कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रसफोर्ड अर्थात् बेलायती सरकारलाई चुनौती

रसफोर्ड मैदानमा उत्कृष्ट त छन् नै, मैदान बाहिर पनि भोको रहन बाध्य बालबालिकालाई मद्दत गरिरहेका छन् । जुन दिन ह्याट्रिक गरे, त्यसै दिन उनले तयार पारेको याचिकामा हस्ताक्षर गर्नेको संख्या दस लाख पुग्यो ।
द गार्डियन

लन्डन — फुटबलमा ह्याट्रिक गर्न सजिलो छैन, त्यसमाथि युरोपेली च्याम्पियन्स लिगमा झन् सजिलो छैन । अझ त्यही प्रतियोगितामा १६ मिनेटभित्र कसैले ह्याट्रिक गर्छ भने त्यो विशेष नै हुन्छ । मार्कस रसफोर्ड त्यही खेलाडी हुन्, जसले यो उपलब्धि चुमे । त्यति मात्र होइन, उनी त बेलायती सरकारकै लागि चुनौती हुन थालेका छन्, यो त अद्वितीय उपलब्धि नै भयो, होइन र ?

रसफोर्ड अर्थात् बेलायती सरकारलाई चुनौती

यी म्यानचेस्टर युनाइटेड स्ट्राइकरलाई खालि फुटबलमै मात्र केन्द्रित हुन पनि चेतावनी आउन थालिसकेका छन् । चेतावनीको भाषाले भन्छ, यी खेलाडीले इंग्ल्यान्डका भोका बच्चाबच्चीको चिन्ता किन लिनुपर्ने ? बुधबार राति म्यानचेस्टरले आरबी लाइपजिगमाथि प्राप्त गरेको ५–० जितमा रसफोर्डले गज्जब नै गरे, वैकल्पिक खेलाडीका रूपमा मैदान छिरे र अद्भुत ह्याट्रिक गरे ।

यी २२ वर्षीय खेलाडी मैदानमा उत्कृष्ट त छन् नै, मैदान बाहिर पनि भोको रहन बाध्य बालबालिकालाई मद्दत गरिरहेका छन् । जुन दिन ह्याट्रिक गरे, त्यसै दिन उनले तयार पारेको याचिकामा हस्ताक्षर गर्नेको संख्या दस लाख पुग्यो । त्यस याचिकामा भनिएको छ, स्कुल बन्द रहेको बेला पनि गरिब परिवारको बच्चाले पाउने निःशुल्क खाजा दिनुपर्छ । बेलायती सरकार भने भन्छ, यसका लागि सक्दो प्रयास गर्नेछौं ।

त्यस खेलपछि रसफोर्डले गरेको ट्वीट यस्तो थियो, ‘तीन गोल, १६ मिनेट र दस लाख ३० हजार हस्ताक्षर, म त खुसी छुँ, यसका लागि मैले लामो समय पर्खेको छुँ, मसँगै सबैले यो अनुभव गरे हुन्छ ।’ उनले त्यो काम गरेर देखाएका छन्, जुन धेरैका लागि असम्भव नै छ । ब्रेक्जिट र कोभिड–१९ पछि बेलायत विभाजित जस्तै छ, ठीक यही बेला रसफोर्डले सबैले एक मुद्दामा एकजुट जस्तै गरेका छन् र त्यो हो, गरिब परिवारका लागि भोका बालबालिकालाई निःशुल्क खाजाको व्यवस्था । उनको पछाडि त पूरा इंग्लिस फुटबल छँदैछ । जस्तो म्यानचेस्टरको छिमेकी प्रतिस्पर्धी टिम लिड्स युनाइटेडले रसफोर्डको अभियानमा हजारौं पाउन्ड सहयोग गरेको छ भने भनेको छ, भोका बालबालिकाका लागि हामी एकजुट छौं ।

अझ उत्तरी इंग्ल्यान्डकै अर्को क्लब, जसलाई म्यानचेस्टरको सबैभन्दा ठूलो शत्रु भन्न मिल्छ, त्यही लिभरपुलले समेत रसफोर्डको कामलाई खुलेर प्रशंसा गरिरहेको छ । योर्गन क्लोप भनिहाले, ‘उनी म्यानचेस्टरका लागि खेल्छन्, त्यसैले उनको समर्थन गर्न गाह्रो छ । तर जति बेला समग्र फुटबल र मानवीयतामाथि प्रश्न उठ्छ, हामी एक छौं ।’ अन्य फुटबल क्लबमाथि होइन, इंग्लिस रग्बीले समेत रसफोर्डको अभियानमा एकबद्धता देखाइसकेका छन् ।

तस्बिर : एपी

रसफोर्डको अभियानको नाम रहेको छ, ‘एन्ड चाइल्ड फुटबल पोभर्टी क्याम्पेन’ । गत साता मात्र बेलायतको कन्जरभेटिभ पार्टीले सन् २०२१ को इस्टरसम्म स्कुले विद्यार्थीलाई निःशुल्क खाजा दिने विपक्षी लेबर पार्टीको प्रस्तावलाई अस्वीकार गरेको छ । तर मैदान र सर्वसाधारण भने रसफोर्डका अभियानमा जुटिरहेका छन् । बढी भन्दा बढी व्यावसायिक संस्था, स्थानीय सरकारी निकायले खाजाको व्यवस्था गर्न मद्दत गरिरहेका छन् र यसमा कन्जरभेटिभ पार्टीकै स्थानीय अधिकारी पनि पर्छन् ।

त्यसो त रसफोर्डले आलोचक नकमाएको पनि कहाँ हो र ? जस्तो कन्जरभेटिभ पार्टीका सांसद मार्क जेनिकसनले आरोप लगाएका छन्, रसफोर्डले यो सबै काम राजनीतिक फाइदाका लागि गरिरहेका छन्, कोही कसैलाई सहयोग गर्न होइन । त्यसै अर्का सांसद जेमी कार्टिलिगले भनेका छन्, ‘स्कुलको जिम्मेवारी नै होइन, स्कुल अवधि नरहेको बेला पनि आफ्नो विद्यार्थीलाई खाजा खुवाउने ।’ स्थानीय कति रिसाएका छन् भने यी सांसदलाई उनको चुनाव क्षेत्रमा पब र रेस्टुरेन्ट जान समेत प्रतिबन्ध लगाइएको छ ।

तर समग्रमा रसफोर्डका लागि यो वर्ष राम्रो निस्केको छ, उनी अधिकांश समय प्रमुख समाचारको पात्र बन्ने गरेका छन् । अनि पत्रपत्रिकामा लगातार छाउने गरेका छन् । खानका लागि संघर्ष गरिरहेका गरिबलाई सहयोग गरेकोमा बेलायती महारानीले आफ्नो जन्मदिनमा उनलाई सम्मान गर्नेको सूचीमा पनि राखिन् । रसफोर्ड इंग्ल्यान्डका प्रतिभाशाली फुटबल खेलाडी हुन्, यसमा शंका छैन । सन् २०१६ मै उनले म्यानचेस्टरका लागि डेब्यु गरे र रातारात नायक भए ।

तर अहिले उनको स्वर पनि चर्को सुनिन थालेको छ । ट्वीटरमा उनका ४० लाख फलोअर छन्, इन्स्ट्राग्राममा ९० लाख, अनि फेसबुकमा ६५ लाख । अनि उनलाई सहयोग गर्न तत्पर छन्, बेलायतका क्याफे, पब र रेस्टुरेन्टहरू । जुनमा उनले गर्मीको छुट्टीका बेला गरिब परिवारका बच्चाले निःशुल्क खाजा पाउने पर्छ भनेर अभियान चलाए, यसकै दबाबमा सरकारले आफ्नो निर्णयमा ‘यू–टर्न’ लियो, दस लाख बाल बालिकालाई फाइदा पुग्यो ।

तस्बिर : एपी

म्यानचेस्टरमा हुर्के बढेका रसफोर्ड एकल महिलाका त्यस्ता छोरा हुन्, जसले कोरोना भाइरस संक्रमणको माहामारीका बेला खानाको व्यवस्थाका लागि लाखौं पाउन्ड चन्दा उठाए । उनकी आमाका पाँच सन्तानमध्ये उनी कान्छा हुन् । सबैभन्दा ठूलो उनी सानो छँदै यस्तै निःशुल्क वितरण गरिएका खाजा खाएर नै हुर्केका थिए । खाजाकै लागि उनी छिमेकी र आफ्ना प्रशिक्षकको सहयोगमै निर्भर रहेका थिए । ती निःशुल्क खाजा हुने थिएन् त अहिलेको रसफोर्ड हुने थिएनन् ।

उनले बेलायती सांसदहरूलाई भनेका पनि छन्, ‘यो सरकारी व्यवस्था म जस्ता गरिब परिवारका सदस्य सफल होस भनेर बनेकै होइन, चाहे यसका लागि हाम्रो आमा जस्तोले किन निकै दुःख र संघर्ष गरेर काम गर्न नरोस ।’ रसफोर्डले साँच्चै आफूलाई नेता नै सावित गरेका छन्, त्यस्ता खेलाडी जसले सामाजिक समस्याबारे आवाज उठाउने गर्छ । अब त उनी आफै लखपति भइसके, आफ्नै कमाइले । अनि यही सफल छवि उनी प्रयोग गर्न चाहन्छन्, अहिलेको समस्याग्रस्त महामारीको बेला ।

उनी सानैदेखि म्यानचेस्टरका समर्थक थिए, म्यानचेस्टरका लागि डेब्यु गरेयता उनी मैदानको गलत बाटोतर्फ बहकिएकै छैनन् । डेब्युमै गोल मात्र गरेनन्, इंग्लिस प्रिमियर लिगकै डेब्युमा गोल गरे, पहिलो म्यानचेस्टर डर्बीमा पनि गोल गरे, अनि आफ्नो पहिलो च्याम्पियन्स लिग खेलमा पनि गोल गरे । इंग्लिस फुटबल जस्तो उग्र प्रतिस्पर्धाको क्षेत्रमा उनी जस्तो गरिब परिवारको केटो सफल हुनु पक्कै पनि कम ठूलो उपलब्धि होइन, त्यसमाथि म्यानचेस्टर आफैंमै विश्वको सबैभन्दा लोकप्रिय र सफल क्लब हो ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले समेत भन्न बाध्य भएका छन्, ‘यो जाडोको समय, क्रिसमसका बेला हामी कोही पनि चाहँदैनौं, हाम्रा बालबालिका भोकै होस्, गरिबीका कारण ।’ तर पनि सरकारले भने त्यस अनुकार काम गरिरहेको छैन । त्यसैले पनि रसफोर्डले आफ्नो आवाजलाई अझ चर्को पारेका छन् । उनले अहिले नै इंग्ल्यान्डका लागि युरो र विश्वकप खेलिसकेका छन्, म्यानचेस्टरका लागि ७४ गोल पनि गरिसके । तय छ, मैदानभित्र मात्र होइन, बाहिर पनि सफल हुनेछन्, अनि यस्तो किन भन्दा उनको नियत ठीक छ ।

प्रकाशित : कार्तिक १५, २०७७ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?