्याउँथे पनि । त्यो खुट्टाको जोर्नीको चोटले उनलाई वास्वतमै नराम्रोसँग गलाएको थियो, विश्वास नै गर्न नसकिने गरेर ।

त्यसको जम्माजम्मी दुई वर्षअघि मात्र त थियो, उनले तेस्रोपल्ट बालोन डी’अर जितेको, अनि फिफाको वर्ष खेलाडी घोषित भएको । उनी भन्छन्, ‘म निकै गाह्रो समयबाट गुज्रिरहेको थिएँ । म फुटबलमा सफलताको शिखरमा थिएँ, एकै क्षणमै मेरो सारा खेलजीवन धराशायी भएको थियो । त्यो मेरो जीवनको सबैभन्दा नारकीय क्षण थियो । व्यक्तिगत रूपमा दुःखी थिएँ, पटक्कै खुसी हुन सकेको थिइनँ । म वास्तवमै धेरै माथिबाट एकैपल्ट धेरै तल खसेको थिएँ, मेरो अगाडि खाली अँध्यारो मात्र थियो ।’

यो त भयो, उनका दुःखका कुरा । पुराना दिन सम्झँदा उनीसँग खुसी हुने कारण छन् । अयाक्सबाट निस्केका नामी खेलाडीको सूचीमा भान बास्टेनको नाम पर्छ । उनले यस क्लबका लागि सन् १९८१ देखि १९८७ सम्म खेले, त्यसपछि उनी मिलानतिर लागिहाले । अरू सबै डच खेलाडीका लागि जस्तै भान बास्टेनका पनि आदर्श थिए, क्राएफ । उनले फेरि दोहोर्‍याएर भने, ‘मेरा लागि कोही नायक खेलाडी छन् भने ती क्राएफ थिए ।’

भर्खर १५ वर्षमात्र के भएका थिए, भान बास्टेनले पहिलोपल्ट क्राएफलाई भेटे । भन्न चाहन्थे, ‘म तिम्रो साथी खेलाडी हुन चाहन्छु ।’ तर भन्न सकेनन् । त्यसको केही महिनापछि नै उनी अयाक्सका लागि वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरे र गोल गरे । संयोग कस्तो भने भान बास्टेन क्राएफकै स्थानमा मैदानमा छिरेका थिए । उनी क्राएफको प्रसंसा गर्दै भन्छन्, ‘उनको खेल हेर्नुको मज्जा नै बेग्लै । उनी मेरा प्रशिक्षक थिए, सल्लाहकार थिए अनि साथी खेलाडी । पछि प्रतिद्वन्द्वी खेलाडी पनि भए ।’

उनी आफ्नो चोटका लागि क्राएफलाई कुनै प्रकारले दोष दिन चाहन्नन् । बरू उनको प्रशंसामात्र गर्न चाहन्छन् । आफ्नो आत्मकथामा भान बास्टेनले क्राएफबारे धेरै लेखेका छन्, किनभने यी दुईबीच वास्तवमै नजिकको सम्बन्ध थियो । पछि अयाक्सलाई सुधार्ने विषयमा भान बास्टेन र क्राएफबीच मतभिन्नता भयो । दुवै एकअर्काबाट टाढिए । पछि एकदिन भान बास्टेनले सुने, क्राएफ रहेनन् । उनलाई दुःख लाग्छ, त्यो ब्रिगिएको सम्बन्धको समयलाई लिएर ।

प्रकाशित : कार्तिक २२, २०७७ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?