कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ब्याट्सम्यानबाट म्याककलमको बढी अपेक्षा

एजेन्सी

अबुधाबी — कोलकाता नाइट राइडर्सका प्रशिक्षक ब्रेन्डन म्याककलमले आफ्ना ब्याट्सम्यानबाट बढी अपेक्षा गरेको बताएका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आफ्नो टिम रोयल च्यालेन्जर्स बेंगलोरको हातबाट आठ विकेटले पराजित भएपछि उनले आफ्ना ब्याट्सम्यानमा राम्रो गरेर देखाउने तत्परता पनि कम रहेको स्विकारे ।

ब्याट्सम्यानबाट म्याककलमको बढी अपेक्षा

त्यस खेलमा कोलकाताले पूरा २० ओभर खेलेर ८४ रन मात्र बनाउन सकेको थियो ।

आईपीएल इतिहासमै २० ओभर उपयोग गरेर बनाइएको यो सबैभन्दा कम स्कोर हो । बलरमैत्री अबुधाबीको पिचमा कोलकाताका ब्याट्सम्यानले खेल्नै सकेनन् । यसअघि सन् २०११ मा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सविरुद्ध निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ९४ रन बनाएको थियो । यसपल्ट भने बेंगलोरका लागि मोहम्मद सिराज घातक बलर सावित भए र उनले चार ओभरमा आठ रन मात्र दिएर तीन विकेट लिए ।

म्याककलमले भने, ‘बेंगलोरले निकै उत्कृष्ट बलिङ गरेको छ । विशेषत: सिराजले निकै राम्रो गरे । उनको त्यो बलिङको हाम्रो टिममाथि धेरै प्रश्न उठाएको छ र यसको उत्तर हामीसँग अहिलेसम्म पनि छैन् । हाम्रो काम भनेको अबका खेलमा राम्रो गर्नु नै हो । हाम्रो समस्या भनेको ब्याट्सम्यानको प्रदर्शनमै हो । ब्याट्सम्यानमा रन बनाउने तत्परता नै देखिन्न । हामीले यो समस्या सकेसम्म चाँडै समाधान गर्नु पर्छ । यो स्तरको खेलमा रहने हो भने खेलाडी स्वंयले गरेर देखाउनु पर्छ ।’

कोलकाताले खेलका क्रममा एक समय ४० रन बनाउँदासम्म छ विकेट गुमाइसकेको थियो र त्यो स्थितिबाट जितको कल्पना गर्नु ठीक नहुने पनि म्याककलमले माने । उनले थपे, ‘अब हाम्रो उद्देश्य भनेको यो प्रदर्शनलाई बिर्सेर अर्को खेलमा राम्रो गर्नु नै हो । पक्कै पनि यसपल्टको प्रतियोगिता फरक परिस्थितिका कारण खेलाडीलाई खेल्न गाह्रो छ । खेलाडीको काम भनेको जस्तै परिस्थितिमा पनि आफूलाई अनुकुल बनाउनु हो ।’ दुई पल्टको विजेता कोलकाता १० अंकमा चौथो स्थानमा छ ।

प्रकाशित : कार्तिक ७, २०७७ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?