२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

नेपाली टिम दुई दिन होटलमै

कान्तिपुर संवाददाता

काठमाडौँ — बंगलादेशविरुद्ध दुई अन्तर्राष्ट्र्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाली टिम बिहीबार ढाका पुगेको छ । टिम होटल एसियामा बसेको छ र त्यहाँ पुग्नेबित्तिकै नेपाली खेलाडी र टिमका अन्य सदस्यको कोभिड–१९ को परीक्षण गरिएको छ । 

नेपाली टिम दुई दिन होटलमै

नेपाली टिमले ढाका पुगेयता एक साताको अभ्यास गर्ने कार्यक्रम बनाए पनि त्यसमा सुरुमै धक्का लागेको छ । नेपाली टिमले शनिबारबाट मात्र अभ्यास गर्न पाउने छ र त्यसबीच दुई दिनभन्दा बढी समय होटलमै सुरक्षा घेराबीच बस्नुपर्ने भएको छ ।

बंगलादेश फुटबल संघका महासचिव अबु नयम सोहागले त्यहाँका मिडियालाई भनेका छन्, ‘नेपाली टिमले शनिबारदेखि मात्र अभ्यास गर्न पाउने छ र त्यसअगाडि कोभिड–१९ परीक्षणको नतिजा आउनुपर्नेछ । टिम शुक्रबारसम्म होटलमै रहनेछ ।’ ढाका उड्नु अगाडि कोभिड–१९ परीक्षणमा पाँच खेलाडी संक्रमित भएको पाइएको थियो । यस्तै ती संक्रमित भएका खेलाडीको होटल कोठामा साथी रहेका अन्य दुई खेलाडीलाई टिमबाट बाहिर राखिएको छ ।

दुई टिमबीचको खेल नोभेम्बर १३ र १७ मा हुनेछ । त्यसअगाडि नेपाली खेलाडी थप कोभिड–१९ परीक्षणबाट गुज्रिने भएको बंगलादेशी मिडियाले भनेको छ । दुवै खेल बंगबन्धु रंगशालामा हुनेछ । यी खेलमा सीमित संख्याका दर्शकलाई मात्र प्रवेश दिइनेछ । नेपालविरुद्धको हुने खेल अगाडि त्यहाँका मिडियासँग कुरा गर्दै बंगलादेशी प्रशिक्षक जेमी डेले आफ्ना लागि जितभन्दा फुटबल फेरि सुरु हुनु नै ठूलो रहेको बताएका छन् । बंगलोदश पनि सात महिनापछि फुटबल मैदानमा ओर्लिदै छ ।

‘कोही पनि प्रशिक्षकका लागि जित उत्तिकै महत्त्वपूर्ण हुनेछ, तर अहिलेको स्थितिमा फेरि फुटबल खेल्न पाउनु नै ठूलो उपलब्धि हो,’ डेले भनेका छन्, ‘नेपालसँगको खेल हाम्रा लागि तयारीको सुरुआत रहनेछ । हामीले विश्वकप र एसिया कप छनोटका केही खेल खेल्नु अगाडि नेपालसँगको खेल अभ्यास जस्तै रहनेछ । विश्वास गरौं, नेपालविरुद्धको खेलअघि हाम्रो सबै खेलाडी पूर्णतः फिट रहनेछन् र कुनै प्रकारको चोटको समस्या हुने छैन ।’

प्रकाशित : कार्तिक २१, २०७७ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?