आईपीएल : चेन्‍नईको जितले मुम्बई प्लेअफमा

हारले कोलकाताको प्लेअफमा पुग्ने सम्भावना पनि गणितीय हिसाबमा मात्र सीमित
एजेन्सी

दुबई — रवीन्द्र जडेजाले अन्तिम बलमा छक्का प्रहार गरेपछि चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बिहीबार कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको छ । चेन्नईको यस विजयले मुम्बईको औपचारिक रूपमै प्लेअफमा स्थान पक्का भएको छ ।

आईपीएल : चेन्‍नईको जितले मुम्बई प्लेअफमा

टस हारेपछि ब्याटिङमा आएको कोलकाताले दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा ५ विकेट गुमाई १ सय ७२ रन बनायो । चेन्नईलाई विजयका निम्ति अन्तिम दुई ओभरमा ३० रन चाहिने थियो । लोकी फर्गुसनले फालेको खेलको दोस्रो अन्तिम ओभरमा २० रन जोड्दै चेन्नई खेलमा फर्किएको थियो । जडेजा एक्लैले त्यसमा दुई चौका र एक छक्कासहित १७ रन जोडे ।

अन्तिम ओभरमा पहिलो तीन बलमा साम करनले ३ रनमात्र बनाउन सकेका थिए । चौथो बलमा जडेजाले पनि कुनै रन बनाउन सकेनन् । पाँचौं बलमा जडेजाले कमलेश नगरकोटीलाई छक्का प्रहार गर्दै स्कोर बराबरीमा ल्याए । जडेजाले अन्तिम बलमा पनि छक्का प्रहार गर्दै चेन्नईलाई नाटकीय विजय दिलाए । जडेजा ११ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ३१ र करन १४ बलमा १३ रन बनाई अविजित रहे ।

१२ खेलमा आठ विजयसहित शीर्ष स्थानमा रहेको मुम्बई प्लेअफमा पुगेको हो । शीर्ष चार स्थानमा रहने टोली प्लेअफमा पुग्ने प्रावधान छ । त्यसमा पहिलो दुई स्थानमा रहने टोलीले क्वालिफायर १ मा खेल्ने छ र विजेता टोली फाइनलमा पुग्ने छ । पराजित हुने टोलीले तेस्रो र चौथो बीचको विजेतासँग फाइनलमा स्थान पाउन खेल्ने छ ।

बेंग्लोर र दिल्ली क्यापिटल्सको समान १४ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छ । किंग्स इलेभेन पञ्जाब, कोलकाता नाइट राइडर्स समान १२ अंकसहित क्रमशः चौथो र पाँचौं स्थानमा तथा सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स समान १० अंकसहित छैटौं र सातौं स्थानमा छन् । दस अंक पुर्‍याएको चेन्नई यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेको थियो । यस हारले कोलकाताको प्लेअफमा पुग्ने सम्भावना पनि गणितीय हिसाबमा मात्र सीमित बनेको छ । राउन्ड रोबिन लिगमा कोलकाता र चेन्नईले १–१ खेल खेल्नमात्र बाँकी छ ।

चेन्नईलाई विजय दिलाउने क्रममा रुतुराज गायकडले ७२ रन बनाए । उनले ५३ बल खेली ६ चौका र २ छक्का प्रहार गरे । शेन वाटसन १४ र अम्बती रायडु ३८ रनमा आउट भए ।

कोलकाताका बरुण चक्रवर्तीले ४ ओभरमा २० र प्याट कुमिन्सले ४ ओभरमा ३१ रन खर्चेर समान २ विकेट लिए । यसअघि कोलकाताबाट नितिश रानाले ८७ रन बनाएका थिए । ६१ बलको इनिङ्समा उनले १० चौका र ४ छक्का प्रहार गरे । सुबमन गिल २६, सुनिल नारिन ७, रिंकु सिंह ११ र कप्तान इयन मोर्गन १५ रनमा आउट भए । दिनेश कार्तिक १० बलमा २१ रन बनाई अविजित रहे ।

प्रकाशित : कार्तिक १४, २०७७ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?